प्राधिकरणका लागि वर्षा बन्यो वरदान, बिजुली निर्यातबाट साढे २० अर्ब आम्दानी

जनक वली
२०८३ जेठ १४ गते ०९:४६ | May 28, 2026
प्राधिकरणका लागि वर्षा बन्यो वरदान, बिजुली निर्यातबाट साढे २० अर्ब आम्दानी


काठमाडौं। सुक्खायाममा निरन्तरजसो वर्षा नेपाल विद्युत प्राधिकरणका लागि वरदान साबित भएको छ। सुक्खायाममा पनि वर्षाका कारण भारतमा विद्युत बिक्रीबापतको आम्दानी एक वर्षमा सवा सात अर्ब रुपैयाँले बढेको छ।

GBIME
Tata

प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्म २ अर्ब ९५ करोड १९ लाख युनिट विद्युत निर्यात गरी २० अर्ब ४१ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ।

पोहोर सोही अवधिमा प्राधिकरणले १ अर्ब ७७ करोड ५१ लाख युनिट विद्युत निर्यात गरी प्राधिकरणले १३ अर्ब १५ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको थियो।

उत्पादन बढ्दा घट्यो आयात

निर्यातमा उल्लेखनीय वृद्धि हुँदा प्राधिकरण आयात घटाउन सफल भएको छ। प्राधिकरणले गत साउनदेखि चैतसम्म भारतसँग ९४ करोड ८१ लाख युनिट विद्युत ७ अर्ब ३९ करोड रुपैयाँमा किनेको छ।

पोहोर यसै अवधिमा प्राधिकरणले ९१ करोड ६१ लाख युनिट विद्युत ९ अर्ब ४२ करोड ९२ लाख रुपैयाँमा किनेको थियो।

हिउँदमा निरन्तर पानी परेका कारण विद्युत उत्पादन खासै धेरै नघटेकाले पोहोरको तुलनामा निर्यातमा उल्लेखनीय सुधार भएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख चन्दनकुमार घोषका अनुसार यसपालि चैत र वैशाखमा पिक समयमा २६ सय मेगावाट हाराहारी विद्युत उत्पादन भएको छ। गत वर्ष २ हजार मेगावाट हाराहारीमा सीमित थियो।

‘हिउँद सामान्यतया विद्युत उत्पादन घट्ने समय हो। त्यसैले हामीले माग धान्नका लागि भारतबाट धेरै आयात गर्नुपर्थ्यो। तर यसपालि हिउँदमा निरन्तरजसो पानी परेका कारण विद्युत उत्पादन धेरै घटेन। हाम्रा पावर हाउसहरुको इनर्जी जेनेरेसन राम्रो छ। गत वर्षको तुलनामा यस वर्ष चैत र वैशाखमा नै बिजुली उत्पादन करिब ६०० मेगावाटले बढेको छ,’ घोषले भने, ‘जसले गर्दा हामीलाई माग धान्न सहज भयो। त्यति मात्र होइन, हामी निर्यात बढाउन सफल भयौं।’

प्राधिकरणका अनुसार विद्युत उत्पादन क्षमता करिब ४ हजार मेगावाट पुगेको छ। पिक डिमान्ड भने २३२१ मेगावाट छ।

अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित भएकाले हिउँदमा विद्युत उत्पादन करिब एक तिहाइमा सीमित हुने गरेकाले प्राधिकरणले सुक्खायामको लोड व्यवस्थापनका लागि भारतबाट आयात गर्दै आएको छ।

घोषका अनुसार प्राधिकरणले अहिले दैनिक ५०० देखि ६०० मेगावाट बिजुली भारतमा निर्यात गरिरहेको छ। ‘हामीले अहिले दिनमा ३ हजार ५९० मेगावाट आवर आयात गर्दा ७ हजार ९२५ मेगावाट आवर निर्यात गरेका छौं,’ घोषले भने।

यस वर्ष चैत र वैशाखमै विद्युत उत्पादन बढ्दा प्राधिकरणलाई एकातिर लोड व्यवस्थापन गर्न सहज भएको छ भने अर्कातिर वित्तीय अवस्था सुधार हुने देखिएको छ।

‘विद्युत उत्पादन बढेको प्राधिकरण आर्थिक सुधारमा पनि उसले सकारात्मक असर देखिन्छ भन्ने छ। ‘यसपालि हिउँदमा नै आयातमा घटेको छ भने निर्यात उल्लेखनीय रुपले बढेको छ। त्यसैले ब्यालेन्स सिट राम्रो हुनेमा शंका छैन,’ प्राधिकरणको अर्थ निर्देशनालयका एक कर्मचारीले भने।