काठमाडौं। भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको काम सुस्त भएको भन्दै असन्तुष्टि जनाएकी छन्।
उनले सोमबार झापा पुगेर जिल्ला प्रशासन कार्यालयमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुसँगको छलफलमा अहिलेको काम गराइ स्वीकार्य नहुने बताइन्।
‘अव्यवस्थित बसोबासीलाई चाँडोभन्दा चाँडो लालपुर्जा वितरण गर्नुपर्छ। यो सरकारले डेट नै तोकिसकेको छ। नीतिगत गाँठा हामीले फुकाइसकेको अवस्था छ,’ उनले भनिन्, ‘अब तपाइँहरुलाई बहानाबाजी गर्ने छुट छैन। स्थानीय तहमा हाम्रो प्रतिनिधि तपाइँहरु हो। प्रक्रिया र फाइल अगाडि बढेको विषयलाई हामी उपलब्ध मान्नेवाला छैनौं। कति ठाउँमा लालपुर्जा बाँड्यौं भन्ने रिजल्ट देखिनुपर्छ।’
मन्त्री रावलले लालपुर्जा वितरणमा अहिलेको काम गराइ धेरै सुस्त भएको बताइन्। उनले सरकारको नेतृत्व जन्माउने जिल्लामा सुकम्बासी समस्या समाधानका लागि भइरहेको काम पटक्कै चित्तबुझ्दो नरहेको भन्दै प्राथमिकता दिएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिइन्।
उनले लालपुर्जा वितरणमा कुनै समस्या आए सरकार फेरि अध्यादेश ल्याउन तयार रहेको बताइन्।
‘कुनै समस्या छ भने तपाइँहरुले जानकारी गराउनुस्। तर, समस्या पर्यो भनेर चुप लागेर बस्न पाइँदैन। सरकारको नेतृत्व जन्माएको जिल्लामा यो तहको प्रक्रियाको छलफलमा अल्झिएर हुँदैन। यस्तो सुस्त काम मलाई स्वीकार्य हुँदैन,’ उनले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृतले प्राथमिकतामा राखेर काम गर्नुपर्यो। झारा टार्ने काम नहोस्। तपाइँहरुले देखाएको प्रगति सन्तोषजनक छैन।’










