काठमाडौं। लगानी बोर्डले पहिलो पटक महिला प्रमुख कार्यकारी अधिकृत (सीइओ) पाएको छ।
सरकारले याङ्की उक्याबलाई बोर्डको सीइओ नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्याबलाई बोर्डको सीइओ नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बोर्डमा यसअघि राधेश पन्त, महाप्रसाद अधिकारी, सुशील भट्ट र सुशील ज्ञवालीले सीइओका रुपमा काम गरेका थिए।
सरकारले गत वैशाख तेस्रो साता ल्याएको अध्यादेशका कारण ज्ञवाली पदमुक्त भएपछि सरकारले नयाँ सीइओ नियुक्ति प्रक्रिया अगाडि बढाएको थियो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयोजक रहेको समितिले सर्टलिस्टमा परेका ८ जनालाई अन्तर्वार्तामा बोलाएर उक्याबका अलावा मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो।
स्रोतका अनुसार अर्थमन्त्री वाग्ले सुरुदेखि नै उक्याबप्रति पोजेटिभ थिए। विभिन्न दातृ संस्थामा काम गरेको र पढाइमा पनि अब्बल भएकाले वाग्ले सकारात्मक थिए।

अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति विषयमा स्नातकोत्तर गरेकी उक्याब विकास अर्थशास्त्री हुन्। उनले यसअघि लगानी बोर्डमै परामर्शदाताका रूपमा काम गरेकी थिइन्। त्यतिखेर ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीसम्बन्धी परियोजनाका परामर्शमा उनको संलग्नता थियो।
उनी सार्वजनिक नीति, दिगो विकास, आर्थिक विकास तथा लगानी विशेषज्ञका रूपमा परिचित छन्। उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को नेपालस्थित कार्यालयमा विकास अर्थशास्त्रीका रुपमा काम गरिसकेकी छन्।









