काठमाडौं। गर्मीसँगै विद्युत खपतको लोड धान्न नसकेर पोलका ट्रान्सफर्मर जल्न थाले झट्टै फेर्न गाह्रो पर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणसँग ब्याकअपमा पर्याप्त संख्यामा मौज्दात छैन। त्यसैले सोझो असर वितरण प्रणालीमा पर्ने देखिएको छ।
देशभर ४८ हजार ट्रान्सफर्मर जडान भएकोमा प्राधिकरणसँग करिब १२ सय मात्र ब्याकअपमा रहेको स्रोतले बताएको छ। केन्द्रीय स्टोर कार्यालय हेटौंडामा स्टक शून्य छ, प्रादेशिक र डिभिजन कार्यालयमा पनि ट्रान्सफर्मर एकदमै न्यून संख्यामा छ।
प्राधिकरणको तथ्यांकअनुसार ८ वटा प्रादेशिक कार्यालयमा नयाँ र मर्मत गरेको ट्रान्सफर्मर गरि कुल १ हजार १ सय ७१ वटा छ। जसमा नयाँ ६ सय ६० वटा र ५ सय ११ वटा मर्मत गरिएका पुराना ट्रान्सफर्मर छन्। देशभर ४८ हजार ट्रान्सफर्मर जडान छन्। प्राधिकरणको तथ्यांक अनुसार वार्षिक कम्तीमा पनि १५ सय वटा ट्रान्सफर्मर जल्ने र बिग्रने गरेको हुन्छ। मर्मत र मागका तालिकाअनुसार २ हजारदेखि २५ सय ट्रान्सफर्मर नयाँ जडान गरिरहनुपरेको छ।
प्राधिकरणको देशभर १२९ वटा वितरण केन्द्र छन्। कम्तीमा एउटा वितरण केन्द्रसँग २५ वटा ट्रान्सफर्मर स्टक हुनुपर्नेमा अहिले अहिले संख्या एकदमै न्यून छ।
‘लोड थपिँदा ट्रान्सफर्मर जुनसुकै बेला पनि बिग्रन वा जल्न सक्छन्,’ प्राधिकरण स्रोतले भन्यो, ‘अहिले हाम्रो तथ्यांक हेर्दा पनि वार्षिक २ हजार ट्रान्सफर्मर जल्ने वा बिग्रने गरेको हुन्छ। त्यसैले कम्तीमा एउटा वितरण केन्द्रसँग २५ वटा ट्रान्सफर्मर स्टक हुनैपर्छ।’
ट्रान्सफर्मर उच्च माग हुने समय आउँदै गर्दा आवश्यक मात्रमा स्टक नहुँदा प्राधिकरणका कर्मचारी चिन्तित छन्। ‘विगतमा कहिलकाहीं दिनको २०/२५ वटासम्म ट्रान्सफर्मर जल्ने/पड्किने गरेको अवस्था थियो,’ ती कर्मचारीले भने, ‘अब गर्मी बढ्दा विद्युत खपत बढ्छम त्यसले लोड बढाउँछ। फेरि ट्रान्सफर्मर जल्न थाले कसरी म्यानेज गर्ने भन्ने तनाव छ।’
उनका अनुसार प्राधिकरणको केन्द्रीय स्टोर कार्यालयमा १००, २००, ३०० र ५०० केभीए क्षमताको स्टक छैन। तर, आठ प्रादेशिक र डिभिजन कार्यालयमा १०० केभीएको ९८ वटा, २०० केभीएको २१५ वटा, ३०० केभीएको २०८ वटा र ५०० केभीएको २३ वटा ट्रान्सफर्मर छन्। जुन प्राधिकरणलाई चाहिने भन्दा एकदम न्यून संख्या हो।
‘कम्तीमा २ हजार ट्रान्सफर्मर स्टक हुनपर्छ। किनभने हामीले टेण्डर गरेपनि उजुरी परेर म्याद नै लम्विन्छ। प्रक्रिया पनि लामो हुन्छ,’ उच्च स्रोतले भन्यो, ‘हामीले अहिलेसम्म तोकेको मिति मै ट्रान्सफर्मर बिरलै आएको छ। बिडरहरु बीच नै मुद्दा मामिलाले नै प्रक्रिया लम्बिने गरेको छ।’
माग र आपूर्तिको चेन नमिल्दा ट्रान्सफर्मर बिग्रने र जल्ने समस्या आउने प्राधिकरणका एक कर्मचारीले बताए। ‘अहिलेसम्म त मौसमले पनि धेरै साथ दिएको छ। कुन दिन फेरि ह्वात्तै गर्मीको समयमा तराईमा पंखा, हिटर, एसीको प्रयोग बढ्छ। अनि फरफ हुँदा बिजुलीको माग बढ्छ। फेरि टाउको दुखाइ सुरु हुन्छ,’ ती कर्मचारीले भने।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने ब्याकअपमा रहेको ट्रान्सफर्मरले धान्ने बताउँदै आएका छन्।
कुन प्रादेशिक कार्यालयमा कति ?
वाग्मती प्रादेशिका कार्यालयमा २१०, गण्डकीमा १८१, कर्णालीमा २० वटा, कोशीमा २४६, लुम्बिनी प्रादेशिक कार्यालय बुटवलमा १४९ वटा, डिभिजन कार्यालय नेपालगञ्जमा २६ वटा, मधेस प्रादेशिक कार्यालयमा २३६ वटा र सुदूरपश्चिम कार्यालयमा १०३ वटा ट्रान्सफर्मर छ।
प्राधिकरणका अनुसार वाग्मती प्रादेशिक कार्यालयमा २५ केभीएको ३७, ५० केभीएको ३४ वटा, १०० केभीएको ४४ वटा, २०० केभीएको ५० वटा ३०० केभीएको ३१ वटा र ५०० केभीएको १४ वटा ट्रान्सफर्मर छन्। यस्तै गण्डकी प्रदेशमा २५ केभीएको ३९ वटा ५० केभीएको २७ वटा १०० केभीएको ४१ वटा २०० केभीएको ५३ वटा, ३०० केभीएको १८ वटा र ५०० केभीएको ३ वटा ट्रान्सफर्मर छ।
सबैभन्दा काम ट्रान्सफर्मर रहेको कर्णाली प्रादेशिक कार्यालयमा २५ केभीएको ९ वटा, ५० केभीएको ४ वटा, १०० केभीएको १ वटा, २०० केभीएको ५ वटा, ३०० केभीएको १ वटा र ५०० केभीएको शून्य छ। कोशी प्रदेश अन्तर्गत अन्तर्गत २५ केभीएको ४६ वटा, ५० केभीएको ४१ वटा, १०० केभीएको ३१ वटा, २०० केभीएको ४६ वटा, ३०० केभीएको ७७ वटा र ५०० केभीएको ५ वटा ट्रान्सफर्मर छ।
लुम्बिनी प्रदेश बुटवलअन्तर्गत २५ केभीएको २१ वटा, ५० केभीएको २६ वटा, १०० केभीएको ४२ वटा, २०० केभीएको ३५ वटा, ३०० केभीएको २५ वटा र ५०० केभीएको शून्य छ। नेपालगञ्ज डिभिजनअन्तर्गत २५ केभीएको १ वटा, ५० केभीएको ५ वटा, १०० केभीएको ४ वटा, २०० केभीएको ९ वटा, ३०० केभीएको ७ वटा र ५०० केभीएको शून्य छ।
मधेश प्रदेशमा २५ केभीएको ८ वटा, ५० केभीएको ५२ वटा, १०० केभीएको ५८ वटा, २०० केभीएको ६५ वटा, ३०० केभीएको ५३ वटा र ५०० केभीएको शून्य छ। सुदूरपश्चिम प्रदेशमा २५ केभीएको २७ वटा, ५० केभीएको २९ वटा, १०० केभीएको २१ वटा, २०० केभीएको १८ वटा, ३०० केभीएको १६ वटा र ५०० केभीएको एउटा छ।










