काठमाडौं। हेटौँडाको बसामाडीमा रहेको साहारा ग्यासको परिसरमा ग्यास बोकेका बुलेटको लाइन छ। उद्योगभित्र बिहानको ५ बजेदेखि नै कामदार ग्यास भर्न व्यस्त छन्।
दैनिक एक सिफ्ट काम हुने यो उद्योगमा अहिले तीन सिफ्टमा काम भइरहेको छ। त्यसरी काम हुँदा पनि ग्यास रिफिल गरेर नभ्याइएकोले बुलेट उद्योग बाहिर लाइन लागेको हो। उद्योग वरिपरि मात्रै होइन केही बुलेटलाई अमलेखगञ्ज नजिकै रहेको स्यार्सेकाली पेट्रोल पम्पको पार्किङमा राखिएको छ।
पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीरको सडक भत्किएपछि उद्योगीले चितवन, नवलपरासी, मकवानपुर र पर्सामा रहेका बोटलिङ प्लान्टमा ग्यास भरेर सिलिण्डर काठमाडौं पठाइरहेका छन्। त्यही भएर हेटौँडामा रहेको साहारामा तीन सिफ्ट कामदार परिचालन गरेर एभरेष्ट र सुगम ग्यास काठमाडौं पठाइएको छ। एभरेष्टको दक्षिणकाली चाल्नाखेल र सुगमको नौविसे धादिङमा बोटलिङ प्लान्ट छ।
‘हामीले बन्द रहेका उद्योगका कामदारहरू परिचालन गरेका छौं। उनीहरूलाई विभिन्न होटलमा राखेर काम लगाइरहेका छौं। काठमाडौंमा ग्यास आपूर्ति सहज बनाउनका लागि शनिबार बिहानै यो उद्योगमा आएको थिए,’ एसजी ग्रुपका चेयरम्यान एवं ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले बिजमाण्डूसँग भने, ‘देश विपत्तिमा परेका बेला जनताको चुल्हो निभ्न नदिन हामी दिनरात नभनी लागिरहेका छौं। अहिले नाफाघाटा हेर्ने बेला होइन।’
उनका अनुसार ५० जनाले काम गर्ने उद्योगमा अहिले डेढ सय कामदार छन्।
‘सय जना कामदारलाई खान बस्नको व्यवस्था गर्न सजिलो छैन। अर्कोतर्फ बोटलिङ प्लान्ट सुरक्षाका हिसाबले पनि संवेदनशील हुने भएकाले सजगता अपनाउनै पर्छ,’ उनले भने, ‘यी चुनौतीका बीच ग्यास भरेर काठमाडौं गइरहेको छ। बाटोमा हुने समस्यालाई पनि समाधान गर्न हाम्रा जनशक्ति खटिरहेका छन्।’
उनले आफूले मात्रै नभई सबै बोटलिङ प्लान्टले काठमाडौंमा ग्यास आपूर्तिका लागि खटिएको जानकारी दिए।
‘चितवन, नवलपरासी, मकवानपुरदेखि पर्सासम्मका उद्योग अहिले दिनरात नभनी ग्यास भर्ने काम गरिरहेका छन्,’ उनले भने, ‘त्यही भएर काठमाडौंमा ३५ हजार सिलिण्डर जान थालिसकेको छ। अहिलेको बेलामा भएका उपभोक्ताले लाइन नबस्ने हो भने समस्या समाधान हुन धेरै समय लाग्दैन।’
साहारा ग्यासमा अहिले एभरेष्ट र सुगमको बजार हेर्ने सिनियर म्यानेजमेन्टलाई नै त्यही पठाइएको छ।
चितवनको पर्सामा रहेको साईबाबा ग्यास उद्योग अहिले दुई सिफ्टमा चलिरहेको छ। यो उद्योगमा अहिले श्रीकृष्ण ग्यास रिफिल हुने गरेको छ। श्रीकृष्ण ग्यास धादिङमा छ।
‘हाम्रो धादिङमा रहेको श्रीकृष्ण ग्यास यही भरेर पठाइएको छ,’ साईबाबा ग्यासका संचालक बुद्धि डल्लाकोटीले भने, ‘श्रीकृष्णका कामदार ल्याएर दुई सिफ्टमा काम भइरहेको छ। हामीले काठमाडौंको उपभोक्तालाई ग्यास अभाव हुन नदिन सबै प्रयास गरिरहेका छौं।’
उनका अनुसार श्रीकृष्ण ग्यासका कामदारलाई होटलमा बस्नेदेखि खाने व्यवस्था गरिएको छ।
‘सजिलो काम होइन। तर, संकटका बेलामा कामदारलाई पनि हेर्नुपर्छ भनेका छौं। उनीहरू पनि सहज रुपमा काम गर्न तयार भएका छन्,’ डल्लाकोटीले भने, ‘कहिलेकाँही आउने यस्ता परिस्थितिसँग जुँधेरै काम गर्नुपर्छ। विपत्तिका बेलामा हाम्रो प्रमुख कर्तव्य भनेको उपभोक्तालाई आपूर्ति सहज बनाउनु र सरकारलाई सहयोग गर्नु हो।’
वीरगंजमा रहेको मनोज ग्यासमा पनि साल्ट ट्रेडिङको एसटीसी र काभ्रेमा रहेको उग्रचण्डी रिफिल गरेर काठमाडौं पठाउने गरिएको छ।
‘हामीले मनोज वाहेक एसटीसी र उग्रचण्डी ग्यास भरेर पठाइरहेका छौं। पहिला ८ घण्टा चल्ने प्लान्ट अहिले १६ घण्टा चलिरहेको छ। कामदारलाई ओभरटाइम दिएर दुई सिफ्टमा काम गरेका छौं,’ मनोज ग्यासका संचालक मनोज दासले भने, ‘जसरी ग्यास भरेर काठमाडौं गइरहेको छ, त्यो हिसाबले उपभोक्ताले अनावश्यक प्यानिक नहुने हो भने समस्या बिस्तारै कम हुन्छ।’
उनका अनुसार दैनिक ३० देखि ३५ हजार ग्यास सिलिण्डर काठमाडौं गइरहेको जानकारी आएको छ।
‘उद्योगीहरूजस्तै अभाव भएका बेला उपभोक्ता पनि जिम्मेवार बन्नुपर्छ। घरमा एउटा सिलिण्डर वा केही दिनलाई पुग्ने ग्यास छ भने लाइनमा आउनु भएन भने बिस्तारै अभाव हट्न सहयोग पुग्छ,’ दासले भने, ‘एक सातापछि कृष्णभीर पनि खुल्ने जानकारी आएको छ। त्यो खुल्यो भने समस्या कम भइहाल्छ।’
नेपाल ग्यासले चितवनमा रहेको शाखामार्फत रिफिल गरेर काठमाडौंमा ग्यास पठाइरहेको छ। कम्पनीका प्रबन्ध निर्देशक एवं ग्यास उद्योग संघका पूर्व अध्यक्ष गोकुल भण्डारीले नेपाल ग्यास गण्डकीमा सिलिण्डर भरेर काठमाडौं पठाइएको बताए।
‘प्राकृतिक विपत्ति परेका बेलामा हामीले सरकार वा निजी क्षेत्र एउटै भएर काम गर्नुपर्छ। त्यही भएर हामीले तत्कालै बालाजुबाट कामदार ल्याएर तीन सिफ्टमा काम गरिरहेका छौं,’ उनले भने, ‘हामीले ग्यास पुर्याउन सबै प्रयास गरेका छौं। तर, पनि बाटोका कारणले सकिरहेका छैनौं। अहिले जुन हिसाबले ग्यास काठमाडौं गइरहेको छ, त्यसले निश्चय पनि अभाव कम गर्ने विश्वास हामीले लिएका छौं।’
उद्योगी मात्रै होइन नेपाल आयल निगमले पनि ग्यास आपूर्तिलाई विशेष निगरानी गरिरहेको छ। निगमले तराईमा बोटलिङ प्लान्टमा भइरहेको रिफिल लगायत हेर्न कर्मचारी नै खटाएको समेत छ।
७४ वटा बुलेट काठमाडौंमै होल्ड
कृष्णभीरको सडक भत्किएपछि ७४ वटा ग्यास बुलेट धादिङ, काठमाडौं, काभ्रेका बोटलिङ प्लान्टमा होल्ड भएका छन्।
ग्यास उद्योग संघका पूर्व अध्यक्ष घिमिरेका अनुसार सगरमाथा ग्यासमा १४, नेपाल ग्यासमा १२, एभरेष्ट तथा सुगम ग्यासमा ९ र धादिङमा रहेका अन्य उद्योगमा बुलेट रोकिएर बसेका छन्।
‘कृष्णभीरको सडक भत्किएपछि ७४ वटा बुलेट यहाँ रोकिँदा पनि भारतीय ढुवानीकर्ताले असहज अवस्थालाई हेरेर आपूर्तिमा सहयोग नै गरिरहेका छन्,’ उनले भने, ‘यसका बाबजुद पनि माग अनुसार ग्यास ढुवानी भइरहेको छ।’
घिमिरेले भारतीय आयल कर्पोरेसन (आइओसी)ले पनि नेपालमा ग्यास आपूर्तिमा समन्वयात्मक भूमिका खेलिरहेको जानकारी दिए।











