काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ठूला ठेक्कासँग सम्बन्धित कार्यालयमा आफूअनुकूल कर्मचारी खटाउने तयारी थालेका छन्।
मन्त्रालय स्रोतका अनुसार लम्सालले हुलाकी राजमार्ग निर्देशनालय, सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र आयोजना निर्देशनालय एडीबी(एशियाली विकास बैंक)मा आफूले भनेको मान्ने कर्मचारी ल्याउन लागेका हुन्।
मन्त्री लम्सालले विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुन अर्यालको स्थानमा पुल महाशाखा प्रमुख ललिजन खनाललाई ल्याउने निश्चित भएको स्रोतले बतयो।
विकास सहायता कार्यान्वयन महाशाखाले यो वर्ष ३० अर्ब रुपैयाँको ठेक्का प्रक्रिया अगाडि बढाइरहेको छ। केही ठेक्का प्रक्रियामा छन् भने केहीको ठेक्का आह्वान हुन बाँकी छ।
आयोजना निर्देशनालय (एडीबी)का निर्देशक चुडाराज ढकालको स्थानमा उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय प्रमुख धर्मेन्द्र कुमार झालाई ल्याउने निश्चित जस्तै भएको स्रोतले बतायो।
स्रोतका अनुसार ढकाललाई लगानी बोर्डमा सरुवा गर्ने तयारी छ। ढकालले पोखरा-मुग्लिन र नारायणगढ-बुटवल सडकको काम सम्पन्न गर्न भूमिका निर्वाह गरेका थिए। आयोजना निर्देशनालय मातहत ४३ अर्ब रुपैयाँको ठेक्का प्रक्रिया अगाडि बढेको छ।
पूर्वाधार विकास मन्त्रालयका कर्मचारीले झालाई एकपछि अर्को विवादमा मुछिने कर्मचारीका रुपमा लिने गरेका छन्। कतिपयले उनलाई इ-बिडिङमा छेडखानी गर्ने मास्टर माइन्डको आरोप लगाउने गरेका छन्। उनी हुलाकी राजमार्ग आयोजना र ग्वार्को ओभरपास आयोजनामा पनि विवादमा मुछिएका थिए।
मन्त्री लम्सालले हुलाकी राजमार्ग निर्देशनालयमा कसलाई ल्याउने भन्ने टुंगो लागेको छैन। हुलाकी राजमार्गमा ४५ अर्ब रुपैयाँ हाराहारीको ठेक्का प्रक्रिया अगाडि बढ्दै छ। केही ठेक्का प्रक्रियामा छन्। ३ वटा ठेक्काको प्राविधिक मूल्यांकन सकिएर आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहँदा मन्त्री लम्सालले निर्देशनालयको नेतृत्व परिवर्तन गर्न लागेका हुन्।
स्रोतका अनुसार सडक डिभिजन र आयोजनाहरुले लगाउने ४०/५० करोड रुपैयाँको ठेक्कामा पनि मन्त्रालयको चासो बढ्न थालेको छ।
‘अहिले ४०/५० करोड रुपैयाँको ठेक्कामा पनि माथिबाट दबाब आउन थालेको छ। चप्पल कारखानादेखि धोबीखोला सडक विस्तारको ठेक्का पनि चासो राखिएको छ,’ स्रोतले भन्यो।










