काठमाडौं। निजी क्षेत्रले बनाउन लागेको सबैभन्दा ठूलो तिला-१ जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) भएको छ।
४४० मेगावाट क्षमताको यो आयोजनामा एनएमबि बैंकसहित वित्तीय संस्था ४४ अर्ब रुपैयाँ लगानी गर्न सहमत भएका छन्। प्रवर्धक कम्पनी एससी पावर र बैंकहरुबीच मंगलबार र्याडिसन होटलमा लगानी सम्झौतामा हस्ताक्षर हुँदैछ।
नेपाल विद्युत प्राधिकरणले तिला-१ आयोजनाको २९८ मेगावाटको मात्रै विद्युत खरिद सम्झौता(पीपीए) गरेकाले वित्तीय व्यवस्थापन त्यही क्षमताको भएको हो। २९८ मेगावाट क्षमताको यो आयोजना बनाउन ५८ अर्ब लाग्नेछ। ठूलो आयोजना भएकाले वित्तीय व्यवस्थापन गर्न केही समय लागेको थियो।
आयोजनामा प्रभु, ग्लोबल आईएमई, हिमालयन, राष्ट्रिय वाणिज्य, एनआईसी एसिया, कृषि विकास र नेपाल इन्फ्रास्ट्रक्चर बैंक तथा मुक्तिनाथ विकास, गरिमा विकास र शाइन डेभलपमेन्ट बैंकले लगानी गर्दैछन्।
यसबाहेक विभिन्न इन्भेष्टमेन्ट कम्पनीले पनि लगानी गर्दैछन्। केही जलविद्युत कम्पनीले समेत लगानीको निर्णय गरिसकेका छन्।
आयोजनामा प्रवर्धकले १४ अर्ब इक्विटी लगानी गर्नेछन्। साहस ऊर्जा लिमिटेडलाई पनि उछिन्दै एससी पावरले निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो आयोजना निर्माण गर्न लागेको हो। साहसले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्दैछ। यो कम्पनीले ८६ मेगावाटको सोलुखोला दूधकोसी निर्माण गरिसकेको छ।
प्राधिकरणसँग पीपीए नभएको १४२ मेगावाट कसरी बन्छ?
एससी पावरले आयोजनाको सर्वे लाइसेन्स पाउँदा नै १४२ मेगावाट भारत निकासी गर्ने प्रतिवद्धता गरेको थियो। त्यही प्रतिवद्धता अनुसार प्राधिकरणसँग २९८ मेगावाटको मात्रै पीपीए भएको हो।
निजी क्षेत्रले विद्युत व्यापारको लाइसेन्स पाउने र त्यही कम्पनीमार्फत भारत निकासी गर्ने उद्देश्यसहित एससीले यो आयोजना लिएको हो। कम्पनीका अनुसार यो आयोजनाको हेडवर्क्स र टनेल ४४० मेगावाटकै हुनेछ।
अहिले २९८ मेगावाटको वित्तीय व्यवस्थापनसहित निर्माण अघि बढाउने र निजी क्षेत्रले लाइसेन्स पाउनेबित्तिकै ४४० मेगावाटमै उत्पादन गरेर बेच्ने लक्ष्य छ। ४४० मेगावाट क्षमताको आयोजना निर्माणका लागि भने ६८ अर्ब लाग्ने अनुमान गरिएको छ। एससी मात्रै होइन, अरु केही कम्पनीले समेत भारत निकासी गर्ने उद्देश्यसहित आयोजना निर्माण गरिरहेका छन्।
‘निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिनका लागि दबाब दिनुका पछाडिको कारण यही हो। विद्युत प्राधिकरणले मात्रै बिजुली किन्छ भनेर बस्यो भने आयोजना बनाउन सम्भव छैन,’ एक प्रवर्धकले बिजमाण्डूसँग भने, ‘जतिसक्दो छिटो लाइसेन्स दियो, त्यति छिटो आयोजना बनेर विदेश बिजुली निकासी हुन्छ। वैदेशिक मुद्रा आर्जन हुन थाल्छ।’
सुशनको छलाङ
सहकारीबाट ऊर्जामा लगानी गर्न होमिएकी सुशन कर्मचार्यले यो आयोजना लिड गर्दैछिन्। एससी पावर कम्पनीसँग उनले यो आयोजना किनेर लिड गरिरहेकी छिन्। कम्पनीका सुरुका लगानीकर्ता हरिशचन्द्र शाहबाट सुसनले आयोजना किनेकी हुन्।
सुशनले ५ मेगावाटको इस्टर्न हाइड्रोपावर, ७.२७ मेगावाटको याम्बलिङ र २४ मेगावाटको मादमे खोला निर्माण गरेर बिजुली बालिसकेकी छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को उपाध्यक्ष समेत रहेकी सुशनले स्वदेशी लगानीमा निर्माण हुन लागेको सबैभन्दा ठूलो परियोजनामा वित्तीय व्यवस्थापन गर्न सफल भएकी छन्।










