पहिलो त्रैमासमा १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति, कूल क्षमता २४१.५० मेगावाट

बिजमाण्डू
२०८२ कात्तिक ५ गते ०६:५६ | Oct 22, 2025
पहिलो त्रैमासमा १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति, कूल क्षमता २४१.५० मेगावाट


काठमाडौं । विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता २४१.५० मेगावाट बराबर रहेको छ।

GBIME
Tata

विभागले हालसम्म २६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता १० हजार ८२५ मेगावाट रहेको विभागले जनाएको छ।

 विभागले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लापा खोला (४.७२ मेगावाट), लोअर बरुण (१३२ मेगावाट), म्याग्दी खोला बी (१२.५० मेगावाट), तल्लो लिखु क्यासकेड (६ मेगावाट) लाई निर्माण अनुमति पत्र प्रदान गरेको हो। साथै माथिल्लो मेलम्ची (४.९५ मेगावाट), सुपर सभा खोला (९.५५ मेगावाट), लोअर मेलम्ची खोला (४.९६ मेगावाट), अप्पर सेती एक (१३ मेगावाट), होङ्गु खोला ( २८.९० मेगावाट) र इन्दुवा खोला (२४.९२ मेगावाट)लाई निर्माण अनुमतिपत्र प्रदान गरेको हो। 

विभागले हालसम्म कूल १८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ। यस्तै विभागका कूल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्। ती आयोजनाको कूल क्षमता १० हजार ५३२ मेगावाट बराबर छ।

सौर्य परियोजनातर्फ १२ आयोजनाले निर्माण अनुमतिपत्र लिएका छन्। ती आयोजनाको क्षमता ८४ मेगावाट छ। तीनवटा सौर्य परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्। ती आयोजनाको क्षमता १५ मेगावाट छ। निर्माण अनुमतिपत्र लिए पनि काम अगाडि नबढाएका १५ आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ।

निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका र आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाको पनि आवेदन खारेज गरिएको छ। त्यस्तै, ११८ वटा आयोजनाको सर्वेक्षण अनुमतिपत्र खारेज गरिएको छ। रासस