भोटेकोशी बाढी : प्रमुख प्रतिपक्षी दलको नौ बुँदे ध्यानाकर्षण, ‘उद्धारमा सघाउनेलाई आउ भनौँ’



बिजमाण्डू
२०८३ भदौ १३ गते १४:५४ | Aug 29, 2026
भोटेकोशी बाढी : प्रमुख प्रतिपक्षी दलको नौ बुँदे ध्यानाकर्षण, ‘उद्धारमा सघाउनेलाई आउ भनौँ’


काठमाडौं। प्रमुख प्रतिपक्षी दल कांग्रेसले उद्धार र खोजी अभियानलाई अझ प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ। संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

Vigo
GBIME
Tata

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शनिबार भेट गर्दै आङ्देम्बेले बाढीग्रस्त नुवाकोटको ढुंगेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि नौ बुँदे ध्यानाकषर्णपत्र सरकारलाई बुझाएका हुन्। भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे स्थलगत रूपमा देखिएका समस्या समाधानका साथै हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिएको उनले बताए।

नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय रहेको उल्लेख गर्दै नेता आङ्देम्बेले रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न माग गरे। सडक र पुल तत्काल सञ्चालनमा ल्याएर रसुवा, नुवाकोट र धादिङका अवरुद्ध मार्ग सफा गरी आवागमन सञ्चालन गर्न, क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा सात स्थानमा बेलीब्रिज जडान गर्नुपर्ने उनले बताए।

विद्युत् र सञ्चार सेवा सञ्चालन गर्न, उद्धार, राहत र सञ्चारलाई सहज बनाइनुपर्ने उनको जोड छ। सम्पर्कविहीनको खोजी र शव व्यवस्थापन तीव्र पार्न, बाढीले बगाएर ल्याएका शवहरू यत्रतत्र रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी सम्पर्कविहीनको खोजी, शव पहिचान र उचित व्यवस्थापन गरिनुपर्ने नेता आङ्देम्बेले सरकारसँग आग्रह गरे।

उद्धार गरिएका नागरिकको यातायात व्यवस्था गर्न, सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौंसम्म पुर्‍याउने यातायातको व्यवस्था गर्नुपर्ने उनको माग छ। घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिन, नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि आवश्यक अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था गरी ज्येष्ठ नागरिकका लागि पर्याप्त शय्या उपलब्ध गराइनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।

स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न, उद्धार तथा राहतमा स्थानीय सरकारसँग संघले आवश्यक समन्वय र सहकार्य बढाउन तथा राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संघसंस्थालाई समेत सहजीकरण गरिनुपर्ने उनले बताए।

त्रिशूलीसहित नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्न पनि प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको ध्यानाकर्षण गराएको छ। विपद्को कठिन घडीमा नागरिकको जीवन रक्षा सर्वोच्च प्राथमिकता राखी उद्धार, राहत र पुनःस्थापनालाई तीव्र बनाउन माग गर्दै यसमा सहकार्य र समन्वय गर्न कांग्रेस तयार रहेको आङ्देम्बेको सचिवालयले जनाएको छ।