अर्थमन्त्रीसँग ब्रोकरको आधा घण्टा भेटको प्रभाव सेयर बजारमा, नेप्से बाउन्स ब्याक



बिजमाण्डू
२०८२ चैत्र २३ गते १५:१८ | Apr 6, 2026
अर्थमन्त्रीसँग ब्रोकरको आधा घण्टा भेटको प्रभाव सेयर बजारमा, नेप्से बाउन्स ब्याक


काठमाडौं। सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धान तीव्र बनाएपछि तरंगित बनेर लगाता‍र उच्च अंकले घटेको सेयर बजार बाउन्स ब्याक भएको छ।

Tata
GBIME

अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले लगानीकर्ताको मनोबल बढाउनका लागि पहलकदमी लिएपछि बजार बाउन्स ब्याक भएको हो।

उनले सोमबार बिहान स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिलाई सिंहदरबारमा बोलाएर सेयर बजारमा सुधारका लागि नीतिगत कदम चाल्ने आश्वासन दिएपछि बजारले सकारात्मक लय समातेको हो।

नयाँ सरकार बनेपछि बजारमा २७४ अंकको गिरावट आएकामा मन्त्री वाग्लेको पहलकदमीपछि नेप्से परिसूचक ८३.३३ अंक बढेर २७६०.०२ विन्दुमा पुगेको छ।

‘सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका साथै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गरेपछि बजार त्रसित बनेको थियो। लगानीकर्ता आत्तिएकाले बजार घटेको थियो,’ एक मर्चेन्ट बैंकरले भने, ‘दुई तिहाइको सरकार बनेको छ। सूचकहरु पनि ठिक छन्। अर्थमन्त्रीले त्रसित नहुन र सुनौला दिन आउने भनेकाले अब विस्तारै स्टेबल भएर जान्छ भन्ने आकलन गर्न सकिन्छ।’

सबै उपसमूहले नेप्से बढाएका हुन्। हाइड्रोपावरको सूचक सबैभन्दा धेरै ४.५९ प्रतिशत बढेको छ। बजारमा ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। २६५ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सोमबार १० अर्ब ९२ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आइतबार बजार १०५.५० अंक घट्दा १२ अर्बको सेयर किनबेच भएको थियो। मन्त्री वाग्लेले ब्रोकरसँगको आधा घण्टाको छलफलमा सरकार सेयर बजार सुधारका लागि काम गर्न तयार रहेकाले लगानीकर्ता त्रसित हुन आवश्यक नरहेको बताएका थिए।

‘नयाँ सरकार बनेपछि लगानीकर्ता आतंकित हुनुपर्ने कारण थिएन। तर, सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान अगाडि बढाउँदा लगानीकर्ताले आत्तिएर सम्पत्ति बिक्री गर्न थाले। लगानीकर्ता अपरिपक्व थिए भन्ने आज देखिएको छ,’ लगानीकर्ता तुलसीराम ढकालले भने, ‘बजारमा आउने सबै रकम वैध लगानी हो। पैसा आउनु अगाडि नै ट्याक्स काटिन्छ त्यो क्षेत्र भनेकै बजार हो। अर्थमन्त्रीले नै स्पष्ट पारेपछि यसको सकारात्मक प्रभाव बजारमा देखिएर आजदेखि बढ्न सुरु भएको छ।’

स्टक ब्रोकर्स एसोसिएसनले बजार सुधारका लागि ६ बुँदे सुझाव दिएको छ।

ब्रोकरले सेबोनका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले पुँजी बजारमा सुधारका लागि दिएका सुझाव कार्यान्वयन गर्न माग गरेकामा मन्त्री वाग्लेले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

वाग्लेले सोमबार नै आर्थिक पत्रकारहरुसँगको छलफलमा पनि सेयर लगानीकर्तालाई त्रसित नहुन आग्रह गरेका छन्। उनले सेयर बजारमा सुनौला दिन आउनेमा निर्धक्क हुन भनेका छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राजनीतिक अनिश्चितताले तरंगित बनेको सेयर बजार घटेर असोज ३० गते २४८७ अंकमा आएको थियो। लगानीकर्ताले कन्फिडेन्स गुमाउँदा निरन्तर ओरालो लागेको फागुन २१ गतेको निर्वाचनपछि उकालो लागेर २९६० अंक पुगेको थियो।

निर्वाचन परिणापछि उत्साहित बनेको बजार नयाँ सरकार बनेपछि निरन्तर घटेको थियो। सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र बनाएपछिको तरंग बजारमा देखिएकामा सोमबार मन्त्रीको पहलकदमी पछि सुधार भएको हो।

सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले बिचौलिया दीपक भट्ट तथा उनका व्यावसायिक साझेदारका रुपमा रहेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र उनका छोरा सुलभमाथि अनुसन्धान गरिरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरेको छ।