चीनबाट चाडपर्वका सामान ल्याउन नेपाली व्यवसायीको बढ्यो सक्रियता, आयात भने घट्ने संकेत



सरला सुवेदी
२०८३ साउन १६ गते १६:०० | Aug 1, 2026
चीनबाट चाडपर्वका सामान ल्याउन नेपाली व्यवसायीको बढ्यो सक्रियता, आयात भने घट्ने संकेत


काठमाडौं। दसैं-तिहार लक्षित सामान खरिदका लागि नेपाली व्यवसायी चीन गइरहेका छन्। गत महिना अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धी व्यवस्थाले अन्योल बढाउँदा आयातकर्ता नयाँ अर्डर गर्न हिच्किचाएका थिए। तर, सरकारले आयातित वस्तु भन्सारमै स्वघोषणा गरेर ल्याउन सकिने व्यवस्था स्पष्ट गरेपछि व्यवसायीले चाडपर्व लक्षित सामानको अर्डर प्रक्रिया बढाएका हुन्।

Tata
GBIME

यतिबेला तयारी कपडा, जुत्ता, चप्पल, ब्याग, मोबाइल, घडी तथा विभिन्न खाद्य सामग्री आयात गर्ने व्यवसायी चीन पुग्ने र फर्कने क्रम बढेको छ। केही व्यवसायीले अर्डर गरिसकेका छन् भने केही तयारीमा छन्। चाडपर्वमा उपभोक्ताको नयाँ सामानप्रतिको माग उच्च हुने भएकाले यस अवधिलाई व्यवसायीले वर्षकै मुख्य व्यापारिक सिजनका रूपमा लिने गर्छन्।

साना व्यवसायीले लाखौं रुपैयाँ बराबरको सामान आयात गर्ने भए पनि ठूला आयातकर्ताले करोडौं रुपैयाँ बराबरका वस्तु अर्डर गर्ने गरेका छन्। तर, यस वर्ष एमआरपीसम्बन्धी नयाँ व्यवस्थाले लागत बढ्ने अनुमानका कारण अघिल्ला वर्षको तुलनामा आयात केही घट्न सक्ने व्यवसायीको आकलन छ।

आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष पर्शुराम दाहालले एमआरपीसम्बन्धी अन्योल हटेपछि व्यवसायीले धमाधम चीनबाट चाडपर्व लक्षित सामान अर्डर गर्न थालेको बताए। उनका अनुसार यस वर्ष दसैं-तिहार केही ढिलो परेकाले धेरै व्यवसायीले चाडपर्व र जाडो दुवै मौसमका सामान एकैपटक अर्डर गरिरहेका छन्।

‘व्यापार गर्ने हो भने जोखिम मोलेर पनि सामान अर्डर गर्नैपर्छ,’ उनले भने, ‘अर्डर गरेको सामान समयमै नेपाल ल्याउन अहिले नै प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ।’

उनका अनुसार अधिकांश सामान समुद्री मार्ग र स्थलमार्गबाट आउने भए पनि केही हलुका तथा मूल्य बढी भएका महिलाका लागि लुगाकपडासँगै फेसनका मालवस्तु हवाई मार्गबाट समेत आयात गर्ने तयारी छ। गत वर्ष तातोपानी नाकामा सामान रोकिँदा धेरै व्यवसायीले चाडपर्वको व्यापार गुमाउनु परेको अनुभव यस वर्ष पनि उनीहरूलाई सताइरहेको छ।

दाहालका अनुसार पछिल्ला वर्षदेखि बजारमा व्यापार सुस्त रहेकाले व्यवसायीले पहिलेजस्तो ठूलो परिमाणमा सामान आयात गर्न हिच्किचाइरहेका छन्। समयमै सामान नआए वा बिक्री नभए ठूलो लगानी लामो समय स्टकमा अड्किने जोखिम पनि उत्तिकै छ।

न्युरोडका व्यवसायी चूडामणि पौडेलले आफू चीनबाट चाडपर्व लक्षित सामान अर्डर गरेर फर्किसकेको बताए। उनका अनुसार अधिकांश आयातकर्ताले गत वर्षकै हाराहारीमा सामान अर्डर गरेका छन्।

‘एमआरपीका कारण व्यवसायी अन्योलमा थिए। अहिले स्वघोषणाको व्यवस्था स्पष्ट भएपछि गोदाममा सामान ल्याएर राख्ने वातावरण बनेको छ,’ उनले भने।

उनले यस वर्ष नियमित रूपमा आउने सामानसँगै जाडो मौसमका सामग्री पनि एकैपटक अर्डर गरिएको जानकारी दिए। केही व्यवसायीले असारमै चीन पुगेर अर्डर गरिसकेका कारण सामान समयमै नेपाल आइपुग्ने अपेक्षा गरिएको उनको भनाइ छ।

अर्का व्यवसायी रमेशकुमार श्रेष्ठ भने यस वर्ष आयात घटाउने तयारीमा छन्। उनका अनुसार बजारको माग कमजोर हुनु, पहिरोका कारण उत्तरी नाका प्रभावित हुनु र एमआरपी व्यवस्थाले लागत बढाउने सम्भावनाका कारण व्यवसायी सतर्क बनेका छन्।

न्युरोडको थोक बजार। फाइल तस्बिर

‘यस वर्ष गत वर्षको तुलनामा आयात आधासम्म घट्न सक्छ,’ उनले भने, ‘व्यापार सुस्त हुँदा बिक्री नहुने सामान स्टकमा बस्छ। त्यसपछि लागतभन्दा कम मूल्यमा बेच्नुपर्ने अवस्था आउँछ।’

श्रेष्ठका अनुसार एमआरपी उल्लेख गरेर ल्याइएका वस्तु लामो समय बिक्री नभए मूल्य घटाएर बिक्री गर्नुपर्ने बाध्यता हुन्छ। यसले व्यवसायीको नाफा घटाउने मात्र होइन, लगानीसमेत जोखिममा पार्ने उनको भनाइ छ।

व्यवसायीहरूका अनुसार पछिल्लो समय स्वदेशमै तयारी कपडा र जुत्ताचप्पलको उत्पादन बढ्दै गएको छ। आयातित वस्तुको लागत बढेपछि केही व्यवसायीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन थालेका छन्। उपभोक्तामा पनि महँगा ब्रान्डभन्दा तुलनात्मक रूपमा सस्ता वस्तुको माग बढेकाले आयातित चिनियाँ सामानको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने उनीहरूको आकलन छ।

व्यापार मन्दी, एमआरपी व्यवस्थाबाट बढ्ने लागत, नाकामा देखिने अवरोध र कमजोर उपभोक्ता मागका कारण यस वर्ष चाडपर्व लक्षित चिनियाँ सामानको आयात अघिल्ला वर्षको तुलनामा घट्ने व्यवसायीहरूको अनुमान छ। यद्यपि, चाडपर्वको मागलाई लक्षित गर्दै आवश्यक परिमाणमा सामान भित्र्याउने तयारी भने व्यवसायीहरूले सुरु गरिसकेका छन्।