काठमाडौं। यातायात व्यवस्था विभागले सवारीसाधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउने भएको छ। यसका लागि आवश्यक उपकरण जडान गर्न विभागले सेवा प्रदायकको खोजी गरेको छ।
विभागले इच्छुक सेवा प्रदायकलाई सूचीकरण हुन आह्वान गरेको छ। विभागले बुधबार ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ को दफा १ को उपदफा (३) बमोजिम सूचना प्रकाशन गरेको हो।
सेवा प्रदान गर्न इच्छुक कम्पनीले आवश्यक कागजातसहित ३५ दिनभित्र विभागमा निवेदन पेस गर्नुपर्नेछ। सूचीकरणको म्याद समाप्त भएपछि उपकरणको इन्टिग्रेसनका लागि विभागले क्रमशः सूचना प्रकाशन गर्नेछ।
सूचीकरण हुन चाहेको व्यहोरासहितको निवेदन, कम्पनी, संस्था वा प्राइभेट फर्म दर्ता प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयबाट प्राप्त प्यान/भ्याट दर्ता प्रमाणपत्र र पछिल्लो कर चुक्ता प्रमाणपत्र, कम्पनी वा व्यवसाय दर्ता अद्यावधिक भएको प्रमाणपत्र, नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त प्रकार स्वीकृति (टाइप एप्रुवल-ट्याप-०४) पेस गर्नुपर्ने हुन्छ।
साथै सूचना प्रसारण विभागबाट प्रदान गरिएको जीपीएस सम्बन्धी सेवा बिक्री वितरणको अनुमतिपत्र, बिक्री तथा जडान पछिको सेवा सुनिश्चितताका लागि प्राविधिक जनशक्ति र काठमाडौं उपत्यका बाहिर रहेका सेवा केन्द्रहरुको विवरण, जीपीएस ट्र्याकिङ, टेलिमेट्रिक्स डिजाइन तथा उत्पादनमा कम्तीमा ५ वर्षको अनुभव र सीएमएमआईको म्याचुरिटी लेभल कम्तीमा लेभल ३ सम्मको सफ्टवेयर भएको उपकरण र आईएटीएफ १६९४९, आईएसओ १४००१ र ४५००१ लगायत व्यवस्थापन प्रणालीसम्बन्धी वैध प्रमाणपत्र पनि पेस गर्नुपर्ने विभागले जनाएको छ।
विभागमा कागजात पूरा गरी पेस गरेका निवेदकहरुको अर्को सूचनामार्फत तोकिएको मितिमा यन्त्रलाई विभागको सर्भरमा प्रत्यक्ष जोडी नमूना तथ्यांक परीक्षण गरिनेछ।
परीक्षण सफल भएपछि ३ महिनाको लागि अस्थायी सूचीकरण गरिनेछ र सो अवधिको तथ्याङ्क सन्तोषजनक देखिएमा पूर्ण सूचीकरण गरी विभागको वेबसाइटमा प्रकाशन गरिनेछ।










