काठमाडौं। नेपाल प्रिमियर लिगमा सुरुबाट चर्चामा रहेका सुपरस्टार खेलाडी डेभिड वार्नर आइतबार बेलुकी काठमाडौं ल्याण्ड गरे। यी अस्ट्रेलियन लेजेन्टलाई मैदानमा उतार्दै लयमा फर्किने लक्ष्यमा काठमाडौं गोर्खाज छ।
गोर्खाजले आफ्नो पहिलो खेलमा जनकपुर बोल्टसँग ८ विकेटको भयानक हार ब्यहोरेको थियो। उसको आजको खेल छ, कर्णाली याक्ससँग। दुई खेल खेल्दा दुबैमा जित निकालेको कर्णाली अहिले सबैभन्दा हाइसञ्चोमा रहेको टोली हो। पाकिस्तानी खेलाडीको विवादमा पिसिँदा घाटा ब्यहोरे पनि कर्णालीको नतिजाले अलग कथा बोक्छ।
कर्णालीले पनि आइतबारै अर्का विदेशी खेलाडीलाई विमानस्थलमा स्वागत गरेको छ। उनी हुन् बंगलादेशका युवा ब्याटर जिशन अलाम। ‘जिशन पछिल्लो समय राम्रो लयमा रहेका कारण हामीले अनुबन्ध गरेका हौं। उनको आगमनपछि कर्णाली याक्सको शीर्षक्रम बलियो अझै बलियो हुने विश्वास लिएका छौं।’ याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले भने।
जिशन कर्णालीमा अनुबन्ध हुने तेस्रो बंगलादेशका खेलाडी हुन्। यसअघि अरिफुल इस्लाम र अकवर अली अनुबन्ध भएका थिए।
एकतर्फ पहिलो खेलमा हार ब्यहोरेको काठमाडौं। उसले क्रिकेटका लेजेन्ट खेलाडी डेभिड वार्नरलाई मैदान उतारेर जितको खोजीमा हुनेछ भने अर्कातर्फ लयमा रहेको कर्णाली लयलाई थप बलियो बनाउँदै जितलाई निरन्तरता दिने पक्षमा छ।
काठमाडौंसँग साम हेजलेट, स्मिथ पटेल जस्ता अरु विदेशी खेलाडी र करण केसी, भीम सार्कीजस्ता नेपाली खेलाडी पनि छन्। त्यस्तै, कर्णालीसँग सोमपाल कामी, गुल्सन झा, नन्दन यादवजस्ता नेपाली खेलाडी र अकबर अली, हुसैन तलत, अरिफुल इस्लामजस्ता दक्षिण एसियाली पिच र खेल मजाले एडप्ट गर्नसक्ने खेलाडी छन्।
यो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।
दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम भिड्नेछन्। शनिबार विराटनगरसँगको खेलअघिको विवादबाट सुदूरपश्चिमले अब कमब्याक गर्ने चुनौती छ। उसले पहिलो खेलमा लुम्बिनी र तेस्रो खेलमा विराटनगरसँग हार ब्यहोर्दा दोस्रो खेलमा पोखरालाई हराएको थियो। त्यस्तै, अर्को टोली चितवनको खातामा ३ अंक छ। उसले विराटनगरलाई हराउँदा लुम्बिनीसँगको खेलमा अंक बाँडेको थियो।
यो खेल साँझ ५ बजे सुरु हुनेछ।










