४५ मेगावाटको चुम्चेत स्यार खोला जलविद्युत् आयोजना चिलिमेले निर्माण गर्ने

बिजमाण्डू
२०८२ मंसिर १४ गते ०६:२७ | Nov 30, 2025
४५ मेगावाटको चुम्चेत स्यार खोला जलविद्युत् आयोजना चिलिमेले निर्माण गर्ने


काठमाडौं । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ।

GBIME
Tata

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ ्।

चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल गोरखाको चुम्चेतमा रहेको छ। बुढीगण्डकी नदीमा निर्माण हुने सो आयोजना नदी प्रवाही प्रकृतिको हो। आयोजनाबाट वार्षिक ३४८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ।

 उत्पादित बिजुली प्रस्तावित न्यू बुढीगण्डकी प्रोक सवस्टेशनमा जोडिनेछ। कूल ११० किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिनेछ। सो प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्दैछ।

रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जस्ता आयोजना निर्माण सम्पन्न भइसकेकाले आयोजनाको अभाव रहेको चिलिमे जलविद्युत् कम्पनीका लागि स्यार खोला अर्को एउटा महत्वपूर्ण परियोजनाका रुपमा रहेको छ। 

यस्तै, विभागले मिडिल लिखु जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। सो आयोजना ८.६० मेगावाट रहेको छ। रामेछापको साँघुटारमा आयोजना निर्माण हुनेछ। त्यस्तै, विभागले छोमरोङ खोला जलविद्युत् आयोजनालाई पनि विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। घान्द्रकु हाइड्रोले निर्माण गर्ने सो आयोजना ४.८९ मेगावाट बराबर छ।

विभागले हालसम्म २६३ आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता ११ हजार ९७ मेगावाट बराबर छ। विभागले चालु आर्थिक वर्षको हालसम्म १३ जलविद्युत् आयोजनालाई विद्युन् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ।

यसैगरी विभागमा चालु आर्थिक वर्षको हालसम्म कूल ४२ आयोजनाले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन्। विभागमा हालसम्म कूल १९३ आयोजनाले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन्। ती आयोजनाको क्षमता ९ हजार ६८९ मेगावाट रहेको छ। रासस