‘त्रिशूली ३ ‘ए’ मर्मतमा खटिएको विज्ञ टिमभित्रै थुनिएको छ,’ उद्धार गरिदिन प्राधिकरणको हारगुहार



बिजमाण्डू
२०८३ भदौ १३ गते १२:२७ | Aug 29, 2026
‘त्रिशूली ३ ‘ए’ मर्मतमा खटिएको विज्ञ टिमभित्रै थुनिएको छ,’ उद्धार गरिदिन प्राधिकरणको हारगुहार


काठमाडौं। नेपाल विद्युत प्राधिकरणद्वारा प्रवर्द्धित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाभित्र ओभरलिङमा खटिएको विज्ञ टोली नै थुनिएको सूचना बाहिर आएको छ।

Vigo
GBIME
Tata

आयोजनाको सुरुङ तथा प्राविधिक संरचना सुधारका लागि सञ्चालन भइरहेको ‘ओभरलिङ’ कार्यमा खटिएका उच्चस्तरीय विज्ञ तथा प्राविधिकहरूको टोली नै कार्यस्थलमा फसेको हो।

हरेक जलविद्युत आयोजनामा वार्षिक कार्यतालिकाअनुसार ओभरलिङ अथवा सर्भिसिङ गर्नुपर्ने हुन्छ। माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको अहिले मर्मत सम्भारको काम चलिरहेको थियो।

नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीकाअनुसार आयोजनाभित्र करिब ३५देखि ४० जना थुनिएको जानकारी आएको छ।

फसेकामध्येमा प्राधिकरणको जेनेरेसन विभागका ठूलो एक्स्पर्ट टिम परेको छ।‘हामीहरुले प्रत्यक आयोजनालाई वार्षिक सर्भिसिङ गर्नुपर्ने हुन्छ। त्यसमा एक्स्पर्टको टिम नै चाहिन्छ। माथिल्लो त्रिशूली ३ ‘ए’ पनि ‌ओभरलिङको काम चलिरहेको थियो। त्यसै गर्दा विभिन्न अन्य आयोजनाका एक्सपर्टहरुलाई पनि खटाएका थियौं। उहाँहरु भित्र फस्नु भएको छ,’ प्राधिकरणका एक अधिकृतले भने।

प्रधानमन्त्री कार्यलय स्रोतकाअनुसार उक्त कुरा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि जनाकारी गराएका थिए। ‘अुनगमनबाट फर्केपछि कार्यकारी निर्देशकज्यूले पीएमलाई भेट्नु भएको थियो। त्यस बेलामा पनि त्रिशूली ३ ‘ए’मा ठूलो एक्स्पर्ट टिम फसेको भन्दै उद्धारमा उच्च प्राथमिकता दिन आग्रह गर्नु भएको थियो,’ स्रोतले भन्यो।

आयोजना स्थलमा उत्पन्न संकट र विज्ञहरूको सुरक्षालाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणले तत्काल उद्धार तथा आवश्यक सहयोगका लागि गृह मन्त्रालय, नेपाल‍ी सेना र नेपाल सरकारसँग हारगुहार गरेको छ।

‘हामीलाई पनि सरकारलाई नै आग्रह गर्ने हो। सबै काम सेनाले गरिरहेको छ। सरकारलाई पनि हामीले पटकपटक आग्रह गर्दै आएका छौं। छिटो सुरुङ खोल्न सकेको खण्डमा उहाँहरुलाई सकुशल उद्धार गर्न सकिन्थ्यो भन्ने हामीलाई विश्वास छ,’ ती कर्मचारीले भने, ‘उहाँहरुले पनि हाइप्रायोरिटीमा राखेर काम गरिरहेका छौं भन्ने कुरा गर्नुहुन्छ। तर  जुन गतिमा उहाँहरुको उद्धार गर्न सकिन्थ्यो त्यही गतिमा काम हुन नसेकेको हो कि भन्ने आभास हामीलाई पनि भइरहेको छ।’

व्यवस्थापन र कामको सुस्त भएको भन्दै आफन्तीहरुले प्राधिकरणको केन्द्रीय कार्यालयमा आएर जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गर्दै आएका छन।

प्राधिकरणको विभिन्न आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन छन् भने निर्माण कम्पनीका गरेर ३५० बढी कर्मचारी सम्पर्कविहीन छन्।