काठमाडौं। करण केसीले आफू विदेशी खेलाडीलेमात्र खेल जिताउन भनेर नसोच्ने बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज नेपाली खेलाडीकै जोडबलमा काठमाडौं गोर्खाजले पहिलो खेल जितेपछि केसीले विदेशी खेलाडीको भरमा मात्रै खेल नजितिने बताएका हुन्।
‘म कप्तानका रूपमा विदेशी खेलाडीले मात्र हामीलाई जिताउँछ भन्ने सोच्दिनँ। हाम्रा सात जना घरेलु खेलाडीले नै म्याच जिताउँछन् भन्ने मलाई लाग्छ,’ उनले भने, ‘त्यसैले कुनै पनि विदेशी खेलाडी आउट भए पनि हामीमा प्यानिक हुँदैन। हामी सबै सात जना नेपाली खेलाडीका रूपमा जित्नकै लागि खेलिरहेका हुन्छौं। घरेलु खेलाडीप्रति म धेरै आत्मविश्वासी छु।’
पहिलो खेलमा हार ब्यहोरेको काठमाडौंले आज कर्णाली याक्समाथि ४ विकेटको जित निकालेको थियो।
‘हाम्रो अनुमान प्रतिद्वन्द्वीले १५०–१६० रनसम्म बनाउँछ भन्ने थियो, तर उनीहरूले १८० बनाए। विकेट राम्रो थियो र हामीले बलिङ पनि राम्रो गरेका थियौं, त्यसैले सबैमा आत्मविश्वास थियो कि यो चेज गर्न सकिन्छ,’ उनले भने, ‘साना साना साझेदारी बने। राशिदले एकदमै राम्रो खेले, त्यसपछि अरूले पनि साना साना इनिङ्स खेलेर योगदान दिए।’
आजैको खेलबाट अस्ट्रेलियाका लेजेन्ट खेलाडी डेभिड वार्नरले काठमाडौंबाट डेब्यु गरे। उनले १६ बनाउँदै सोमपाल कामीको बलमा बोल्ड आउट हुँदा टिमलाई ठूलो योगदान भने गर्न सकेनन्। उनी हिजोमात्र काठमाडौं ओर्लिएका थिए। ब्याटबाट योगदान धेरै गर्न नसके पनि उनले मैदानमा कप्तान करणलाई धेरै सहयोग गरिरहेका थिए।
‘वर्ल्ड कप विजेताको अनुभव र टेस्ट च्याम्पियन विजेताको अनुभव भएको खेलाडी, यस्ता धेरै परिस्थिति उहाँले देखिसक्नुभएको हुन्छ। त्यस्ता परिस्थितिमा “यस्तो यस्तो गर्दा राम्रो हुन्छ” भनेर उहाँले हामीलाई सहयोग गरिरहनुभएको थियो मलाई त्यो देख्दा एकदम खुसी लाग्यो,’ करणले भने, ‘एकजना वरिष्ठ खेलाडी, सबैभन्दा बढी अनुभव भएका विश्व च्याम्पियनले आफ्नो अनुभव यसरी बाँडिरहनुहुँदा हामी सबै धेरै खुसी छौं।’










