
काठमाडौ । दशौं छाला जुत्ता प्रदर्शनी काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको छ । देशभरका ७५ छाला जुत्ता तथा छालाका विभिन्न बस्तु बनाउने कम्पनीले प्रदर्शनीमा भाग लिएका छन् । नेपालमा छाला जुत्ताको सम्भावना अत्याधिक रहेकोले यस तर्फ अगाडि बढन अर्थमन्त्री शकर प्रसाद कोइरालाले व्यवसायीलाई आग्रश गरेका छन् । पाँच वा दश वर्षमा आत्मनिर्भर बन्ने लक्ष्य लिएर अगाडि बढनुस, सरकार हातेमालो गर्न तयार छ, प्रदर्शनी उद्घाटन गर्दै उनले भने, ‘व्यवसायी र सरकारले के के गर्न सक्छन प्रस्ताव ल्यानुस ।
नेपालमा २०१८ सालदेखि छाला जुत्ताको व्यवसायिक उत्पादन सुरु भएको हो । चीन सरकारको प्राविधिक र वित्तीय सहयोगमा बाँसबारी छाला जुत्ता कारखानाले पहिलो उत्पदन गरेको थियो । २०४६ सालपछि निजी क्षेत्रले साना तथा मझौला कारखाना स्थापना गरे छाला जुत्ता उत्पादन गर्दै आएको छ ।
देशभर करिव तीनसय यस्ता उद्योग भएको नेपाल छाला जुत्ता उदोग संघका अध्यक्ष होमनाथ उपाध्यायले बताए । ‘नेपाली उत्पादनले कुल जुत्ताको मागको ५५ प्रतिशत पुर्ति गर्दै आएको छ,’ उनले भने, ‘सरकारको सहयोग र प्रोत्साहन भएमा छाला जुत्तामा आत्मनिर्भर हुन सकिन्छ ।’
छाला जुत्ता उद्योगले उर्जा, कच्चा पदार्थको अभाव, कच्चा पदार्थ आयातमा लाग्ने चर्को भन्सार, मेड इन नेपाल लेखेर विदेशबाट भित्रने जुत्ता चप्पलबाट कठिनाई भोगिरहेको उद्यमीहरुले बताए । सरकारले सहुलियत र प्रोत्साहन दिनु पर्यो, उपाध्यायले भने । कर्मचारी, सेना र प्रहरीलाई स्वदेशी छाला जुत्ताको प्रयोग गराउन सके ठुलो प्रोत्सहन हुने उनले बताए ।
प्रदर्शनी अवलोकनको अवशरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले कोशेली ब्राण्डको छालाको जुत्ता किनेका थिए । ‘स्वदेशी उत्पादन प्रति मेरो मोह छ,’ खरिद गर्नको कारण खुलाउदै उनले भने ।