काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादमा उद्योगीहरु नेपाल विद्युत प्राधिकरणबाट पत्र नआएको कारण देखाएर पहिलो किस्ताको रकम तिर्नबाट रोकिएका छन्।
पहिलो किस्ताको रकम धरौटीका रुपमा तिर्न चेक काटेर बसेको भनेका उद्योगीले प्राधिकरणको पत्र नपाएका कारण रोकिएको बताएका छन्।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले आफूहरु प्राधिकरणको पत्र कुरेर बसेको बताए।
‘सहमतिअनुसार पहिलो किस्ता बराबरको रकम जम्मा गर्न हामी तयार छौं। त्यसका लागि हामीले बुझाउने पहिलो किस्तालाई धरौटीका रुपमा स्वीकार गर्ने पत्र प्राधिकरणले दिनुपर्यो,’ मारुले बिजमाण्डूसँग भने, ‘पत्र पाउनासाथ हामी रकम बुझाउँछौं।’

प्राधिकरणले पहिलो किस्तालाई धरौटीका रुपमा स्वीकार गर्ने प्रतिबद्धता नजनाएको अवस्थामा पुनरवलोकन प्रक्रिया अगाडि बढ्छ भन्ने विश्वास नहुने मारुले बताए।
प्रशासकीय पुनरवकलोकनका लागि ४६ वटा उद्योगले गत जेठमै ५ प्रतिशत धरौटी बुझाएका थिए। तर तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा प्राधिकरणले गठन गरेको पुनरवकलोकन समितिले कुनै निर्णय नगरी ३५ दिन गुजारेको थियो। निवेदन परेको ३५ दिनभित्र पुनरवलोकनको निवेदनमाथि निर्णय गर्नुपर्ने व्यवस्था छ।
आफूहरुले बुझाउने पहिलो किस्तालाई प्राधिकरणले धरौटीका रुपमा स्वीकार गर्ने पत्र काट्ने/नकाट्ने विषयलाई लिएर सिमेन्ट उत्पादक संघका अध्यक्ष मारुले बुधबार अपराह्न प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई फोन गरेका थिए।
सिलवालले पहिलो किस्तालाई धरौटीको रुपमा स्वीकार गर्ने सहमतिबारे आफूहरुलाई तालुकवाला ऊर्जा मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट कुनै जानकारी नआएकाले पत्र काट्न नसक्ने बताए।

‘प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा जुन सहमति भएको भनिएको छ त्यसबारेमा हामीलाई कुनै जानकारी छैन। छलफलमा हामी थिएनौं। हामीलाई प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयबाट कुनै निर्देशन आएको छैन। त्यसैले हामीले के आधारमा पहिलो किस्तालाई धरौटीका रुपमा स्वीकार गर्छौं भनेर उद्योगीलाई भन्ने?,’ सिलवालले प्रतिप्रश्न गर्दै भने, ‘निर्देशन आयो भने नमान्ने कुरा भएन। तर अहिलेको कानुनी व्यवस्थाले हामीलाई एक किस्ताको रकमलाई धरौटी भनेर स्वीकार गर्न दिंदैन।’
प्राधिकरणको विनियमावलीमा बिलिङ भएको ५ प्रतिशत रकमलाई धरौटी भनिएको छ। यसअघि २५ प्रतिशत रकम धरौटी राख्नुपर्ने व्यवस्था रहेकामा प्राधिकरणको सञ्चालक समितिले गत चैत मसान्तमा ५ प्रतिशतमा झारेको हो।
नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार गरेको पत्रकार सम्मेलनमा मारुसहितका उद्योगीले प्राधिकरणलाई पैसा तिर्नका लागि चेक काटेर बसेको बताएका थिए।
प्राधिकरणले आफूले दिएको २१ दिनको समयमा बक्यौता तिर्न नआएको भन्दै कात्तिक ४ गते ६ र ८ गते १९ वटा उद्योगको लाइन काटेको थियो। उद्योगको लाइन जोड्ने प्रयासस्वरुप महासंघका अध्यक्ष चन्द्र ढकालले सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष ध्रुव थापा लगायत उद्योगीसँगको छलफलका आधारमा मध्यमार्गी प्रस्ताव तयार पारेका थिए।
त्यो प्रस्तावमाथि ढकालले सोमबार प्रधानमन्त्री सुशीला कार्की अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योगमन्त्री अनिल सिन्हा, मुख्यसचिव एकनारायण अर्याल र सचिवहरुसँग छलफल गरेका थिए।
महासंघको प्रस्ताव अनुसार २८ किस्ताको सुविधामा एक किस्ता बराबरको रकमलाई धरौटीका रुपमा उद्योगहरुले बुझाएपछि काटिएको विद्युतको लाइन तुरुन्त जोड्न प्रधानमन्त्री कार्कीले सहमति जनाएकी थिइन्।
प्रधानमन्त्री र मन्त्रीहरुले सहमति जनाएपछि महासंघले मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी डिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानउन्मुख भएको बताएको थियो। मध्यमार्गी प्रस्तावमा सरकारलाई सहमत गराएको भन्दै थापा लगायत उद्योगीले महासंघका अध्यक्ष ढकाललाई धन्यवाद दिएका थिए।
तर मंगलबार अपराह्नपछि उद्योगहरुले प्राधिकरणलाई पैसा तिरेका छैनन्। २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड र ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन्।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार मंगलबार अपराह्न एसआर फुड्स, भलवारी स्वचालित कारखाना र एसआर स्टील इन्डस्ट्रिजले पहिलो किस्ताको रकम बुझाएका थिए।
एसआर फुड्सको नाममा १ करोड ४८ लाख, भलवारी स्वचालित कारखानाको नाममा ३० लाख र एसआर स्टील इन्डस्ट्रिजको नाममा १६ लाख रुपैयाँ बक्यौता थियो। ती उद्योगमा प्राधिकरणले मंगलबार नै लाइन जडान गरिसकेको छ।
यी बाहेक अरु थप ६ उद्योगले पनि पहिलो किस्ता तिरेका कारण प्राधिकरणले लाइन जोडिसकेको छ। ‘कात्तिक ४ र ८ गते लाइन काटिएका उद्योगमध्ये अहिलेसम्म ९ वटाले बक्यौताको पहिलो किस्ता बुझाएका छन्,’ ढकालले भने, ‘पहिलो किस्ता तिरेका सबै उद्योगको लाइन पनि जोडिसकेको छौं।’
भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका थिए।
पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता थियो।
यस्तै घराना फुड्स र गोयन्का फुड्सले पनि पहिलो किस्ता बुझाएका छन्। घरानाको एक करोड ८८ लाख र र गोयन्काको १ करोड ४८ लाख रुपैयाँ बक्यौताथियो।











