‘हिजोका तमाम फोहोर फालेर आएका छौँ, काम गर्ने तरिका बदल्छौँ, गलत अभ्यास अन्त्य हुन्छ’

बिजमाण्डू
२०८३ असोज २४ गते १५:२५ | Oct 10, 2026
‘हिजोका तमाम फोहोर फालेर आएका छौँ, काम गर्ने तरिका बदल्छौँ, गलत अभ्यास अन्त्य हुन्छ’


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका अनियमितता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने घोषणा गरेका छन्। आफूबाटै कुनै अनियमितता भए पार्टीका कुनै सदस्यले पनि बचाउ गर्नुपर्ने अवस्था आउन नदिने बताउँदै उनले कांग्रेसको काम गर्ने शैली बदल्ने प्रतिबद्धता जनाएका छन्।

GBIME
Tata

सभापतिमा निर्वाचित भएपछि शनिबार सम्बोधन गर्दै थापाले भने, ‘हामी भ्रष्टाचारविरुद्धको कुरामा शून्य सहनशीलताको सिद्धान्त अपनाउँछौँ। मबाट पनि कुनै अनियमितता हुन्छ भने मेरो पार्टीका एक जना पनि आएर उभिनुनपर्ने कांग्रेस बनाउँछौँ।’

उनले पार्टीभित्र विगतमा भएका कमजोरी र गलत अभ्यास अन्त्य गरेर अघि बढ्ने बताए। ‘हिजोका तमाम फोहोरहरूलाई फालेर यहाँ आएको हो हामी। हामी काम गर्ने तरिका बदल्छौँ,’ उनले भने।

थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका नेता–कार्यकर्तालाई पनि पार्टीमा समेटेर अघि बढ्ने बताए। पार्टीका कामप्रति असन्तुष्टि जनाउँदै कांग्रेस छाडेका नेताहरूलाई फर्किने वातावरण बनाउने उनको भनाइ छ। ‘हामीले गरेका काम चित्त नबुझेर हामीलाई छाडेर जानुभएको छ। उहाँहरूलाई आउने वातावरण बनाउनेछौँ,’ उनले भने।

सभापति पदका प्रत्याशी श्यामकृष्ण खड्गीलाई लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी भएको भन्दै धन्यवाद दिँदै थापाले उनलाई पनि सँगै लिएर अघि बढ्ने बताए। नेतृत्व परिवर्तनपछि पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउने सन्देश उनको सम्बोधनमा थियो।

पार्टीको १५औँ महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका हुन्। उनले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाए। कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो। कुल खसेको मतमध्ये थापाले ९३.८८ प्रतिशत र खड्गीले ५.३४ प्रतिशत मत प्राप्त गरेका छन्।