सूर्यकुण्ड हाइड्रोको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युतले थाल्यो व्यावसायिक उत्पादन



बिजमाण्डू
२०८२ भदौ १४ गते ११:२० | Aug 30, 2025
सूर्यकुण्ड हाइड्रोको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युतले थाल्यो व्यावसायिक उत्पादन

काठमाडौं। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण पुरा गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ। गत असार तेस्रो साता निर्माण पुरा भएको आयोजनाले १५ दिन परीक्षण गरेको थियो।

Tata
GBIME
Nepal Life

परीक्षण सफल भएपछि गत बिहीबारदेखि नियमित उत्पादन थालेको हो। आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी छ।

ऊर्जा मन्त्रालयबाट आवश्यक वातावरणीय प्रारम्भिक अध्ययनका लागि २०८१ असोज ८ गते स्वीकृति पाएको आयोजनाले २०६८ चैत ३ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो। विद्युत विकास विभागले आयोजनालाई २०७२ असोज २२ मा उत्पादन इजाजतपत्र दिएको थियो।

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा रहेको आयोजनाको इन्टेक करिब १५०० मिटर र पावरहाउस १२८२ मिटरको उचाइमा छ। पावरहाउसमा दुईवटा पेल्टन टर्बाइन युनिट छन्, जसबाट कुल ११ मेगावाट उत्पादन हुने आयोजनाको डिजाइन छ।

डाइभर्सन बाँध र सहायक संरचना १०० वर्षको पुनरावृत्तिमा हुने बाढीलाई समेत ध्यानमा राखी डिजाइन गरिएको हो जसको परिमाण २४७ घनमिटर प्रति सेकेन्ड अनुमान गरिएको छ। नुवाकोटको समुन्द्रटार सबस्टेशनमा स्विचयार्डमार्फत जोडिएको आयोजनाबाट उत्पादित बिजुली ६ किलोमिटर लामो ३३ केभी ट्रान्समिसन लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएको छ।

आयोजनाबाट वार्षिक ६१.३१९ गीगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान छ। जसमा वर्षायाममा ५०.८९३ गीगावाट घण्टा र सुक्खायाममा १०.४२५ गीगावाट घण्टा उत्पादन हुने अनुमान छ।

प्राथमिक सेयर निष्कासन (आइपीओ)को प्रक्रिया अगाडि बढिसकेको कम्पनी धितोपत्र बोर्डको पाइपलाइनमा छ।