कुमारी बैंकलाई ३ वर्षमा रामचन्द्रले गराए ‘टर्न एराउन्ड’, ‘हामी थलिएका थियौं, सानो भने थिएनौं’



बिजमाण्डू
२०८३ साउन २८ गते ०६:१५ | Aug 13, 2026
कुमारी बैंकलाई ३ वर्षमा रामचन्द्रले गराए ‘टर्न एराउन्ड’, ‘हामी थलिएका थियौं, सानो भने थिएनौं’


काठमाडौं। पोहोर २ अर्बभन्दा कम नाफा गरेको कुमारी बैंकले यसपालि सबैलाई चकित पार्दै सवा ७ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ।

Tata
GBIME

ठूलो आकारका ग्लोबल आइएमई, एभरेष्ट, नेपाल एसबिआई जस्ता बैंकलाई निक्कै पछाडि पार्दै ४ वर्षदेखि लाभांश शून्यतामा रहेको कुमारीले ७ अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको हो। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार धेरै नाफा गर्नेमा नबिल पछाडि कुमारी दोस्रो बैंक बनेको छ।

३ वर्षदेखि कुमारी बैंकको ऋणको आकार बढेको छैन। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँगको मर्जर, उच्च व्यवस्थापनलाई भएको कारबाही र बढ्दो खराब ऋणका कारण थलिएको कुमारी बैंक यसपालि लाभांश दिने अवस्थामा पुगेको छ।

‘३ वर्षयता हामीले डुबेको ऋण उठाउनमै धेरै प्रयत्न गर्‍यौं। लगभग अब कुमारी बैंकमा भएको रोग सकिएको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बिजमाण्डूसँग भने, ‘राज्यको आयकर नीतिका साथै ३ वर्षयता पुनर्लगानी भएका ऋणलाई असल वर्गमा राख्न सफल हुँदा नाफामा सुधार भएको हो।’

प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल

आयकर ऐनको दफा ५९ (१क) अनुसार यदि कुनै बैंकको कुल नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) र गैरबैंकिङ सम्पत्ति ५ प्रतिशत नाघ्यो भने त्यो नाघेको रकममा ३० प्रतिशत कर तिर्नुपर्छ।

ऋण नउठेर प्रोभिजनिङ र गैरबैंकिङ सम्पत्ति बढिरहेको कुमारीले २ वर्षअघि ४६ लाख रुपैयाँ नाफा गर्‍यो। नाफा गरेबापत सरकारको खातामा भने एक अर्ब ६ करोड रुपैयाँ राजस्व जम्मा गर्‍यो। अझ मर्जर तथा प्राप्तिको समेत गरेर थप ५८ करोड गरी कुल एक अर्ब ६४ करोड रुपैयाँ कर राजस्व बुझायो।

गत वर्ष पनि बैंकले एक अर्ब ८१ करोड नाफा गरेको थियो। त्यति नाफाका लागि उसले ४ अर्ब ५६ करोड रुपैयाँ कर बुझाउनु परेको थियो।

यसपालि बैंकको डुबेको ऋण राम्रैसँग उठ्यो। साथै, नियमित आम्दानीमा पनि सुधार भयो। बैंकले सञ्चालन खर्च घटाउँदै लग्यो। शाखा संख्या घटायो, प्रणालीलाई अटोमेसनमा लग्यो।

पोहोर परार नै नभएको नाफाका लागि कर तिरिसकेका कारण यसपालि नाफा बढ्दा थप कर तिर्नु परेन। यसपालि बैंकले ७ अर्ब ३८ करोड नाफा गर्दा २ अर्ब ९२ करोड रुपैयाँ मात्र कर तिर्नु पर्‍यो।

‘यी सबै कारणले हामीले राम्रो नाफा गर्न सक्यौं,’ खनालले भने, ‘आउँदो केही वर्ष पनि हाम्रो नाफा दिगो हुने बाटोमा छ।’

उनका अनुसार बैंकले गत वर्षसम्म २६ अर्ब रुपैयाँ नोक्सानी व्यवस्थापन गरिसकेको छ। यसको कर सरकारलाई बुझाइ सकेको छ। त्यसो हुँदा आगामी दिनमा बैंकलाई करको भार खासै पर्दैन।

सँगसँगै बैंकले पुँजी कोष र पुँजी पर्याप्तता अनुपातमा पनि सुधार गरेको छ। यसले ३ वर्षदेखि ३०२ अर्बको ऋणमा सीमित भएको बैंकलाई अर्को ५० अर्ब रुपैयाँ ऋण विस्तार गर्ने ठाउँ दिएको छ।

सञ्चालनमा रहेका २० मध्ये व्यापार र पुँजी लगायत हिसाबले ५ भित्र रहेको कुमारीले यस वर्षदेखि नै लाभांश दिने रणनीति बनाएको छ। अर्को वर्षसम्म पुग्दा ८ देखि १० प्रतिशत लाभांश दिन सक्ने अवस्थामा बैंक पुग्नेछ।

‘व्यापार बढाउने प्रशस्त ठाउँ भयो अब। प्रोभिनजिङ लगभग गरिसकिएकाले अब त्यो ऋण उठ्दा फिर्ता हुन्छ। यस बापतको कर तिरिसकेकाले आगामी दिनमा नयाँ व्यापारबाहेक करको भार पर्दैन,’ उनले भने, ‘डिबेञ्चर परिपक्व हुँदा भुक्तानी गर्न समानुपातिक रुपमा छुट्याइने रकमको भार पनि दिनदिनै कम हुँदै जान्छ। यसले गर्दा लाभांश दर बढ्दै जानेछ।’

बैंकसँग कुल ९ अर्बको डिबेञ्चर छ। डिबेञ्चरहरू २०८६ देखि परिपक्व हुँदै जाने छन्।

‘पोर्टफोलियो, पुँजी, व्यापार सबै हिसाबले हामी ठूलो बैंक हौं,’ उनले सुनाए, ‘बीचमा केही वर्ष थलिएका थियौं। अब सबल भएका छौं।’

नाफा बढेसँगै बैंकको प्रति सेयर आम्दानी ६.९४ रुपैयाँबाट बढेर २८.१७ रुपैयाँ पुगेको छ। प्राथमिक पुँजीकोषमा राम्रो सुधार देखिएको छ। असार मसान्तसम्म यस्तो अनुपात ९.९२ प्रतिशत पुगेको छ। पुँजी पर्याप्तता अनुपात पनि १३.५५ प्रतिशत पुगेको छ।

बैंकको वितरणयोग्य नाफा ७९ करोड १६ करोड रुपैयाँ छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक थियो। वितरणयोग्य नाफा हेर्दा बैंकको लाभांश क्षमता ३.०२ प्रतिशत देखिन्छ।