काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको पूर्व-पश्चिम राजमार्ग र पृथ्वी राजमार्गका महत्वपूर्ण खण्डहरुलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन सहयोग गर्ने भएको छ।
एडीबीले ३० करोड ५७ लाख ५० हजार अमेरिकी डलर (करिब ४० अर्ब रुपैयाँभन्दा बढी) को वित्तीय सहायता स्वीकृत गरेको हो।
यो सहायता प्याकेजमा २८ करोड ५० लाख डलरको ऋण, एसियाली विकास कोष (एडीएफ) बाट २ करोड डलरको अनुदान र ७ लाख ५० हजार डलर बराबरको प्राविधिक सहायता समावेश छ।
आयोजनाअन्तर्गत पूर्व-पश्चिम राजमार्गको नारायणगढ–हेटौंडा ७० किलोमिटर खण्डलाई ४ लेनमा विस्तार गरिनेछ।
सो क्षेत्रमा पर्ने बारण्डाभार जैविक मार्गमा वन्यजन्तुको सुरक्षित आउजाउका लागि ‘एलिवेटेड’ राजमार्ग निर्माण गरिने जनाइएको छ। यसले गाडी र वन्यजन्तुबीच हुने दुर्घटना घटाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।
त्यस्तै, पृथ्वी राजमार्गको मुग्लिन-आबुखैरेनी ८.७ किलोमिटर खण्डलाई पनि ४ लेनमा विस्तार गरेर नयाँ पुलहरु निर्माण गरिनेछ।
एडीबीका नेपाल निर्देशक आर्नाउड काउचोइसका अनुसार यो आयोजनाले नेपालको क्षेत्रीय व्यापार, पर्यटन र यातायात सहज बनाउनेछ। साथै जलवायु अनुकूल पूर्वाधार निर्माण र जैविक विविधता संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास उनले व्यक्त गरेका छन्।
अनुदान रकमबाट चितवन क्षेत्रमा दिगो पर्यटन, महिला सशक्तिकरण तथा सडक सुरक्षा कार्यक्रमहरु पनि संचालन गरिने जनाइएको छ।









