भोटेकोशी बाढीपछि उद्धार तथा खोजी कार्य तीव्र, रसुवामा २८ प्रहरी अझै सम्पर्कविहीन



बिजमाण्डू
२०८३ भदौ ११ गते ०८:३० | Aug 27, 2026
भोटेकोशी बाढीपछि उद्धार तथा खोजी कार्य तीव्र, रसुवामा २८ प्रहरी अझै सम्पर्कविहीन


काठमाडौं। भोटेकोशीमा आएको बाढीपछि नेपाल प्रहरीले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएको छ। रसुवासहित नुवाकोट, धादिङ, चितवन लगायत प्रभावित जिल्लामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

Vigo
GBIME
Tata

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ। घटनाको मुचुल्का तयार गर्ने, कानुनी सहायता दिने र विभिन्न निकायसँग समन्वय गर्ने टोली पनि परिचालन गरिएको छ।

नेपाल प्रहरीका अनुसार रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि छुट्टै टोली परिचालन गरिएको छ।

प्रहरी नायव महानिरीक्षक सुदर्शन कोइरालासहितको टोली प्रधान कार्यालयमा आपतकालीन समन्वय केन्द्र सञ्चालनका लागि परिचालन गरिएको छ। टोलीले प्रभावित जिल्लाको अवस्था र उद्धार गतिविधिबारे समग्र जानकारी संकलन तथा समन्वय गर्नेछ।

काठमाडौं उपत्यकाका अस्पतालसँग समन्वय गर्न शिक्षण अस्पताल महाराजगञ्जमा कमाण्ड पोष्ट स्थापना गरिएको छ। प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाको कमाण्डमा रहेको टोलीले अस्पताल तथा प्रहरी परिचालनबीच समन्वय गर्नेछ।

घटनास्थलमा उद्धार तथा राहतका लागि तालिम प्राप्त कुकुरसहितको टोली खटाइएको छ। प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबराको कमाण्डमा रहेको टोलीले खोजी तथा उद्धारमा सहयोग गर्नेछ।

सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजीका लागि ५ सदस्यीय टोली परिचालन गरिएको छ। टोलीले सम्बन्धित प्रहरी कर्मचारीका परिवार तथा अन्य निकायसँग आवश्यक समन्वय गर्नेछ।

शव व्यवस्थापनका लागि छुट्टै टोली परिचालन गरिएको छ। मृत्यु भएका स्वदेशी तथा विदेशी नागरिकको शव सुरक्षित राख्ने, पहिचान गर्ने र आफन्त तथा सम्बन्धित निकायसँग समन्वय गर्ने व्यवस्था मिलाइएको छ।

प्रभावित क्षेत्रमा राहत वितरणका लागि १५ सदस्यीय टोली परिचालन गरिएको छ। नुवाकोट र चितवनमा घटनास्थलको मुचुल्का तयार गर्न छुट्टाछुट्टै प्रहरी टोली पठाइएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पतालका २२ जना चिकित्सकको टोली पनि पठाइएको छ। विपद् व्यवस्थापन तालिम केन्द्र सामाखुसीबाट ३४ जना र हेटौंडास्थित बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट १५ जना दक्ष प्रहरी परिचालन भएका छन्।

उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन चारवटा ड्रोन परिचालन गरिएको छ। प्रहरीले शव पहिचानका लागि आफ्नो वेबसाइटमार्फत आवश्यक जानकारी लिन सकिने व्यवस्था गरेको जनाएको छ।

प्रभावित जिल्लामा उद्धार, खोजी र राहत कार्यको समन्वय गर्न वरिष्ठ प्रहरी अधिकृतलाई फोकल पर्सन तोकिएको छ। तनहुँ, धादिङ, नवलपरासी पूर्व, गोरखा, चितवन, रसुवा र नुवाकोटमा थप प्रहरी अधिकारी परिचालन गरिएको छ।

बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रमा ठूलो प्रभाव पारेपछि प्रहरी परिचालन बढाइएको हो। सम्पर्कविहीन प्रहरीको खोजी र प्रभावित नागरिकको उद्धारलाई प्रहरीले प्राथमिकतामा राखेको जनाएको छ।