स्टारलिंक नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न इच्छुक छ : अमेरिकी उपविदेशमन्त्री रोजर्स

बिजमाण्डू
२०८३ जेठ १८ गते १९:४३ | Jun 1, 2026
स्टारलिंक नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न इच्छुक छ : अमेरिकी उपविदेशमन्त्री रोजर्स


काठमाडौं। सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा रोजर्सले आफ्नो मुलुकका निजी कम्पनी नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएकी छन्।

Vigo
GBIME
Tata

उनले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँगको शिष्टाचार भेटका क्रममा लगानीको वातावरण सुधार गरे अमेरिकी कम्पनी नेपालमा आउन इच्छुक रहेको बताएकी हुन्।

विश्वकै धनाढ्य इलन मस्कको कम्पनी स्टारलिंकले डेढ वर्षदेखि नेपालमा आउन चाहेको सन्दर्भमा अमेरिकी उपविदेशमन्त्रीले लगानीमैत्री वातावरण बनाउन भनेकी हुन्।

रोजर्सले नेपालले सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा लगानीमैत्री वातावरण थप सुदृढ बनाउन सके अमेरिकी निजी क्षेत्रको लगानी आकर्षित हुनसक्ने समेत बताएको सञ्चार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी उपमन्त्रीले सूचना प्रविधि र दूरसञ्चार क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न आफूहरु इच्छुक रहेको बताइन्।

सूचना तथा सञ्चारमन्त्री तिमिल्सिनाले डिजिटल पूर्वाधार, सूचना प्रविधि र दूरसञ्चार लगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधार गर्ने विषय सरकारको प्राथमिकतामा रहेको जवाफ दिएका थिए।