काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुख बनेका डोलप्रसाद अर्याल ४ महिना १२ दिनपछि आफ्नो भूमिकामा खरो रूपमा उत्रिएका छन्। ७८ दिनदेखि प्रतिपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदहरूको प्रश्नको जवाफ दिनका लागि रुलिङको माग गरे पनि अर्यालले निर्देशन दिन मानेका थिएनन्।
प्रतिनिधि सभा नियमावली २०८३ अनुसार प्रश्नोत्तरका लागि तयार नभएका बालेनले जेठ १७ गते एक्कासी संसद्मा उपस्थित भएर सांसदहरूलाई ‘प्रश्न गर्नुस्’ भनेपछि प्रतिपक्षी झन् आक्रोशित बने।

नियमावलीप्रति सभामुखको ध्यानाकर्षण गराएका प्रतिपक्षलाई अर्यालले नियमावलीमा १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था नभएको तथा पहिले नै प्रश्न दर्ता गर्ने पनि व्यवस्था नरहेको व्याख्या गरेपछि अर्यालको भूमिकामा बलियो प्रश्न उठेको थियो। अर्याल सरकारको छाया बनेको भन्दै सार्वजनिक रूपमै आलोचना भएको थियो।
आलोचनाबिच जेठ १७ गते प्रधानमन्त्री प्रश्नोत्तरमा आएपछि विपक्ष बेन्चमा पनि अलमल देखिएको थियो। रुलिङ गरिसकेकाले अर्यालले अवरोध हटाउन आग्रह गरे। तर, अवरोध जारी राख्ने कि हटाउने भन्नेमा सुरुमा विपक्षी दलमा एकमत देखिएको थिएन। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्याल र कांग्रेस सांसद अर्जुननरसिंह केसीमा पनि अलमल देखिएको थियो। तर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले बस्न संकेत गरेपछि विपक्षी दलहरूले अवरोध हटाएका थिए।
विरोधबिच भएको प्रश्नोत्तरमा शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनेपछि प्रतिपक्षीले उक्त अभिव्यक्तिमा शाहले माफी माग्नुपर्ने या संसद्को रेकर्डबाट हटाउन अर्याललाई आग्रह गरेका थिए।
प्रतिपक्षीले माग गरेका यी दुवै विषयको सुनुवाइका लागि मौन देखिएका अर्यालले सोमबार एकाएक शाहलाई प्रतिनिधि सभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि संसद्मा उपस्थित हुन रुलिङ गरे। उनले रुलिङ गर्दा अरू दलका शीर्ष नेता अनुपस्थित भए पनि रास्वपाका सभापति रवि लामिछाने उपस्थित थिए। रास्वपाका महामन्त्री विपिन आचार्यले प्रतिनिधि नियमावली पल्टाएर हेरेका थिए। लामिछानेले त्यही बेला रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीसँग समेत कुराकानी गरेका थिए।
एकाएक किन गरे रुलिङ?
अर्यालले बालेनको कार्यकक्षमै गएर पटक पटक संसद्मा आउन आग्रह गरे। तर बालेन संसद्मा आउन तयार भएनन्। प्रतिपक्षीले गरिरहेको अवरोध र रास्वपाभित्रै सरकारप्रति बढ्दो आक्रोशबारे पनि अर्यालले बालेनलाई जानकारी गराउँदै संसद्मा आएर जवाफ दिन भनेका थिए। बालेनले ‘विचार गर्छु’ भन्ने मात्र जवाफ दिए भने सभामुखसँग समेत शाहले हार्दिकतापूर्वक संवाद गर्न चाहेनन्।
बालेनले आफ्ना प्रतिनिधिमार्फत सभामुखलाई ‘आफू काम गर्न आएको सवाल-जवाफ गर्न आएको होइन’ भन्ने सन्देश भने पठाइरहे। ‘सभामुखले भेटेका बेला पनि प्रधानमन्त्रीले छोटो कुरा गर्ने र त्यसमा पनि आउँछु भन्ने जवाफ दिएनन्। त्यसकारण सभामुखज्यू त्यति खुसी हुनुहुन्नथ्यो,’ स्रोतले भन्यो।

शाहले अटेर गरेपछि अर्याल पछिल्लो समय रास्वपाका सभापति लामिछानेसँग बालेनलाई संसद्प्रति उत्तरदायी बनाउन भनेका थिए। अर्याल बालेनप्रति आक्रामक बनेको संकेत प्रतिपक्षी दलले कार्य व्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा खोल्न गरेको आग्रह तथा अर्यालले तत्काल दिएको निर्देशनबाट पनि पुष्टि हुन्छ। बालेन र उनीनिकट मन्त्री तथा सांसदहरूले कालो चस्मा लगाउने गरेको र त्यो हटाउनुपर्ने माग प्रतिपक्षीले गरेपछि सभामुखले समर्थन जनाएका थिए।
बैठकमा लगतै प्रतिपक्षी दलका प्रमुख सचेतकहरूले ‘प्रधानमन्त्रीको चस्मा कसले हटाउँछ?’ भनेपछि अर्यालले रास्वपाले जिम्मा लिन्छ भन्ने जवाफ दिएका थिए। सबै दलले कार्य व्यवस्था परामर्शमा कालो चस्मा नलगाउने, पोसाक र लोगो अनिवार्य लगाउने तथा संसद् बैठकका बेला सेयर कारोबार लगायतका गतिविधि नगर्ने सहमति जनाएपछि सभामुखले कालो चस्मा खोल्न निर्देशन दिए।
संसद्को सामान्य मर्यादा राख्न समेत सरकार तयार नभएकोबारे अर्यालले लामिछानेसँग पटक पटक संवाद गरेका थिए। रास्वपासँगको संवादपछि नै अर्यालले शाहलाई भदौ १० गते प्रश्नोत्तरका लागि समय तोकेका छन्। जसका लागि प्रश्न दर्ताको सूचित पनि सभामा गरिएको छ।
सभामुखप्रति प्रतिपक्षी दलहरूले भने खुसी जनाएका छन्। ‘भोलिदेखि हामी सदनमा नियमित जस्तो विरोधको शैली देखाउँदैनौँ। सभामुखज्यूप्रति हाम्रो विश्वास रहेको छ। सभामुखले भने अनुसारको अवस्था फेरि आएन भने विरोध जारी रहने छ,’ नेपाली कांग्रेसका सचेतक निश्कल राईले भने।
रास्वपाका सांसदलाई अर्यालको कडाइ
रास्वपाका सांसदहरूप्रति अनुदार र आफूप्रति कठोर बनेको भन्दै प्रतिपक्षी सांसदहरूले सुरुवातका प्रतिनिधि सभाका हरेक जसो बैठकमा अर्यालको आलोचना गर्ने गरेका थिए। तर, सोमबार अर्यालले रास्वपाकै सांसदहरूलाई कडाइ गरेका छन्। रास्वपाले स्थानीय तह निर्वाचन उम्मेदवारका लागि सोमवारदेखि सुरु गर्न लागेका क्यान्डिडेट क्लबारे आकस्मिक समयमा बोल्न खोजेका सांसद सुलभ खरेललाई बिचमै रोकेका थिए।
आकस्मिक समयको विषय बाहिर गएकोमा अर्याल आक्रोशित बनेका थिए। त्यस्तै, रास्वपाकी अर्की सांसद इन्दिरा राना मगरलाई पनि सभामुखले सचेत गराएका थिए। राना मगरले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि बोल्ने क्रममा विषयबाहिर गएर आक्रोश व्यक्त गरेपछि अर्यालले रोक्न खोजे। तर उनी रोकिन भने मानिनन्।
रास्वापाकै सांसद आशिका तामाङको गतिविधिप्रति पनि अर्यालले असन्तुष्टि जनाए। उनले सभा सुरु हुनासाथ आफूले बोल्न पाउनुपर्ने भन्दै उठेपछि अर्यालले बस्न आग्रह गरे। तर, तामाङले मानिनन्। त्यसपछि अर्यालले मर्यादा राख्न भने। ‘माननीय सांसद आशिका तामाङ यो प्रतिनिधि सभा हो। यो सभाको मर्यादा कायम राख्नुस्,’ उनले भनेका थिए।









