काठमाडौं। हिमालयन रिइन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलसँग मिलेमतो गरी दीपक भट्टले धोकाधडी गरेको सार्वजनिक भएपछि नियामक नेपाल बीमा प्राधिकरणको सुपरिवेक्षण महाशाखाले छानबिन सुरु गरेको छ।
महाशाखाले हिमालयन रिबाट सम्पूर्ण कागजपत्र झिकाएको छ। केही दिनभित्रै स्थलगत अनुगमनमा जाने तयारी भइरहेको प्राधिकरण उच्च स्रोतले जानकारी दियो।
सरकारी दुई बैंकको लगानी रहेको हिमालयन रिबाट व्यक्तिलाई पोसेको र सम्पति शुद्धीकरण गर्न सहयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरण अध्यक्षलाई बोलाएर छानबिन गर्न भनेको थियो।
आफ्नो लगानी रहेको हिमालयन रिइन्स्योरेन्सबाट सासुआमा अञ्जना नेपाललाई ‘बिजनेस’ दिएर त्यो पैसा पत्नी आयुष्मा नेपाल हुँदै दीपक भट्टले सिद्धार्थ बैंकमा रहेको खातामा ल्याएर चलाएका थिए। यो पैसा निकासा गर्न हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको प्रत्यक्ष भूमिका रहेको प्रारम्भिक छानबिनबाट खुलेको छ।
सरकारी ठेक्कापट्टा, लाइसेन्स, कर्मचारी सरुवा, बढुवा तथा नियुक्तिमार्फत लाभ लिनका लागि २५ व्यावसायिक घरानालाई मिलाएर ‘प्रिपेड’ समूह तयार पारेका विवादास्पद व्यवसायी भट्टले हिमालयन रिइन्स्योरेन्सबाट दुई आर्थिक वर्षमा ५२ करोड रुपैयाँ लगेका थिए।
५२ करोड निकासाका क्रममा उपासनालाई दिइएको तलब सुविधा पनि ‘अस्वाभाविक’ रहेको अनुसन्धानका क्रममा खुलेको छ। उनले हिमालयन रिबाट साढे ४ करोड रुपैयाँसम्म तलब बुझेकी थिइन्।
अख्तियारको निर्देशनपछि प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीलाई गम्भीररुपमा छानबिन अगाडि बढाउन भनेका थिए। त्यही आधारमा सुवेदीले सुपरिवेक्षण महाशाखाबाट छानबिन गर्न कर्मचारी खटाएका हुन्।
प्राधिकरणले छानबिनको प्रगति विवरण अख्तियारलाई नियमितरुपमा जानकारी गराउनु पर्नेछ। पब्लिक लिमिटेड कम्पनीका रुपमा रहेको हिमालयन रिइन्स्योरेन्समा सरकार नियन्त्रित दुई बैंक- नेपाल र राष्ट्रिय वाणिज्य बैंकको १० प्रतिशत सेयर हिस्सा छ।
अख्तियारले ५२ करोड रुपैयाँ नक्कली बिजनेस तयार पारेर जसरी लगिएको छ त्यसबारेमा सम्पति शुद्धीकरणको कोणबाट पनि छानबिन गर्न भनेको छ।
हिमालयन रिइन्स्योरेन्स, त्यही कम्पनी हो जो लाइसेन्स लिँदा, संस्थापकलाई सेयर बाँडफाँट गर्दा र सर्वसाधारणलाई प्रिमियममा सेयर जारी गर्दा विवादित बनेको थियो।
संस्थापककै कम्पनीमा उपासना संचालक
दीपक भट्टले प्रिपेड बिचौलिया समूह तयार पार्न एकठ्ठा पारेकामध्ये प्रमुख घराना हो शंकर समूह। हिमालयन रिमा शंकर समूह अन्तर्गतका कम्पनीहरुको संस्थापक/प्रवर्धक सेयर छ।
हिमालयन रिमा जगदम्बा स्टीलको २.२० प्रतिशत सेयर छ भने जगदम्बा मोटर्स प्रालिको ३.२ प्रतिशत सेयर छ।
यी दुवै कम्पनीका अध्यक्ष हुन्- शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल। साहिल हिमालयन रिइन्स्योरेन्समा सञ्चालक छन्।
यता साहिल अध्यक्ष रहेको र हिमालयन रिइन्स्योरेन्स कम्पनीमा लगानी रहेको जगदम्बा स्टीलमा उपासना पौडेल सञ्चालक रहेको पाइएको छ।
बिजमाण्डूलाई प्राप्त कागजात अनुसार उपासना ४ वर्षका लागि सञ्चालक चयन भएकी हुन्। तर, कम्पनीको ‘वेबसाइट’मा भने उनको नाम राखिएको छैन।

बीमा ऐनकै बर्खिलाप हुने गरी करिब १२ अर्बभन्दा बढी बैंक ऋण लिएको कम्पनीको सञ्चालकमा उपासना बसेकी हुन्।उपासना हिमालयन रिको नायव प्रमुख कार्यकारी अधिकृत हुँदादेखि नै प्रवर्धक कम्पनी जगदम्बा स्टीलको सञ्चालक समितिमा थिइन्।
जगदम्बा स्टीलले ३०० रुपैयाँ प्रिमियममा सेयर जारी गर्ने भनेर धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिइसकेको छ। जबकि कम्पनीको प्रति सेयर आम्दानी ३ रुपैयाँभन्दा कम छ।
ऐनमा के छ?
बीमा ऐनको दफा ५७ मा कार्यकारी प्रमुख नियुक्ति सम्बन्धी व्यवस्था छ। त्यसको उपदफा ५ को ‘च’ मा भनिएको छ- बीमक (बीमा कम्पनी)सँग वित्तीय स्वार्थ भएको व्यक्ति प्रमुख कार्यकारीका लागि अयोग्य हुन्छ।
त्यही उपदफाको ‘ग’ले पनि उपासनालाई प्रमुख कार्यकारी अधिकृत बन्न रोक्छ। बीमा कम्पनीको संचालक कर्मचारी वा परामर्शदाता पनि प्रमुख कार्यकारी अधिकृत हुन पाउँदैन।
वित्तीय स्वार्थलाई ऐनको दफा २ ‘स’ ले व्याख्या गरेको छ। ‘वित्तीय स्वार्थ’ भन्नाले देहायका व्यक्ति, संस्था, फर्म, कम्पनी वा संगठित संस्थाको बीमकमा संलग्नता रहने अवस्था सम्झनु पर्छ।
१. सञ्चालक वा आधारभूत सेयरधनी वा कार्यकारी प्रमुख वा निजको एकाघरको परिवारको सदस्य,
२. सञ्चालक मनोनीत गर्ने अधिकार पाएको एकल वा संयुक्त फर्म, कम्पनी वा संगठित संस्था,
३. उपखण्ड (२) बमोजिमको फर्म, कम्पनी वा संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख वा निजको एकाघरको परिवारको सदस्य, वा
४. उपखण्ड (१) वा (२) बमोजिमको व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले कुनै अर्को एकल वा संयुक्त फर्म, कम्पनी वा संगठित संस्थामा चुक्ता पुँजीको १० प्रतिशत वा सोभन्दा बढी सेयर लिएको रहेनछ भने त्यस्तो सेयर लिएको फर्म, कम्पनी वा संगठित संस्था।
सरकारी स्वामित्वका बैंकको १० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर लगानी रहेको हिमालयन रिकी सीइओले कम्पनीबाट व्यक्तिलाई फाइदा पुर्याउन जालझेल गरेको र वित्तीय स्वार्थ जोडिने कम्पनीमा सञ्चालक रहेको विषयलाई कुनै कोणबाट पनि स्वाभाविक मान्न नसकिने विज्ञहरु बताउँछन्।
यसमा अख्तियारको दुरुपयोग, सरकारी हानि नोक्सानी, वित्तीय स्वार्थ पूर्तिमा लागेको जस्ता अपराध आकर्षित हुने उनीहरु बताउँछन्।
दुई आर्थिक वर्षमा ५२ करोड
पछिल्ला दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा सासुआमा अञ्जनाको कम्पनी र श्रीमतीको खाता हुँदै भट्टले लेयरिङ र प्लेसमेन्टमार्फत हिमालयन रिइन्स्योरेन्सबाट ५२ करोड रुपैयाँ लगेका छन्। र, त्यसको अधिकांश हिस्सा भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा पुगेको छ।
एकल स्वामित्वको इन्फिनिटी होल्डिङमार्फत साढे चार प्रतिशत सेयरधनी रहेका दीपक भट्टकै कारण हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स हात परेको थियो। त्यो लाइसेन्स हात पारेको प्रिमियमबापत उनले नक्कली व्यवसाय खडा गरेर ५२ करोड रुपैयाँ लगेको स्रोतको दाबी छ।
हिमालयन रिइन्स्योरेन्सबाट गैरकानुनी लाभ लिनका लागि भट्टले सबैभन्दा पहिले २०७८ फागुन १६ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा २८५३८३ दर्ता नम्बर भएको एलियन्ट इन्स्योरेन्स ब्रोकर प्रालि नामको कम्पनी खोले। हिमालयन रिइन्स्योरेन्सले पनि त्यही साल जेठ २३ गते स्थापना भएर असार ३१ गते कारोबार सुरु गर्यो।
यो कम्पनीकी सेयरधनी मोरङको विराटनगर महानगरपालिका-१६ रानी स्थायी ठेगाना भएकी दीपक भट्टकी सासु अन्जना नेपाल हुन्। महालक्ष्मी विकास बैंकमा खाता खोल्दा भर्नुपर्ने ‘नो योर कस्टमर’ (केवाइसी) फारममा अन्जनाको पेसामा ‘साधारण गृहिणी’ लेखिएको छ।
अन्जनाकी छोरी आयुष्मा नेपाल भट्ट दीपक भट्टकी पत्नी हुन्। एउटा छोरा अमेरिकामा रहेकाले अन्जना पनि प्रायजसो उतै बस्छिन्। त्यही भएर यो कम्पनी सञ्चालनमा प्रयोग भएका सेयर दर्ता किताब, प्रबन्ध पत्र, नियमावली र वित्तीय विवरणहरुमा अन्जना नेपालका हस्ताक्षर फरक-फरक छन्।
कम्पनी स्थापना भए पनि साधारण गृहिणीका नामबाट झण्डै पाँच करोड रुपैयाँ लगानी गर्ने सम्भावना थिएन। त्यही भएर एलियन्ट इन्स्योरेन्स ब्रोकरमा लगानी पनि अर्कै व्यक्तिबाट आएको छ। २०७८ फागुन १६ गते दर्ता भएको कम्पनीको नेपाल इन्भेष्टमेन्ट बैंकमा चैत ११ गते खाता खुलेको थियो।
यसरी कम्पनी खोलेपछि त्यो आर्थिक वर्ष एलिएन्ट इन्स्योरेन्स ब्रोकरले खातामा आएको पैसालाई फिक्स्ड डिपोजिट गरेर आर्थिक वर्ष २०७८/७९ मा ब्याज आम्दानी मात्रै गरेको छ। र, त्यो नगण्य मात्रै छ।
भट्टले एलियन्टमार्फत हिमालयन रिइन्स्योरेन्सबाट आफ्नो खातामा पैसा ल्याउने खेल भने अर्को आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेका छन्। एलियन्टको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणअनुसार कम्पनीले रिइन्स्योरेन्स ब्रोकरेजबापत २६ करोड २८ लाख ३७ हजार ८०२ रुपैयाँ आम्दानी गरेको देखिन्छ।
हिमालयन रिइन्स्योरेन्सको त्यो आर्थिक वर्षको वित्तीय विवरणको क्यास फ्लोमा ‘ब्रोकरेज’ भुक्तानी भनेर कम्पनीले २५ करोड ४ लाख ८७ हजार रुपैयाँको खर्च लेखेको छ।
एलियन्टको आम्दानीभन्दा हिमालयन रिइन्स्योरेन्सको खर्च कम देखिएपछि बिजमाण्डूले स्रोतमा कर कट्टी सम्बन्धी अख्तियारबाट प्राप्त एउटा विवरणलाई ‘भेरिफाइ’ गरेको थियो।
विवरणअनुसार त्यो आर्थिक वर्षमा हिमालयन रिइन्स्योरेन्स (प्यान नम्बर ६१००१३३५७)ले एलियन्टको नाममा ३ करोड ९३ लाख ५८ हजार ९३५ रुपैयाँ स्रोतमा कर कट्टी गरेर कर कार्यालयमा बुझाएको छ।
स्रोतमा १५ प्रतिशत करकट्टी हुने हुँदा त्यो आर्थिक वर्षमा हिमालयनले एलियन्टलाई खर्चमा देखाएभन्दा बढी कम्तीमा पनि २६ करोड २३ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेको छ। यो आम्दानी एलियन्टले देखाएकोभन्दा जम्मा चार लाख रुपैयाँ मात्रै कम हो।
एलियन्टको आम्दानीमा बैंकको ब्याज आम्दानीबाहेक हिमालयन रिइन्स्योरेन्सले दिएको पैसा मात्रै आय हो। यस्तै अवस्था आर्थिक वर्ष २०८०/८१ मा पनि छ। आर्थिक वर्ष २०८०/८१ मा एलियन्टले २५ करोड ५९ लाख ०२ हजार ६४२ रुपैयाँ रिइन्स्योरेन्स ब्रोकरेज आम्दानी देखाएको छ।
तर, यो वर्ष हिमालयन रिइन्स्योरेन्सले भने ब्रोकरेज खर्च भनेर ३३ करोड ६२ लाख रुपैयाँ खर्च देखाएको छ। स्रोतमा कर कट्टी विवरण हेर्दा हिमालयनले एलियन्टका नाममा तीन करोड ८१ लाख ७५ हजार ६४० रुपैयाँ आग्रिम कर कट्टी गरेको छ। यो एलियन्टले आम्दानी देखाएभन्दा १४ लाख रुपैयाँमात्रै कम हो।
अघिल्लो वर्ष अन्य व्यक्तिले हालिदिएको पैसाले खोलेको एलियन्टमा अर्को आर्थिक वर्षको मध्यबाट हिमालयन रिइन्स्योरेन्सले पैसा दिन थाल्यो। सुरुमा छुटपुट पैसा दिएको हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्षको अन्तिमतिर आएर अधिकांश पैसा दियो।
यसरी आएको २६ करोड रुपैयाँमध्ये सामान्य खर्च कटाएपछि एलियन्टले २०७९/८० मा २४ करोड ७६ लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा २१ करोड ८२ लाख रुपैयाँ मुनाफाका रुपमा देखायो। त्यो मुनाफाबाट एलियन्टले आर्थिक वर्ष २०७९/८० का लागि १८ करोड ५५ लाख ७९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गर्यो।
त्यसबाट एलियन्टले २०८१ जेठ २८ गतेदेखि असार ११ गतेसम्म पाँच किस्तामा सेयरधनीका रुपमा रहेकी अन्जना नेपालको महालक्ष्मी विकास बैंकको खातामा १६ करोड ९२ लाख ४८ हजार ११६ रुपैयाँ भुक्तानी गर्यो।
जेठ २८ गते एलियन्टबाट अन्जनाको खातामा चार करोड ७५ लाख रुपैयाँ पैसा गयो। त्यसको भोलिपल्ट जेठ २९ गते महालक्ष्मी विकास बैंकको अन्जनाको खाताबाट त्यो पैसा आयुष्मा नेपालको सिद्धार्थ बैंकको खातामा पुग्यो। र, जेठ २९ गते नै त्यो ४ करोड ७५ लाख रुपैयाँ आयुष्माको खाताबाट दीपक भट्टको सिद्धार्थ बैंकको खातामा ‘ट्रान्सफर’ भयो।
त्यसैगरी असार २ गते दुई करोड रुपैयाँ एलियन्टबाट अन्जना नेपालको खातामा, त्यो पैसा असार ३ गते अन्जनाको खाताबाट छोरी आयुष्माको खातामा र असार ४ गते दीपक भट्टको खातामा पुग्यो।
असार ५ गते फेरि एलियन्टले अन्जना नेपाललाई चार करोड ५० लाख रुपैयाँ भुक्तानी दियो। त्यो पैसा असार ६ गते आयुष्माको खातामा र त्यही दिन दीपक भट्टको खातामा पुग्यो।
असार ९ गते एलियन्टले चार करोड ९० लाख रुपैयाँ अन्जनाको खातामा पठायो, त्यही दिन अन्जनाको खाताबाट आयुष्माको खाता र आयुष्माको खाताबाट दीपक भट्टको खातामा पैसा ‘ट्रान्सफर’ भयो।
असार ११ गते एलियन्टले फेरि ७७ लाख ४८ हजार ११६ रुपैयाँ अन्जना नेपाललाई दियो। त्यो पैसा असार १२ गते आयुष्माको खातामा पुग्यो भने असार १३ गते दीपक भट्टको खातामा पुग्यो।
त्यसबाहेक एलियन्टको खाताबाट जग्गाका लागि ‘एडभान्स’ भनेर २० करोड रुपैयाँ पनि पैसा ‘ट्रान्सफर’ भएको छ।











