काठमाडौं। २०७३ को तिहारमा लक्ष्मीपुजाका दिन बिजुली गएन। १८ घण्टासम्म लोडसेडिङ भोगेका नेपालीका लागि उद्योगधन्दा नचल्दा बिजुली गएन होला भन्ने लाग्यो। तर, त्यहींबाट सुरु भएको थियो, नेपालमा उज्यालो यात्रा।
त्यही उज्यालो यात्रासँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई लक्ष्मीपुजाका दिन सबैभन्दा चिन्ता हुन्छ। प्राधिकरणका तात्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको अब्बल व्यवस्थापनबाट लोडसेडिङको युग समाप्त भए पनि तिहारको लक्ष्मीपुजा अग्निपरीक्षा बन्ने गर्छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई पनि अहिले लक्ष्मीपुजाको दिनको दबाब छ। गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण ४३१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणाली बाहिर रहेकाले थप दबाब महशुस गरेका दीर्घायुले तिहारमा बिजुली व्यवस्थापनका लागि केही दिनअघि आन्तरिक छलफल गरे। छलफलमा लक्ष्मीपुजाको पिकआवरमा कुलेखानी जलविद्युत आयोजना चलाएर व्यवस्थापन गर्ने टुंगो भयो।
कुलेखानीका तीनवटा जलविद्युत आयोजनाबाट १०६ मेगावाट बिजुली उत्पादन हुन्छ। कुलेखानी पहिलो ६० मेगावाट, दोस्रो ३२ मेगावाट र तेस्रो १४ मेगावाटको हो। ती तीन आयोजना चलाउँदा समस्या समाधानमा सहयोग पुग्नेछ।
कुलेखानी बिजुली उत्पादन कम भएका बेला लोड व्यवस्थापनका लागि हिउँदमा चलाउने गरिन्छ। कुलेखानीमा यो पटक पानी समेत भरिएकाले विद्युत उत्पादनमा समस्या हुँदैन। छलफलमा तिहारका बेलामा उद्योगधन्दा नचल्ने भएकाले प्रणालीमा झण्डै ७ सय मेगावाट चलाउन मिल्ने हुन्छ। त्यो बिजुलीले पनि तिहारमा व्यवस्थापन गर्न सजिलो हुन्छ।
प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले तिहारमा घरायसी उपभोगमा माग उच्च भएपनि बिजुली आपूर्तिमा समस्या नहुने बताए। ‘तिहारमा घरायसी ग्राहकले इलेक्ट्रिक उपकरणको प्रयोग बढी गर्ने भएकाले घरायसी उपभोक्तामा बिजुलीको लोड बढ्छ। तर, त्यो समय उद्योगधन्दा बन्द हुने भएकाले समग्र माग घट्छ। त्यसमा पनि यो वर्ष ५२९ मेगावाट बिजुली प्रणालीमा थपिएको छ। त्यही कारण भोटेकोशी बाढीका कारण क्षति पुगेका आयोजनाका कारण हामीलाई तिहारमा बिजुली व्यवस्थापन गर्न समस्या हुँदैन। ग्राहकले ढुक्क भएर बिजुली प्रयोग गर्दा हुन्छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने।
तिहारमा घरमा झिलीमिली बत्ती र अन्य विद्युतीय उपकरण प्रयोगका कारण घरायसी ग्राहकमा बिजुलीको माग ह्वात्तै बढ्ने गरेको छ। पोहोर तिहारमा लक्ष्मीपुजाको दिन पिक डिमान्ड १६५० मेगावाट पुगेको थियो। यो वर्ष लक्ष्मीपुजाको दिन पिक डिमान्ड थप बढ्ने प्राधिकरणको अनुमान छ।
प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले घरायसी उपभोक्तामा माग बढे पनि ठूला कलकारखाना बन्द रहने भएकाले आपूर्तिमा समस्या नहुने बताए। उनका अनुसार तिहारका बेला विद्युत आपूर्तिमा समस्या आउन नदिन प्राधिकरणले अहिले मर्मत सम्भारलाई पनि तीव्रता दिएको छ।
‘उद्योग बन्द भएर राष्ट्रिय ग्रिडमा बिजुली बचत भए पनि सहरी क्षेत्रका निश्चित फिडर र ट्रान्सफर्मरमा एक्कासी लोड थपिंदा ट्रिपिङ हुने र स्थानीयस्तरमा बिजुली जाने जोखिम हुन्छ। त्यसैले हामीले तिहारमा विद्युत् वितरण प्रणालीलाई चुस्त बनाउन अहिले मर्मत सम्भारका काम गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘तिहारका बेला अत्यधिक लोड बढ्न सक्ने सम्भावित क्षेत्रमा ट्रान्सफर्मरको क्षमता थप्ने तथा लोड बढी र कम हुने क्षेत्रका फिडरको सन्तुलन मिलाउन काम भइरहेको छ।’
प्राधिकरणले यसबाहेक काठमाडौं उपत्यकासहितका क्षेत्रमा भूमिगत (अन्डरग्राउन्ड) गरिएका विद्युत् लाइन चार्ज गरी सञ्चालनयोग्य बनाउँदै छ। तिहारको समयमा कतै प्राविधिक समस्या आए तत्काल समाधान गर्न प्राधिकरणले नो-लाइट टोली तयारी अवस्थामा राख्नेछ।










