गगन थापालाई खुलापत्र, ‘म नेपाल साँच्चिकै हाँसेको हेर्न चाहन्छु’



बिजमाण्डू
२०८३ साउन २१ गते २१:५० | Aug 6, 2026
गगन थापालाई खुलापत्र, ‘म नेपाल साँच्चिकै हाँसेको हेर्न चाहन्छु’


  • प्रकाश तिवारी

प्रिय गगन, सप्रेम जय नेपाल।

Tata
GBIME

यो पत्र कुनै दलको विचारधाराभित्र सीमित रहेर लेखिएको प्रशंसा होइन, न कुनै साँघुरो चारकिल्लाभित्र उभिएर पोखिएको गुनासो नै हो। यी अक्षर एक स्थानीय जनप्रतिनिधिको हैसियतले यस देशका अति दुर्गम बस्तीमा बस्ने नागरिकहरूले भोगिरहेको अभाव, पसिनाको मूल्यहीनता र दशकौँदेखि मनमा थुप्रिएका विकासका ठूला तर अधुरा आकाङ्क्षाहरूको चाङबाट थोरै टिपेर तिमीसमक्ष राखिएको खुला हृदयको रक्ताक्षर हुन्।

पछिल्लो समय चियापसलका बेसुरा गफदेखि सामाजिक सञ्जालका भित्ताहरूसम्म, पुराना पार्टीका अड्डादेखि सडकका चौतारीहरूसम्म तिम्रो विशेष महाधिवेशन, वैचारिक बहस र सुधारको यो साहसमाथि चारैतिरबाट प्रहार भइरहेको छ। धेरैका लागि तिम्रो हार नै जिन्दगीको अन्तिम लक्ष्य र सबैभन्दा ठूलो उपलब्धि बनेको छ। कहिलेकाहीँ त लाग्छ, तिम्रो हारमा उनीहरूले आफ्नो जीवनकै सबैभन्दा ठूलो जीतको अनुभूति गर्छन्। मनमा त यति पनि आउँछ, यदि त्यसैले उनीहरूलाई सन्तुष्टि मिल्छ भने तिमी हारेरै उनीहरूलाई जिताइदेऊ। तर एउटा अटल सत्य के हो भने, तिमी हार्दै गर्दा उनीहरू मात्र जित्दैनन्, देश पनि हार्छ।

भगवान् आएर कुनै जुवाडेलाई, “ए जुवाडे, माग, तिमीलाई के चाहियो?” भन्नुभयो भने उसले “तीनवटा ल्याम्फे चाहियो, भगवान्” भनेजस्तै आजको हाम्रो राजनीतिक मनोविज्ञान पनि त्यस्तै देखिन्छ। धेरैलाई लाग्छ, गगनले कांग्रेसबाट सबै लुट्यो र उनीहरूको भाग खोस्यो। उनीहरूलाई भगवान् स्वयं आएर “के चाहियो?” भनेर सोध्नुभयो भने पनि समृद्ध राष्ट्र र सुखी नागरिक माग्नुको साटो “गगन थापाको पतन होस्” वा “गगन सकियोस्” भन्ने कामना गर्ने मनोवृत्तिको निर्माण गरिएको छ। यही मानसिकता आजको राजनीतिक विडम्बना हो।

यसो भन्दै गर्दा देशमा प्रजातन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा सङ्घर्ष गर्ने र आफ्नो अमूल्य जीवनका वर्षहरू समर्पण गर्ने अग्रज नेताहरूको योगदानलाई अवमूल्यन गर्न खोजिएको होइन। उहाँहरूले आफ्नो समयको आवश्यकता अनुसार जे जति योगदान दिनुभयो, त्यसप्रति हामी सदैव कृतज्ञ छौँ। उहाँहरूबाट कमजोरी भएका थिए, गगन थापाबाट पनि कमजोरीहरू भएकै छैनन् भन्ने दाबी पनि गर्न सकिँदैन। तर आज देश र पार्टीको वास्तविक आवश्यकता के हो भन्ने नबुझी केवल गगनलाई समाप्त पार्ने अभियानमा लाग्नुको कुनै राजनीतिक औचित्य देखिँदैन।

यो भन्दै गर्दा, गगन थापाको यो टिमले पनि सबैलाई नजरअन्दाज गर्न मिल्दैन। परिवर्तनको शङ्खघोष र पार्टी सुदृढीकरणका लागि तिमी र तिम्रो टिमले चालेका कतिपय कदमले तत्कालीन अवस्थामा प्रतिनिधिसभामा कांग्रेसलाई मत दिने मतदाताको सङ्ख्यामा अपेक्षाकृत वृद्धि हुन नसकेकै हो। तथापि, त्यो अभियान केवल कांग्रेसको आकार बढाउन वा बिपीको समाजवादी चिन्तनलाई सत्तासम्म पुर्‍याउन मात्र थिएन। त्यो त राष्ट्रियता जोगाउन, जनताको अधिकार सुरक्षित गर्न र लोकतान्त्रिक पद्धतिलाई जीवित राख्न गरिएको सङ्घर्ष थियो, जसमा सम्झौताको कुनै ठाउँ थिएन, छैन र हुनु पनि हुँदैन।

त्यसैले गगन, तिमी हार्दै गर्दा केवल एउटा व्यक्ति हार्दैन। देश हार्छ, प्रजातन्त्र हार्छ र समृद्ध नेपाल बनाउने जनताको सामूहिक आकाङ्क्षा हार्छ। राजनीतिक चेतना, संस्थागत अनुभव र राज्य सञ्चालनको गहिरो बुझाइ नभएका मानिसहरू सत्तामा पुग्दा राज्यका निकायहरू कसरी खेलौनामा परिणत हुन्छन्, नागरिकको विश्वास कसरी क्षय हुन्छ र एउटा राष्ट्र कति छिटो दिशाहीन बन्न सक्छ भन्ने कुरा पछिल्ला सय–डेढ सय दिनले जनतालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा महसुस गराइसकेको छ।

राज्य चलाउनु फेसबुकमा स्टाटस लेख्नु वा भीडमा हात हल्लाउनु मात्र होइन रहेछ। अनुभव, प्रणालीको गहिरो बुझाइ, धैर्य र दूरदृष्टि बिना सत्ताको शिखरमा पुगेको नेतृत्वले देशलाई कहाँ पुर्‍याउँछ भन्ने कुरा आजको तथाकथित “बलियो जनादेश” प्राप्त सरकारले हामी सबैलाई नाङ्गो आँखाले देखाइरहेको छ। सपना बेचेर चुनाव जित्न सकिन्छ, तर सपना पूरा गर्न माटोसँगै हिँड्नुपर्छ, जनताको पसिनासँगै पसिना बगाउनुपर्छ र उनीहरूको आँसुसँगै रातभर जागा बस्नुपर्छ।

सत्तामा पुग्नु मात्र उपलब्धि होइन। सत्तामा पुगेर दूरदराजका दुःखी, पीडित र उत्पीडित नागरिकले राज्यको उपस्थिति प्रत्यक्ष महसुस गर्ने गरी काम गर्नु, गरिब र विपन्न वर्गलाई “राज्य मेरो पनि हो” भन्ने अनुभूति दिलाउनु मात्र पनि पर्याप्त हुँदैन। आजको प्रतिस्पर्धात्मक विश्वमा अन्य राष्ट्रहरूले जसरी छलाङ मारिरहेका छन्, त्यसरी नै आर्थिक समृद्धि, सुशासन, प्रविधि, शिक्षा र अवसरका क्षेत्रमा अग्रसर हुँदै आफ्ना नागरिकले गर्व गर्न लायक राष्ट्र निर्माण गर्नु नै नेतृत्वको सबैभन्दा ठूलो उपलब्धि हो। देश केवल तीनजनाको टोलीले बन्दैन, सबैलाई साथमा लिएर, सबैको विश्वास जितेर बनाइन्छ। तिमीले प्रमाणित गर्नुपर्नेछ।

नेपाली जनताले विभिन्न कालखण्डमा फरक फरक जनादेश दिए, अनेकौँ अनुहारलाई सत्ताको नेतृत्वमा पुर्‍याए, तर जनताले आफ्नो जीवनमा परिवर्तनको वास्तविक अनुभूति गर्न सकेनन्। त्यसैले आज पनि जनताको मनमा एउटा अन्तिम आश बाँकी, देशले जित्ने आश। त्यसलाई पूरा गर्न तिमीले आफूलाई जुनसुकै सङ्घर्षका लागि तयार राख्नैपर्छ।

गगन, तिमीसँग पुरानाको अनुभव छ, नयाँ पुस्ताको ऊर्जा छ। तिमीसँग अग्रज पुस्ताबाट सिकेको परिपक्वता छ, आफ्नै पुस्ताले बोकेको परिवर्तनको साहस छ। तिमीसँग शालीनता छ, धैर्य छ, सङ्घर्षका कठिन यात्राले खारिएको दृढता छ र लोकतान्त्रिक प्रणालीप्रतिको गहिरो विश्वास छ। अब यी सबैलाई जनताको जीवनमा प्रत्यक्ष परिणामका रूपमा रूपान्तरण गर्ने जिम्मेवारी तिम्रो काँधमा छ।

त्यसैले जनताको मुहारमा मुस्कान फर्काउने तयारी गर। किनभने, केवल कसैको गीतमा मात्र सीमित राख्न होइन, “म नेपाल साँच्चिकै हाँसेको हेर्न चाहन्छु!”