१९ अर्ब ११ करोड लागतमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

बिजमाण्डू
२०८३ बैशाख ७ गते ०८:०१ | Apr 20, 2026
१९ अर्ब ११ करोड लागतमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने
फाइल तस्बिर।


काठमाडौं। सोलुखुम्बुको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

GBIME
Tata

माप्य दुधकोशी गाउँपालिका-२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव गरिएको हो। आयोजनाको विद्युतगृह माप्य दुधकोशी-४ काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट ७३० मिटर माथि रहनेछ।

आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ६१७.८६ गिगावाट घण्टा प्रतिवर्ष विद्युत् आपूर्ति हुनेछ। निर्माणको चरणमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष जनशक्तिले रोजगारी प्राप्त गर्नेछन्।

विद्युत् विकास विभागले सो आयोजनालाई अर्ध जलाशययुक्त प्रकृतिमा निर्माणका लागि यसअघि नै सहमति प्रदान गरिसकेको छ। इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले सो आयोजना निर्माण गर्ने जनाइएको छ।

आयोजनाको यसअघि नदी प्रवाही आयोजनाका रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएको भए पनि पछिल्लोपटक अर्धजलाशय प्रकृतिमा निर्माण गर्ने भएपछि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्न लागिएको छ। वन तथा वातावरण मन्त्रालयले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।

आयोजनाको ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२.३ मिटर छ। आयोजनाको संरचना निर्माणका लागि २५.२८ हेक्टर सामुदायिक वन क्षेत्रबाट २ हजार ४५९ वटा खोटेसल्ला, बाँझ, चिलाउने, उत्तिस, मौवा, मलाट, भलायो, जामुख आदि प्रजातिका रुख काट्नुपर्नेछ।

आयोजनाबाट उत्पादित बिजुली नयाँ खिम्ती सबस्टेशन देवीटार दोलखामा जोडिने आयोजनाले जनाएको छ। आयोजनाको कुल लागत १९ अर्ब ११ करोड रुपैयाँ बराबर रहनेछ।

प्रवर्धक कम्पनीका अनुसार प्रति मेगावाट लागत २० करोड रुपैयाँ बराबर छ। आयोजना ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। रासस