काठमाडौं। सेयर बजार परिसूचक दोहोरो अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ। नेप्से बुधबार ३३.२९ अंकले बढेको हो। व्यापारबाहेकका सबै सूचकले नेप्से बढाएका हुन्।
दसैं बिदापछिको पहिलो दिन नेप्से ४.३४ अंकले घटेकामा त्यसपछिका दुई दिन बढेको छ।
लगानीकर्ता खासगरी जलविद्युत कम्पनीको सेयरमा झुम्मिएका छन्। जसका कारण जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै २.०६ प्रतिशतले उकालो लागेको छ। धेरै मूल्यको सेयर कारोबार हुने शीर्ष ५ कम्पनीमा जलविद्युत कम्पनी छन्। लिबर्टी इनर्जीको सबैभन्दा धेरै ३२ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ।
सेयर मूल्य धेरै बढ्ने शीर्ष ५ कम्पनीमध्ये ४ वटा जलविद्युत क्षेत्रकै छन्। बेनी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्दा बुटवल पावर कम्पनीको सेयर मूल्य पनि प्रति कित्ता ६८.९० रुपैयाँ बढेको छ।
बजारमा २४१ कम्पनीका लगानीकर्ताले कमाउँदा ३५ कम्पनीको सेयर मूल्य भने घटेको छ। ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।










