दुई पाङ्ग्रे सवारी साधनको बजार बुम, तीन महिनामै भित्रिए १ लाख १२ हजार बाइक/स्कुटर

बिजमाण्डू
२०८३ कात्तिक ११ गते १९:४२ | Oct 28, 2026
दुई पाङ्ग्रे सवारी साधनको बजार बुम, तीन महिनामै भित्रिए १ लाख १२ हजार बाइक/स्कुटर


काठमाडौं। बजारमा दुई पाङ्ग्रे सवारीसाधनको हिस्सा बढ्दै गएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा दुई पाङ्ग्रे सवारीसाधनको आयात वृद्धि भएको छ।

GBIME
Tata

विद्युतीय दुई पाङ्ग्रेको आयात तीन गुणाले वृद्धि भएको छ। इन्धनको मूल्यवृद्धिका कारण गत आवको अन्तिम त्रैमासदेखि विद्युतीय दुई पाङ्ग्रेको आयात बढ्न थालेको थियो। इन्धन दुई पाङ्ग्रेको आयात १७ प्रतिशत बढेको देखिन्छ।

चालु आवको ३ महिनामा १३ अर्ब ५५ करोड रुपैयाँ बराबरको ९४ हजार २९२ युनिट इन्धन दुई पाङ्ग्रे सवारीसाधन आयात भएका छन्। भन्सार विभागको तथ्यांक अनुसार यसबाट सरकारले १३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

गत आर्थिक वर्ष सोही अवधिमा १० अर्ब १० करोड रुपैयाँ बराबरको ७९ हजार ६८३ युनिट मात्रै आयात भएको थियो। गत वर्षको तुलनामा चालु आवमा इन्धन दुई पाङ्ग्रेको बजार बढेको छ।

दुई पाङ्ग्रे विद्युतीय स्कुटर र मोटरसाइकलको बिजनेस बुम भएको छ। तीन महिनमा २ अर्ब ६४ करोड रुपैयाँ बराबरका १७ हजार ८८७ युनिट विद्युतीय स्कुटर र मोटरसाइकल आयात भएका छन्। यसबाट सरकारले ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

गत आवको सोही अवधिमा ४४ करोड रुपैयाँ बराबरको ४ हजार २६४ युनिट मात्रै आयात भएको थियो।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव मेघराज पौडेलका अनुसार फाइनान्सको राम्रो सुविधाले पनि दुई पाङ्ग्रे सवारीसाधनको बजार हिस्सा बढाउन सहयोग पुगेको हो।

‘अहिले नागरिकताका भरमा बाइक लिन सकिन्छ। सुरुमा ५० प्रतिशत डाउनपेमेन्ट दिएपछि नागरिकताको भरमा बाइक खरिद गर्न पाइन्छ। यसले धेरै युवाहरुलाई सहज भएको छ। पहिले यस्तो सुविधा थिएन,’ पौडेलले भने।

व्यक्तिगत आयकरको सीमा वृद्धिले पनि दुई पाङ्ग्रेको बजार विस्तार भएको व्यवसायीहरुको बुझाइ छ। उनीहरुका अनुसार पछिल्लो समय धेरै सीसीका बाइक सस्तो मूल्यमा पाइने अवस्थाले पनि बबजार विस्तारमा सहयोग पुगेको हो।

भन्सार विभागका अनुसार असोजमा मात्रै करिब ४ हजार इलेक्ट्रिक कार आयात भएका छन्।

तीन महिनामा प्यासेन्जर इलेक्ट्रिक सवारीसाधन १५ अर्ब रुपैयाँ बराबरका ६ हजार ६३६ युनिट आयात भएका छन्। यसबाट सरकारले ९ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

गत आवको सोही अवधिमा ६ अर्ब २५ करोड रुपैयाँ बराबरका २ हजार ६२० युनिट प्यासेन्जर इलेक्ट्रिक सवारीसाधन आयात भएका थिए।

चालु आर्थिक वर्ष साउनमा विद्युतीय कार, जीप र भ्यान ६८९ तथा भदौमा २१ सय ४५ वटा आयात भएकामा असोजमा ३८०० युनिट भित्रिएका छन्।

व्यवसायीले धेरै इभी चीनबाट ल्याउने गरेकामा भदौ १० गतेको बाढीले रसुवा नाका बन्द छ भने तातोपानी नाका पनि चीनले भदौ १४ यता खुलाएको छैन। कोरोला नाका एक मात्र विकल्प रहेको अवस्थामा व्यवसायीले असोजमा आयात बढाएका हुन्।

कमर्सियल सवारीसाधन चालु आवको तीन महिनामा ४ अर्ब ३० करोड रुपैयाँ बराबरका ११ सय ८७ युनिट आयात भएका छन्। गत आवको सोही अवधिमा ४३८ युनिट मात्रै आयात भएका थिए।

तीन महिनामा इन्धन प्यासेन्जर सवारीसाधन २ अर्ब ४८ करोड रुपैयाँ बराबरका २ हजार ५८ युनिट आयात गरिएका छन्। यसबाट सरकारले ६ अर्ब २७ करोड रुपैयाँ राजस्व पाएको छ।

गत आवको सोही अवधिमा यो सेगमेन्टका सवारीसाधन २ अर्ब ६२ करोड रुपैयाँ बराबरका २३ सय ४९ युनिट आयात भएका थिए।