बाढीपीडितको उद्धारका लागि आयल निगमले उपलब्ध गरायो साढे ४० हजार लिटर हवाई इन्धन



बिजमाण्डू
२०८३ भदौ १३ गते १६:०८ | Aug 29, 2026
बाढीपीडितको उद्धारका लागि आयल निगमले उपलब्ध गरायो साढे ४० हजार लिटर हवाई इन्धन


काठमाडौं। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि उद्धार तथा राहतमा नेपाल आयल निगमले सहयोग बढाएको छ। निगमले उद्धारमा प्रयोग भएका हेलिकप्टरका लागि हालसम्म ४० हजार ५८० लिटर हवाई इन्धन उपलब्ध गराएको जनाएको छ।

Vigo
GBIME
Tata

निगमका अनुसार उद्धार कार्यमा प्रयोग हुने हेलिकप्टरका लागि नेपाली सेनासँग समन्वय गरी इन्धन व्यवस्थापन गरिएको छ। भदौ १० गतेदेखि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट र ट्यांकरमार्फत इन्धन उपलब्ध गराइएको निगमले जनाएको छ।

निगमले भदौ १० गते १२ हजार लिटर हवाई इन्धन उपलब्ध गराएको थियो। त्यसपछि भदौ ११ गते ९ हजार लिटर ट्यांकरबाट तथा १ हजार ८४० लिटर हेलिकप्टरमार्फत उपलब्ध गराइएको थियो।

भदौ १२ गते थप ९ हजार लिटर र भदौ १३ गते ९ हजार लिटर इन्धन उपलब्ध गराइएको निगमले जनाएको छ। हालसम्म उद्धारमा प्रयोग हुने हेलिकप्टरका लागि ४० हजार ५८० लिटर हवाई इन्धन पठाइएको हो।

उद्धार कार्य सहज बनाउन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयले बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पलाई पनि इन्धन उपलब्ध गराएको छ। भदौ १३ गतेसम्म ती पम्पलाई ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल उपलब्ध गराइएको निगमले जनाएको छ।

मागअनुसार सार्वजनिक बिदाका दिनमा समेत पेट्रोल र डिजेल बिक्री वितरणको व्यवस्था मिलाइएको छ। यसले उद्धार तथा राहतमा परिचालित सवारीसाधनलाई इन्धनको अभाव हुन नदिन सहयोग पुग्ने निगमको विश्वास छ।

यसैगरी, बाढी प्रभावित क्षेत्रमा सेल्टरमा रहेका व्यक्तिका लागि एलपी ग्यासको व्यवस्था पनि गरिएको छ। निगमको समन्वयमा नेपाल ग्यास उद्योग र एलपी ग्यास उद्योग संघ नेपालले नुवाकोट र रसुवाका लागि १५० थान भरिएका सिलिन्डर राहत कार्यमा पठाएका छन्।

निगमले राष्ट्रिय विपद् तथा अन्य आपत्कालीन परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ। बाढीबाट प्रभावित तथा पीडित परिवारप्रति निगमले समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।