बाढीमा मृत्यु हुनेमा हालसम्म १६५ जनाको शव भेटियो, ५७९ जना पर्यटक सम्पर्कविहीन



बिजमाण्डू
२०८३ भदौ ११ गते १०:०० | Aug 27, 2026
बाढीमा मृत्यु हुनेमा हालसम्म १६५ जनाको शव भेटियो, ५७९ जना पर्यटक सम्पर्कविहीन


काठमाडौं। भोटेकोशी बाढीमा परेर मृत्यु भएकाहरुमा हालसम्म १६५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान सवा ९ बजेसम्मको स्थितिबारे जानकारी गराउँदै हालसम्म अधिकांशको सनाखत भने हुन नसकेको जनाएको छ।

Vigo
GBIME
Tata

धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, नवलपरासी पूर्व २६, तनहुँ ९, चितवन ६४ र नवलपरासी पूर्वमा ५ वटा शव फेला परेका हुन्। घटनामा घाइतेको संख्या ७३ जना छ।

बाढी प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २८ प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रबाट ४६६ जना विदेशी र ११३ जना नेपाली गरी ५७९ जना यात्रु बेपत्ता भएका छन्। सरकारले उद्धारको कामलाई तीव्रता दिएको छ।

प्राधिकरणका अनुसार रसुवाको टिमुरे बाट १२३ जनालाई हवाई उद्धार गरिएको छ। जसमा ९४ जना नेपाली र २९ जना विदेशी नागरिक छन्। भौतिक संरचनामा समेत ठुलो क्षति भएको प्राधिकरणको रिपोर्टमा उल्लेख छ।

‘बाढीका कारण ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुंगे पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त छ,’ प्राधिकरणले भनेको छ। मानवीय तथा भौतिक क्षतिको विवरण संकलन जारी छ।