काठमाडौं। विश्वप्रसिद्ध नेपाली मुलका पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाले सामान्य गाउँबाट सुरु गरेको यात्रा विश्व पर्वतारोहण इतिहासकै प्रेरणादायी अध्याय बनेको छ। साहस, अनुशासन र असम्भवलाई सम्भव बनाउने दृढ विश्वासका कारण उनले विश्वभर करोडौं मानिसलाई प्रेरित गरेका छन्।
धौलागिरि क्षेत्रको म्याग्दीमा जन्मिएका निम्स चितवनमा हुर्किएका थिए। बाल्यकालमा उनको सपना हिमाल चढ्ने नभई आफ्ना बुबा र दाजुभाइझैँ बेलायती सेनाको गोर्खा सैनिक बन्ने थियो।
सन् २००३ मा १८ वर्षको उमेरमै उनी बेलायती सेनाको गोर्खा रेजिमेन्टमा भर्ना भए। त्यसपछि उनले आफ्नो मेहनत र क्षमताका आधारमा नयाँ उचाइहरू पार गर्दै गए।
सन् २००९ मा उनी बेलायती स्पेसल बोट सर्भिस (एसबीएस) मा प्रवेश गर्ने पहिलो गोर्खा बने। एसबीएसलाई बेलायती सेनाको सबैभन्दा उत्कृष्ट विशेष फौजमध्ये एक मानिन्छ। एसबीएसमा उनले १० वर्षसम्म सेवा गरे।


सैन्य सेवाकै क्रममा सन् २०१२ मा सगरमाथा आधार शिविर पुगेपछि उनको जीवनले नयाँ मोड लियो। त्यही यात्राले पर्वतारोहणप्रति गहिरो आकर्षण जगायो भने केही समयमै उनले ६ हजार ११९ मिटर अग्लो लोबुचे इस्ट सफलतापूर्वक आरोहण पनि गरे।
सैन्य सेवाबाट सिकेको अनुशासन, संकटको मूल्यांकन गर्ने क्षमता र अरूको जीवन बचाउने भावना उनको पर्वतारोहण यात्राको बलियो आधार बन्यो। यही अनुभवले उनलाई उच्च हिमाली उद्धार अभियानमा पनि सफल बनायो।
सगरमाथाको पहिलो आरोहणका क्रममा उनले ‘डेथ जोन’मै एक आरोहीको एक्लै उद्धार गरेका थिए। त्यसपछि अरूको ज्यान बचाउन सकियोस् भनेर माथिल्लो शिविरदेखि सधैं अक्सिजन प्रयोग गर्ने निर्णय उनले गरेका थिए।
उनले गोर्खा टोलीको पहिलो सफल सगरमाथा आरोहणको नेतृत्व पनि गरे। त्यसलगत्तै उनले सगरमाथा, ल्होत्से र मकालु ५ दिनभित्र आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरे।

सन् २०१९ मा उनले सुरक्षित सैन्य करियर छाडेर सबैले असम्भव भनेको ‘प्रोजेक्ट पोसिबल’ सुरु गरे। त्यसबेला विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्न झन्डै ८ वर्ष लागेको कीर्तिमानलाई उनले करिब साढे छ महिनामै तोड्दै इतिहास रचे।
शिशापाङ्माको चुचुरोमा पुगेपछि उनले ‘मिसन अचिभ्ड’ भन्दै आफ्नो लक्ष्य पूरा भएको घोषणा गरेका थिए। उनको उपलब्धिले सही योजना, दृढ संकल्प र सकारात्मक सोच भए असम्भव भन्ने कुरा नरहेको सन्देश विश्वभर फैलायो।
सन् २०२० मा उनले ‘निम्सदाई’ नामबाट नयाँ अभियान सुरु गर्दै आफ्नो अनुभव नयाँ पुस्तासँग बाँड्न थाले। पर्वतारोहण प्रशिक्षण, विशेष हिमाली अभियान र सुरक्षित आरोहण संस्कृतिमार्फत उनले विश्वभरका आरोहीलाई मार्गदर्शन गर्ने कामलाई निरन्तरता दिएका थिए।
साहस, नेतृत्व र मानवताको उदाहरण बनेका निम्सले पर्वतारोहणलाई केवल कीर्तिमान बनाउने माध्यम नभई अरूको जीवन बचाउने जिम्मेवारीका रूपमा पनि स्थापित गरे। त्यसैले उनको जीवनकथा नेपाली युवाका लागि मात्र नभई विश्वभरका सपना देख्ने सबैका लागि प्रेरणाको स्रोत बनेर रहनेछ।









