काठमाडौं। पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमै पराजित भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले पोखरालाई ६ विकेटले हराएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

सुदूरपश्चिमलाई लक्ष्यसम्म पुर्याउन दीपेन्द्रसिंह ऐरीले कप्तानी इनिङ्स खेले। उनले ३१ बलमा समान २ चौका र छक्काको सहायतामा अविजित ५१ रन बनाए। त्यस्तै, इशान पाण्डेले ३७ तथा ब्राण्डन म्याकमुलनले २२ रन बनाए। बलिङमा मेहदी हसन, सकिव अल हसन र धनन्जय लक्षनले समान १ विकेट लिए पनि सुदूरलाई रोक्न सकेनन्।
त्यसअघि सुरुवाती ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई ब्याटिङको निम्ता दिएका थिए। पोखराका लागि शीर्ष क्रमका मेहेदी हसनले ३२ तथा कुशल भुर्तेलले २१ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्। स्टार अलराउण्डर सकिब अल हसन पनि १४ रनमै समेटिए।

पोखराका लागि जिम्मेवार ब्याटिङ भने अर्जुन घर्तीले गरे। उनले २५ बलमा ४ चौका र १ छक्काको सहायतामा अविजित ४० रन बनाए।

बलिङमा ७ बलर प्रयोग गरेको सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिँदा हेमन्त धामी, स्कट कुगेलेइन र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

बिहीबार लिगमा दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज तथा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्नेछन्।










