काठमाडौं। गत असोजमा गाभिने सम्झौता गरेका मेगा बैंक नेपाल र गण्डकी विकास बैंकबीच बल्ल साइत जुरेको छ। निक्कै लामो समयपछि दुवै संस्था गाभिएर आगामी २१ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन्।
लकडाउनकै बीच दुवै संस्थाले गत महिना विशेष साधारणसभाबाट विलय प्रस्ताव पारित गरेका थिए। मेगाले गण्डकीलाई बराबरी अनुपातमा गाभ्ने छ। गाभिएपछि मेगा बैंक नेपालकै नामबाट कारोबार हुने छ।
प्राप्तिपछि मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत वृद्धि हुने छ। प्राप्तिपछि बैंकको सञ्जाल ५८ वटा जिल्लामा फैलने छ।
२७ वटा वाणिज्य बैंकमध्ये मेगा निक्षेपका आधारमा ११औं, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने छ।
गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुने छ। निक्षेप १ खर्ब २५ अर्ब र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी हुने भएको छ।
यसैगरी, ग्राहक संख्या करिब ११ लाख, शाखा संख्या २०६, एक्सटेन्सन काउन्टर ३०, एटीएम १४२ वटा हुने छ।