दसैंअघि आयात गरेको सुन बैंकमा स्टक, तिहार नजिकिंदा पनि व्यवसायी छैनन् उत्साही

बिजमाण्डू
२०८३ कात्तिक ११ गते १८:३० | Oct 28, 2026
दसैंअघि आयात गरेको सुन बैंकमा स्टक, तिहार नजिकिंदा पनि व्यवसायी छैनन् उत्साही


काठमाडौं। तिहार नजिकिए पनि दसैंअघि आयात गरेको सुन स्टक बसेको छ। मूल्य महँगो भएका कारण बजारमा सुनचाँदीको माग कम रहेको व्यापारीहरुले बताएका छन्।

GBIME
Tata

उनीहरुका अनुसार बजारमा अहिले सुन खरिद गर्नेभन्दा बिक्री गर्ने ग्राहक धेरै छन्। त्यही कारण व्यापारीहरुले तिहारका लागि बैंकबाट सुन किन्न रुची देखाएका छैनन्।

दसैंअघि ल्याएको सुन स्टक रहेकाले वाणिज्य बैंकले पनि आयातका लागि सिफारिस लिएका छैनन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले तिहारका लागि यसपटक खासै तयारी नरहेको बताए।

‘सुनको भाउ महँगो रहेकाले अहिले कारोबार न्यून छ। किन्नेभन्दा बेच्ने ग्राहक धेरै छन्। त्यसैले हामीले तिहारका लागि भनेर सुन धेरै जोहो गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘जति स्टक छ त्यही बेच्छौं।’

ग्राहकले विषेशगरी धनतेरसका दिन सुनचाँदीका सिक्का, गहना, मूर्ति, चाँदीका भाँडा खरिद गर्ने गरेका छन्।

अर्का सुनचाँदी व्यवसायी माणिकरत्न शाक्यले पनि यसपालि तिहारमा विगतका वर्षमा जस्तो कारोबार नहुने बताए। ‘तिहारमा सुनचाँदीको माग त आउँछ। तर, यसपालि पोहोर परार जस्तो कारोबार हुने संकेत छैन,’ उनले भने।

बैंकर्स संघका अनुसार दसैंअघि आयात गरिएको ५२ केजी सुन अहिले स्टक छ। सुन आयातको दैनिक कोटा २५ केजी पुर्‍याइए पनि स्टक रहेका कारण बैंकले अहिले आयातका लागि सिफारिस नलिएको संघले बताएको छ।