तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माण निर्धारित लक्ष्यअनुसार हुँदै, ६२ प्रतिशत प्रगति



बिजमाण्डू
२०८३ भदौ ३ गते ०७:२२ | Aug 19, 2026
तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माण निर्धारित लक्ष्यअनुसार हुँदै, ६२ प्रतिशत प्रगति


दमौली। तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज-१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ।

Tata
GBIME

बाँध निर्माणका लागि कुल ८ लाख ५० हजार घनमिटर कङ्क्रिट भर्नुपर्नेमा हालसम्म ४ लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

आयोजनाको प्रमुख संरचनामध्ये रहेको मुख्य बाँध निर्माण निर्धारित लक्ष्यअनुसार अगाडि बढिरहेको उनले बताए। बाँधमा कङ्क्रिट राख्ने कार्य निरन्तर जारी रहेकाले केही समयभित्रै थप प्रगति हुने उनले बताए।

प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ। यो प्याकेजमा ५९ प्रतिशत प्रगति भएको छ।

मुख्य बाँध निर्माणका लागि डाँडो कटान, पहुँच सडक निर्माण, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण कार्य सम्पन्न भएको छ। मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ।

मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण कार्य सम्पन्न गर्नुका साथै दुवै किनारमा अवस्थित ग्राउटिङ टनेल ८ वटा निर्माण भएका छन्। मुख्य बाँधको कङ्क्रिटिङ २०८१ साल चैत ७ गतेदेखि सुरु भएको थियो।

बाँधको फाउन्डेसनको स्थायित्वका लागि विभिन्न ग्राउटिङ ग्यालरीमा कोर ड्रिलिङ, पानीको चाप परीक्षण, ‘कन्सोलिडेसन ग्राउटिङ’ तथा ‘कर्टेन ग्राउटिङ’ कार्य भएका छन्।

यस्तै, ढलान स्थिरीकरण तथा नदी संरक्षणका लागि सटक्रिट, वायर मेस जडान तथा ग्याबियन निर्माण कार्य पनि निरन्तर अगाडि बढाइएको भण्डारीले बताए। रासस