वीरगंज। वीरगंजका तीन वटा भन्सार नाकाबाट व्यवसायीहरुले धमाधम सवारी साधन छुटाउन थालेका छन्। जेठ १५ गते हुने बजेट भाषण अगावै नेपाली आयातकर्ताहरुले भन्सार विन्दुमा लामो समयदेखि होल्ड भएका सवारी साधनको जाँचपास गराउन थालेका हुन्।
वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले आगामी बजेटमा सवारी साधन आयातमा कर बढ्ने अनुमानका आधारमा धमाधम गाडी छुटाएर व्यवसायीले लैजान थालेको बताए।
‘आगामी आर्थिक वर्षको बजेटमा यदि गाडीको आयातमा राजस्व दर बढाइए ठूलो घाटा नलागोस् भन्ने अभिप्रायले उनीहरुले गाडी छुटाउन थालेको हुन सक्छ,’ उनले भने।
बन्दरगाहबाट पछिल्लो २० दिनको अवधिमा १५० वटा विद्युतीय गाडीको जाँचपास गरी पठाइएको उनले बताए। पूर्ण विद्युतीय एमजी ब्रान्डको डेढ सय वटा कारको जाँचपास गरी आयातकर्ताले काठमाडौं लगेको जनाइएको छ। एमजीको एउटा विद्युतीय कारको मूल्य नेपालमा करिब ५५ लाख पर्छ। यस्तो गाडीमा १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट गरी एउटा गाडीमा करिब साढे १२ लाख राजस्व लाग्छ।
१५० वटा एमजीको कार काठमाडौंको पारामाउण्ट मोटर्सले भित्र्याएको छ। डेढ सय गाडी भित्रिएपछि करिब पौनै १९ करोड राजस्व संकलन भएको उनले बताए। त्यसैगरी, बन्दरगाहमा सोमबारसम्म ७० वटा थप कारहरु होल्ड भएर बसेको जनाइएको छ। जसमा ५५ वटा कोरियन ब्रान्डका छन्। ५० वटा डिजेलबाट चल्ने सवारी साधन र १५ वटा एमजी (डिजेलबाट चल्ने) कारहरु तथा ६ वटा गैरकानुनी किसिमले भित्र्याइएका गाडी छन्।
काठमाडौंको वेस्टार ग्यालेक्सीले बेलायतबाट मगाएको एक टेस्ला, किशोर गियर प्रालिले बेलायतबाट मगाएको २ वटा ज्यागुआर र प्रिन्सा मोटर्सले अमेरिकाबाट मगाएको ३ वटा आउडी कार करिब १० महिनादेखि थन्किएका छन्। आयातकर्ताले आवश्यक कागजात भन्सार कार्यालयमा नबुझाउँदा ती विलासी कारको जाँचपास हुन सकेको छैन।
यसअघि प्रिन्सा मोटर्सले ३ वटा आउडी कार मगाएर बेचिसकेको छ भने किशोर गियरले पनि ६ वटा ज्यागुआर ल्याएर बिक्री गरिसकेको छ। लकडाउनमा गाडीको बिक्री घटेको र बैंकिङ कारोबार गर्न असहज भएको भन्दै गाडी नछुटाउनेहरु राजस्वमा वृद्धि हुने अनुमान अनुसार धमाधम गाडी छुटाउन लागेका हुन्। भन्सार महसुल, अन्तःशुल्क र भ्याट गरी कुल २२० देखि २९० प्रतिशतसम्म कारको क्षमता हेरेर राजस्व लाग्ने गर्छ।
वीरगंज भन्सारका दुई नाकामा साढे ५ सय गाडी होल्ड
वीरगंज भन्सार नाकाको शंकराचार्य र आइसीपी नाकामा गरी कुल ५ सय ४४ वटा सवारी साधन होल्ड भएकोमा केही सातायता भन्सार नाकाबाट विभिन्न प्रकारको गाडी छुटाउने क्रम बढेको छ। वीरगंज भन्सारको शंकराचार्य भन्सारमा २ सय र आइसीपीमा ३४४ वटा गाडी थन्केको वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहले जानकारी दिए।
उनका अनुसार होल्ड भएका गाडीहरुमा कार, जीप भ्यान, माइक्रो, बस, ट्रक, लरी लगायतका गाडी छन्। विशेष गरी सिप्रदीले आयात गरेको टाटाका सवारी साधनहरु, अग्नि समूहले भित्र्याएको महिन्द्रा ब्रान्डका गाडीहरु, सीजी समूहले भित्र्याएका मारुती सुजुकी, टोयाटा र फोर्ड कम्पनीका गाडीहरु होल्ड भएका छन्। अग्नि समूहले पनि केही गाडी भन्सारबाट छुटाएको छ। केही परियोजनाका लागि 'कमिटमेन्ट'गरेका गाडी कम्पनीले जाँचपास गरेर ल्याएको हो।