काठमाडौं। लमजुङमा ३० मेगावाट क्षमताको म्यार्दी खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। म्यार्दी खोला हाइड्रोपावर कम्पनीले निर्माण गर्ने आयोजना मनाङको नासों गाउँपालिका-१ र लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ र ५ निर्माणको प्रस्ताव गरिएको छ।
प्रस्तावित आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको छ, जसमा ठूलो जलाशय नबनाई प्राकृतिक बहावको प्रयोग गरेर विद्युत उत्पादन गरिन्छ। प्रस्तावित आयोजनाको ग्रस हेड ८५२ मिटर, नेट हेड ८३९.४९ मिटर रहेको छ र डिजाइन डिस्चार्ज ४.१७ घनमिटर प्रति सेकेण्ड रहेको छ।
प्रस्तावित आयोजनाबाट औसत वार्षिक १७३.४४ गिगावाट आवर ऊर्जा उत्पादन हुने छ। हेडवर्क्स, इन्टेक, ग्राभेल ट्रयाप, डिसेन्डर बेसीन, हेडरेस टनेल,सर्ज ट्याकं, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस तथा प्रसारण लाइन प्रस्तावित आयोजनाका मुख्य अवयवहरू हुन्।
हेडरेस टनेलको लम्बाइ करिब ३४५० मिटर पेनस्टक पाइपको लम्बाइ १४४९ मिटर र आन्तरिक व्यास १.३५ मिटर रहनेछ।
आयोजनाबाट उत्पादित विद्युत १० किलोमिटर लम्बाइको १३२ केभी प्रसारण लाइनमार्फत धारापानीमा रहेको २२०/१३२ केभी मनाङ हबमा जडान गरी राष्ट्रिय प्रसारण ग्रीडमा समाहित गरिनेछ।
आयोजनाको कुल लागत ३ अर्ब ९० करोड ९७ लाख ४४ हजार रहेको छ।










