रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

बिजमाण्डू
२०८३ असोज २५ गते ०६:४४ | Oct 11, 2026
रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते


कायरो। साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको मिसाइल आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार बिहान बताएका छन्। साउदी नेतृत्वको गठबन्धनले आक्रमणमा इरान समर्थित यमनका हुथी विद्रोही संलग्न रहेको आरोप लगाएको छ।

GBIME
Tata

क्षेत्रीय अधिकारीका अनुसार मिसाइल विमानस्थलको आन्तरिक उडानका लागि प्रयोग हुने टर्मिनल ३ र ४ रहेको परिसरमा खसेको थियो। आक्रमणमा मृत्यु हुनेमा चार साउदी नागरिक, दुई बंगलादेशी, एक–एक अमेरिकी, प्यालेस्टिनी, इजिप्टेली, जोर्डनी, सिरियाली र सुडानी नागरिक छन्। घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।

इरान-अमेरिका युद्ध सुरु भएयता खाडी अरब मुलुकमा भएको यो सबैभन्दा घातक आक्रमण हो। पछिल्लो एक सातामा रियादसहित साउदीका अन्य विमानस्थल, सैन्य संरचना र तेल पूर्वाधारलाई लक्षित गरी आक्रमण बढेका छन्। साउदी नेतृत्वको गठबन्धनले हुथीविरुद्ध ठूलो सैन्य कारबाही सुरु गरेपछि आक्रमण तीव्र भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आक्रमणपछि हुथी विद्रोहीविरुद्ध साउदी अरबले गरिरहेको हवाई कारबाहीमा अमेरिका सहभागी हुने वा नहुनेबारे विचार भइरहेको बताएका छन्। गठबन्धनले विमानस्थलमा भएको आक्रमणलाई ‘पूर्णस्तरको युद्ध अपराध’ भन्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

आक्रमणपछि विमानस्थलको सञ्चालन स्थगित गरिएको थियो। सुरक्षा व्यवस्था कडा पार्दै प्रवेशद्वार बन्द गरिएपछि उडानहरू अन्यत्र मोडिएका थिए। अमेरिका, बेलायत, जर्मनी, अस्ट्रेलिया र क्यानडाले आफ्ना नागरिकलाई विमानस्थल नजान चेतावनी दिएका छन्। एयर इन्डिया, फ्लाईदुबई, लुफ्थान्सा समूह र पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले पनि रियादसहित साउदीका विभिन्न विमानस्थलमा उडान स्थगित गरेका छन्।

साउदी अरबले हुथी आक्रमण रोक्न फ्रान्स, बेलायत, पाकिस्तान र इजिप्टसँग हवाई प्रतिरक्षा सहयोग मागेको क्षेत्रीय अधिकारीहरूले बताएका छन्। हुथी विद्रोहीले भने पछिल्लो आक्रमणबारे तत्काल प्रतिक्रिया दिएका छैनन्। उनीहरूले यसअघि साउदी अरबले यमनको राजधानी सानास्थित विमानस्थलमा आक्रमण गरेको आरोप लगाएका थिए।

इरानसँगको युद्धमा हुथी विद्रोहीको सक्रियता बढ्दै जाँदा क्षेत्रीय सुरक्षा, हवाई यातायात र विश्वकै प्रमुख तेल निर्यातकर्ता साउदी अरबको ऊर्जा पूर्वाधारमाथिको जोखिम बढेको छ। (एपी)