काठमाडौं। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको नाडा अटो शोमा १२३ वटा सवारी ब्रान्डका स्टल राखिने भएको छ।
प्रदर्शनीमा चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनसँगै टायर, ब्याट्री, चार्जिङ, स्पेयर पार्ट्स तथा अटोमोबाइल प्रविधिसँग सम्बन्धित कम्पनीले समेत व्यापक सहभागिता जनाउँदैछन्। अटो क्षेत्रको समग्र इकोसिस्टम अटो शोमा देखिने नाडाले बताएको छ।
नाडाका अनुसार प्यासेन्जर गाडीका २३, कमर्सियल गाडीका १७, दुई पाङ्ग्रेका १३ र स्पेयर पार्टसका ७० वटा स्टल रहने छन्।
यसबाहेक बैंक, वित्तीय संस्था र बीमा कम्पनी तथा अन्य गरी २०० वटा स्टल हुने नाडाले जनाएको छ। अटोमोबाइल क्षेत्रका विभिन्न विधालाई एउटै छानामुनि समेटेर १८औं नाडा अटो शो भदौ ९ गतेदेखि हुँदैछ।
प्रदर्शनीमा चारपाङ्ग्रे सवारीसाधनतर्फ आयोन, एभलर, बीएडब्लू नेपाल, बीवाइडी, चांगन, चेरी, डीपल, डीएफएसके, डोङफेङ, एकाटा मोटर्स, फारिजोन, फेइदी, फोटोन, जीली, जीडब्ल्यूएम, हिरो, हाइगर, आईकार, जेटोर, जीनबेई, जेएमइभी, कामा, कवानई अटो, लिपमोटर, एमजी, मेटा ईभी, एमहिरो, नाम्मी, नेभो, प्रोटोन, रिडारा, स्कोडा, स्काइवेल, स्काइवर्थ, सोकोन, सुजुकी, टाटा इभी, टाटा मोटर्स कमर्सियल भेहिकल्सलगायत ब्रान्ड सहभागी हुनेछन्।
दुईपाङ्ग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यामाहा, एम्पियर, अप्रियला, सिप्रदी यात्री, भिडा, जोन्सेन, रिभोल्टलगायत ब्रान्डले नाडा अटो शोमा स्टल राख्दैछन्। पेट्रोलियम इन्धनबाट चल्ने मोटरसाइकल तथा स्कुटरसँगै विद्युतीय दुईपाङ्ग्रे सवारीको विकल्प पनि प्रदर्शनीमा बलियो रूपमा देखिनेछ।
अटो शोमा नबिल, एनआईसी एशिया, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, प्रभु, कुमारी, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंक तथा महालक्ष्मी विकास बैंक, गुराँस फाइनान्स तथा शिखर इन्स्योरेन्स जस्ता वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ।
एपोलो टायर्स, सीएट, गल्फ, मोबिल, मिचेलिन, राल्सन, असियन ब्याट्री, टाटा ब्याट्री, एक्साइडसँग सम्बन्धित उत्पादन तथा सेवा, चार्जिङ कम्पनी, हेल्मेट ब्रान्ड, सवारी ट्र्याकिङ तथा प्रविधि कम्पनी, स्पेयर पार्ट्स र अटो कम्पोनेन्टका व्यवसायी समेत प्रदर्शनीमा सहभागी हुने नाडाले जनाएको छ।
नाडाको स्वर्ण जयन्ती संस्करण भएकाले यसपटकको अटो शोमा ब्रान्डको संख्या र विविधता दुवै बढ्ने आयोजकको भनाइ छ। ‘थप ब्रान्ड, थप विकल्प’ भन्ने अवधारणासहित आयोजना हुने अटो शोले नेपाली अटोमोबाइल बजारमा बढ्दै गएको प्रतिस्पर्धा, नयाँ प्रविधि र विद्युतीय सवारीको विस्तारलाई समेत प्रतिबिम्बित गर्नेछ,’ नाडाले भनेको छ।
नाडाले अटो शोलाई अटोमोबाइल क्षेत्रका विभिन्न पक्षबीचको ‘गोल्डेन सिनर्जी’ प्रदर्शन गर्ने महत्वपूर्ण मञ्चका रुपमा लिएको छ।

नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नाडा अटो शोले अटोमोबाइल क्षेत्रमा एउटा इकोसिस्टमका रुपमा काम गर्ने बताए। उनले नाडा देशको आर्थिक तथा औद्योगिक विकास इतिहाससँग जोडिएको भन्दै यसपालिको अटो शोकव ठूलो महत्त्व रहेको बताए।
‘१८औं नाडा अटो शो केवल नाडाका लागि मात्र नभएर नेपालको समग्र निजी क्षेत्र र अटोमोबाइल उद्योगका लागि एउटा विशेष कोशेढुङ्गा हो,’ अध्यक्ष उप्रेतीले भने, ‘यस वर्षको नाडा अटो शो नेपालको अटोमोबाइल क्षेत्रमा हुन गइरहेको द्रुत परिवर्तन, विशेष गरी विद्युतीय सवारी साधनको आधुनिक प्रविधि, दिगो गतिशीलता र विश्वस्तरीय नवीनतम उत्पादनलाई एकै छतमुनि प्रदर्शन गर्ने एउटा भव्य मञ्च हुनेछ। नाडा अटो शो केवल अन्तर्राष्ट्रिय ब्रान्डको मात्र जमघट होइन, यो नेपालमा आफ्नै औद्योगिक सम्भावनाको जीवन्त ऐना पनि हो।’
यस पटकको प्रदर्शनीमा नेपालमै उत्पादन भएको यात्री, नेपालमै एसेम्बल भएका विभिन्न स्कुटर, बाइक, नेपालमै उत्पादन भएका टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पार्ट्स, हेलमेट लगायत विभिन्न अटो कम्पोनेन्टलाई पनि नाडाले मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्न लागेको छ।
‘यसले नेपालको अटोमोबाइल क्षेत्र अब केवल आयातमा मात्र निर्भर नभएको र बिस्तारै हामी आत्मनिर्भरतातर्फ बढ्दै गएको र स्वदेशी उद्योगतर्फ ठोस रूपमा अघि बढिरहेको भन्ने स्पष्ट सन्देश दिन्छ,’ अध्यक्ष उप्रेतीले भने।
अटो शोले शिथिल बनेको बजारलाई अझ चलायमान बनाउन, उपभोक्तामा उत्साह भर्न र देशको अर्थतन्त्रलाई गति दिन महत्वपूर्ण योगदान पुर्याउने नाडाको विश्वास छ।










