काठमाडौं। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले सेवा विस्तार गर्ने क्रममा सन् २०२१ भित्रै आफ्नो जहाज संख्या १७ वटा पुर्याउने भएको छ।
बिस्तारित आन्तरिक गन्तव्य, थपिएको उडान संख्या र त्यसअनुसार हवाई सेवा सहज बनाउन कम्पनीले एटीआर-७२ सिरिजका जहाज थप्न लागेको कम्पनीका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले बताए। आउँदो मे महिनाको पहिलो साता कम्पनीको थप एउटा एटीआर-७२ सिरिजको जहाज नेपाल आइपुग्ने जानकारी उनले दिए।
'हामी यसपछि पनि थप दुई वटा एटीआर-७२ जहाज ल्याउने योजनामा छौं,' उनले भने, 'बाँकी दुई वटा जहाजमध्ये एउटा आउँदो दसैंअघि नै आइपुग्छ भने अर्को जहाज दसैंपछि ल्याउँदैछौं।'
पछिल्लो समय आन्तरिक हवाई उडानमा काठमाडौं बाहिरका गन्तव्यलाई पनि बेस बनाएर उडान थालेको कम्पनीले यात्रुको माग र सेवा विस्तारलाई मध्यनजर गर्दै जहाज संख्या थप्नु आवश्यक देखिएको उनले बताए।
हाल यो कम्पनीले नौवटा एटीआर-७२, तीन वटा एटीआर-४२ र दुईवटा बिचक्राफ्ट गरी १४ वटा जहाजमार्फत मुलुकका विभिन्न गन्तव्यमा आन्तरिक उडान गर्दै आएको छ।