पाँच करोडमाथिको कारोबार गर्ने १४ हजार करदाताले अब एक्सलमा खरिद-बिक्री खाता बुझाउनुपर्ने

बिजमाण्डू
२०७८ साउन २९ गते १८:२५ | Aug 13, 2021
पाँच करोडमाथिको कारोबार गर्ने १४ हजार करदाताले अब एक्सलमा खरिद-बिक्री खाता बुझाउनुपर्ने


काठमाडौं। पाँच करोड रुपैयाँभन्दा धेरैको कारोबार गर्ने व्यवसायीले कम्प्युटर प्रणालीअन्तर्गत एक्सलमा खरिद तथा बिक्री खाता बुझाउनु पर्ने भएको छ। आर्थिक अध्यादेश २०७८ ले कर अधिकृतले गर्दै आएको प्रमाणीकरण व्यावसायी आफैंले गर्ने भनेपछि सो व्यवस्था लागू गरिएको हो। 

Vigo
GBIME
Tata

यसका लागि पहिलो चरणमा आन्तरिक राजस्व विभागले १४ हजार ८० वटा करदातालाई छनोट गरेको छ। अब यी करदाताले कर तथा बिजकको विवरण बुझाउनुअघि एक्सलमा खरिद-बिक्री खाता बुझाउनुपर्ने हुन्छ। 

यसअघि बिक्री खाता म्यानुअल रुपमा प्रयोग गर्दै आएको थियो। यो खातालाई कर अधिकृतले प्रमाणिकरण गर्दै आएका थिए। अब यो व्यवस्था खारेज गरिएको छ। अब व्यवसायीले कम्प्युटरमा रहेको एक्सलको प्रति नै फोटोकपी गरी प्रमाणित गरेर राख्न सक्नेछन्।

खरिद खाता र बिक्री खाता एक्सलमा परिणत गरी पठाउनु पर्नेछ। कर अधिकृतले प्रमाणित गरेको खाताले अब काम गर्ने छैन। यो अडिट गर्ने बेलामा मात्रै हेरिन्थ्यो। आर्थिक ऐन २०७८ ले कर अधिकृतले खरिद तथा बिक्री खाता प्रमाणित गर्ने व्यवस्थालाई खारेज गरेको हो।

अब करदाता आफैंले खरिद तथा बिक्री खाता प्रमाणित गर्ने व्यवस्था राखिएको छ। जसमा मूल्य अभिवृद्धि कर (भ्याट) मा २ लाख करदाता दर्ता भएका छन्। यी करदाताले सबैले खरिद बिक्री खाता एक्सलमा बनाउनु पर्छ। 

यस्तै नियमावलीले 'विद्युतीय बिल बिजक लिएका र आन्तरिक राजस्व विभागले तोकेको करदाताले  खरिद खाता बिक्री खाताको एक्सलमा बुझाउनु पर्नेछ' भनि उल्लेख छ। जसअनुसार विभागले गत आर्थिक वर्ष २०७७/०७८ मा पाँच करोडभन्दा धेरै कारोबार गर्ने करदाताले खरिद बिक्री खाता कम्प्युटर प्रणाली अनुसार एक्सलमा बुझाउनु पर्नेछ।

यसरी विभागले १४ हजार ८० करदातालाई समावेश गरेको छ। यी करदाताले अब प्रत्येक महिना कर तथा विवरण बुझाउनुअघि एक्सलमा खरिद तथा बिक्री खाता बुझाउनु पर्नेछ।