काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो छिचोल्दै दुवैतर्फबाट नयाँ ट्रयाक खोल्ने काम पूरा भएको छ। एस्काभेटर लगायतका उपकरण प्रयोग गरी दुवैतर्फबाट सडक खन्ने काम अघि बढाइएकोमा शनिबार ट्रयाक जोडिएको हो।
नागढुंगा-मुग्लिन सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीका अनुसार दुई दिनमा पाँचवटा मेसिन परिचालन गरी पहिरो पन्छाउँदै ट्रयाक जोडिएको हो। यद्यपि ट्रयाक जोडिए पनि तत्कालै सवारीसाधन सञ्चालन गर्न भने मिल्ने अवस्था छैन।
अब डिजाइनअनुसार माइक्रोपाइल हाल्ने, ग्रेडिङ गर्ने तथा सडकलाई सवारीसाधन सञ्चालनयोग्य बनाउने लगायतका काम बाँकी रहेको अधिकारीले बताइन्। ‘मेसिनले ट्रयाक जोडेर मात्रै हुँदैन। अब पूरै सडक निर्माण गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘समस्या आएन भने सवारीसाधन हिँड्न मिल्ने गरी सडक तयार हुन ५/६ दिन लाग्न सक्छ। माथिबाट फेरि पहिरो आउने वा तलबाट सडक भासिने समस्या देखिएमा अझै समय लाग्न सक्छ।’
कृष्णभीरमा पहिरो पन्छाउने काम सडक विभागले गत बिहीबारदेखि सुरु गरेको थियो। पहिरोको दुवैतर्फबाट १८ जना परिचालन गरी सुरुमा रुख कटान गरिएको थियो। रुख कटानको काम पूरा भएपछि पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण परिचालन गरिएको थियो।
राजमार्ग सञ्चालनलाई प्राथमिकतामा राख्दै सडक विभागले दुवैतर्फबाट एकैसाथ काम अघि बढाएको हो। सडकको अवरोध हटाएर तत्काल यातायात सञ्चालन गर्ने प्रयास भए पनि पहिरोको भौगोलिक अवस्था र सडकको स्थायित्वलाई ध्यान दिनुपर्ने भएकाले ट्रयाक जोडिँदैमा सवारीसाधन सञ्चालन तत्कालै गर्न नसकिने विभागले जनाएको छ।

धादिङको कृष्णभीरमा गत सोमबार पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। त्रिशूली नदीले सडकको केही भाग कटान गरेपछि कृष्णभीर क्षेत्रमा पहिरो गएको थियो। पहिरोका कारण राजमार्गको दुवैतर्फको सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यका आवागमन र आपूर्ति व्यवस्थामा समेत असर परेको छ।
साना सवारीसाधनका लागि वैकल्पिक मार्ग भए पनि ठूला तथा मालवाहक सवारीसाधनका लागि त्रिभुवन राजपथ मुख्य विकल्प बनेको छ। वैकल्पिक मार्गमा पनि सवारीसाधनको चाप बढेपछि यात्रु तथा मालवाहक सवारीसाधनले थप समस्या भोगिरहेका छन्।
पृथ्वी राजमार्ग सञ्चालन तथा कृष्णभीरको तत्कालीन र दीर्घकालीन समाधानका विषयमा गत मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले विभिन्न निर्णय गरेको थियो।
बैठकले तत्काल विपद्को सामना गर्न तथा विपद् प्रभावित क्षेत्र र राजधानीबीचको आपूर्ति शृंखला पुनःस्थापना गर्न कृष्णभीरको हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको काम तत्काल अघि बढाउने निर्णय गरेको थियो।
त्यस्तै, ट्रयाक खोल्ने कामसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ राख्ने तथा ‘बोल्डर हिलसाइड’बाट तल खसाल्ने कामसमेत गर्ने निर्णय भएको थियो।

कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने भएको छ। त्यस्तै, कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णयसमेत बैठकले गरेको छ।
यी विकल्पको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गर्ने निर्णय पनि भएको छ।










