काठमाडौं। भदौ १० गते आएको भीषण बाढीका कारण त्रिशूली कोरिडोर क्षेत्रमा रहेका नेपाल विद्युत् प्राधिकरणका ५ वटा जलविद्युत् आयोजनाहरूमा ठूलोको क्षति पुगेको छ।
प्राधिकरण र सहायक कम्पनी अन्तर्गतका १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, ६० मेगावाटको त्रिशुली ३ ‘ए’, २४ मेगावाटको त्रिशुली जलविद्युत् केन्द्र, १४.१ मगावाटको देवीघाट जलविद्युत् केन्द्र र २२०/१३२/३३ केभीको त्रिशुली ३ ‘बी’ हब सबस्टेसन पूर्ण रुपमा क्षति भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालकाअनुसार बाढीका कारण जलविद्युत् क्षेत्रमा खरबौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
‘हामीले सोचेकोभन्दा धेरै ठूलो छ। यो लस अरबमाभन्दा पनि खरबमा हुन्छ। अब अहिले हाम्रो प्राथमिकता त्यहाँ फसेकाहरूको उद्धार र राहतमा काम गरिरहेका छौं। क्षतिको डिटेल एसेसमेन्ट त केही समय पछि आउँछ,’ प्रवक्ता ढकालले भने।
आयोजना क्षेत्रको भयावह अवस्था र मानवीय क्षति
बाढीले त्रिशूली कोरिडोर क्षेत्रका विभिन्न आयोजनाहरूमा व्यापक क्षति पुर्याएको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालकाअनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पूर्ण रूपमा वास आउट भएर नामोनिसान बाँकी छैन।
यस्तै, जलविद्युत् आयोजना पनि पुरै पुरेको अवस्थामा छ। त्रिशुली ३ ‘ए’ पनि पुरै पुरेको अवस्थामा छ।
त्रिशूली ३ ‘ए’ र ३ ‘बी’को पावर हाउस, टनेल तथा केबल डक्ट क्षेत्र पूर्ण रूपमा पुरिएर आयोजना पहिचान गर्नै नसकिने अवस्थामा पुगेको छ।
हालसम्मको प्रारम्भिक जानकारी अनुसार २०० भन्दा बढी कर्मचारी, श्रमिक तथा सर्वसाधारण सम्पर्कविहीन छन्। रसुवागढीमा १०० भन्दा बढी कर्मचारी सम्पर्कविहीन छन्।

यस्तै, त्रिशूली ३ ‘ए’को पावर हाउसका ४५ जना (जसमा प्राधिकरणका ३०-३५ जना कर्मचारी प्रवेश टनेल/पावर हाउसभित्र थुनिएका) अनुमान छ। यस्तै, चिलिमेमा १५ देखि २० जना र निर्माणाधिन आयोजनामा २५ जना भन्दा बढी कर्मचारी सम्पर्क हुन नसकेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठले बताए।
उद्धार प्रयासमा चुनौती
भौगोलिक दुर्गमता, पहुँच मार्ग पूर्ण रूपमा भत्किएको र निरन्तर पानीको बहाव बढ्ने जोखिमका कारण उद्धार कार्य जटिल बनेको छ। नेपाली सेना, स्थानीय प्रशासन, र प्राधिकरणको उच्चस्तरीय टोली स्थलगत रूपमै खटिएका छन्।
टनेल तथा पावर हाउसभित्र थुनिएका कर्मचारीहरूलाई अक्सिजन पास गराउन, केबल डक्टमा प्वाल पार्न तथा एक्साभेटर प्रयोग गरी बाटो खोल्ने प्रयास भइरहेको श्रेष्ठले बताए।
उद्धारका लागि डेडिकेटेड हेलिकप्टर, पर्वतारोहीहरूको टोली तथा विशेषज्ञ उपकरणहरू परिचालन गरिएको छ। थुनिएका व्यक्तिका लागि ४८ देखि ७२ घण्टाभित्र अक्सिजनको व्यवस्थापन गर्नु मुख्य प्राथमिकता राखेर काम गरिरहेको छ।
विद्युत् आपूर्ति र वैकल्पिक व्यवस्था
प्राधिकरण र निजी क्षेत्रद्वारा प्रवर्धित १२ वटा आयोजनाहरू क्षतिग्रस्त भई राष्ट्रिय प्रसारण प्रणालीबाट करिब ४३० मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ।
४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिए तापनि आन्तरिक माग व्यवस्थापनमा कुनै समस्या नरहेको र देशव्यापी लोडसेडिङ हुन नदिइएको प्राधिकरणले स्पष्ट पारेको छ।
‘यो विपद्मा ४३० मेगावाट जति सिस्टमबाट बिजुली आउट हुँदाखेरि प्राधिकरणले कसरी लोड म्यानेजमेन्ट गर्छ भन्ने आम चासोको विषय जस्तो देखिन्छ। त्यसमा कुनै पनि समस्या छैन, हाम्रो इन्टर्नल डिमान्ड मिट गर्नलाई केही समस्या छैन,’ प्रवक्ता ढकालले भने, ‘हामीले इफेक्टिभली त्यो म्यानेज गरिरहेका छौँ। र त्यही भएर म आम उपभोक्तालाई ढुक्क भएर जति सकिन्छ त्यति बिजुली खपत गर्नलाई सक्नुहुन्छ। त्यसमा समस्या छैन।’
विद्युत् पुनर्बहालीको स्थिति
प्राधिकरणका प्रवक्ता तथा वितरण, तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख ढकालका अनुसार सिन्धुपाल्चोक-मेलम्चीबाट लाइन ल्याएर तथा काठमाडौं जाने ६६ केभी लाइनलाई ११ केभीमा रूपान्तरण गरी नुवाकोट, बट्टार तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाइएको छ। धादिङको सल्यानटारबाट वैकल्पिक लाइन जोडी अस्पताल तथा मुख्य क्षेत्रमा बिजुली रिस्टोर गरिएको छ।
रसुवातर्फ बिजुली पूर्ण रूपमा अवरुद्ध रहेको र धुन्चेमा वैकल्पिक रुट (सान्जेन आयोजना वा फलाकु खोला फिडर)बाट विद्युत रिभाइभ गर्ने लक्ष्यका साथ प्राविधिक टोली खटाइएको छ।
उनले भने, ‘नुवाकोटमा हामीले करिब ९० प्रतिशत बिजुली रिस्टोर गरिसकेको छौँ। अब रसुवामा पनि हामीले विकल्प खोजिरहेका छौं।’










