रोहितको सोच नै थिएन, चौका हानेर सुपर ओभर पुर्‍याएका नन्दनलाई किन पर्‍यो विस्मात?

मुकुन्द घिमिरे
२०८२ असार ९ गते १२:१८ | Jun 23, 2025
रोहितको सोच नै थिएन, चौका हानेर सुपर ओभर पुर्‍याएका नन्दनलाई किन पर्‍यो विस्मात?
विकेट सेलिब्रेट गर्दै रोहितकुमार पौडेल र नन्दन यादव। तस्बिर : क्यान

काठमाडौं। स्कटल्याण्डमा नेपालले त्रिदेशीय एकदिवसीय र टी-२० सिरिज खेलेर नेपाल फर्किएको छ। स्कटल्याण्डमा नेपालले दुबै सिरिजमा एकपछि अर्को सनसनीपूर्ण खेलहरु खेल्यो। अधिकांश खेलहरु अन्तिम ओभरमा पुगेर मात्र टुंगिए। नेपालले लिग-२ को सिरिजमा चारमध्ये तीन र टी-२० सिरिजमा ४ मध्ये दुई खेलमा जित निकाल्यो।

Tata
GBIME

यी दुई सिरिजमध्ये सबैभन्दा बढी चर्चामा रहेको खेल थियो नेपाल र नेदरल्याण्ड्सबीचको खेल। टी-२० अन्तर्राष्ट्रियमा तेस्रो सुपर ओभरसम्म पुग्ने पहिलो खेल बन्दै इतिहास समेत रच्यो।

नेपाली टोलीका कप्तान रोहित पौडेल सुपर ओभरसम्म खेल पुग्ला भनेर कल्पना नगरेको बताउँछन्।

‘सुपर ओभरमा जान्छ भन्ने सोचेको थिएनौँ। सुरुमै विकेट गएको थियो। पछि पार्टनरसिप भयो। नन्दन दाइले फिनिस गर्नु भयो,’ कप्तान पौडेल भन्छन्, ‘त्यो महत्वपूर्ण थियो। सुपर ओभरमा सोच्न धेरै समय हुँदैन सोच्न। तेस्रो सुपर ओभरमा सोचेजस्तो भएन।’

तेस्रो सुपर ओभरको पहिलो बलमा रोहित पौडेल आउट भएका थिए भने दोस्रो र तेस्रो बल डट गएको थियो। चौथो बलमा रुपेश सिंह आउट हुँदा नेदरल्याण्ड्सले १ रनको मात्र लक्ष्य पाएको थियो।

अर्कोतर्फ अन्तिम बलमा चौका प्रहार गरेर खेललाई सुपर ओभरमा पुर्‍याएका नन्दन यादवलाई भने यो खेलले बिस्मात पारेको छ। उनलाई लाग्छ: त्यो बल छक्का जान सक्थ्यो। तर, बलिङकै क्रममा हातमा समस्या आएपछि उनले २.५ ओभरमात्र बलिङ गरेका थिए। भलै पछि ब्याटिङमा आएर खेललाई सुपर ओभरसम्म पुर्‍याए।

‘सायद हामी जित्थ्यौँ होला मैले त्यो बल छक्का हानेको भए। मेरो हातमा पावर थिएन (चोटका कारण)। पावर लगाउन सकिन। त्यो छक्का हुन सक्थ्यो,’ नन्दनले भने, ‘म अनलक्की भन्छु त्यसलाई। सुपर ओभर पनि एकपछि अर्को गइराख्यो। दुर्भाग्य रह्यो, हामी अन्तिममा हार्न पुग्यौँ।’

नन्दन यादव ब्याटिङ गर्दै। तस्बिर: क्यान

खेलमा एकपछि अर्को सुपर ओभर गएपछि आँफै छक्क परेको उनी बताउँछन्।

‘पहिला त हामी प्रेसरमा थियौँ। फेरिफेरि ओभर गइरहँदा हामी छक्क पनि परिरहेका थियौँ कति गएको त सुपर ओभर भनेर।’ उनले भने।

के भएको थियो?

स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न त्रिकोणात्मक सिरिज अन्तर्गतको नेदरल्याण्डविरुद्धको खेलमा नेपाल तेस्रो सुपर ओभरमा पुगेर पराजित भएको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमै ८ विकेट गुमाएर १५२ रननै बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा पनि सहज नतिजा भने प्राप्त हुन सकेन। पहिलो र दोस्रो सुपर ओभरमा पनि बराबरी भएपछि तेस्रो सुपरओभरमा पुगेर बल्ल नेदरल्याण्ड्सले जित निकाल्न सक्यो। टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक तेस्रो सुपर ओभरसम्म खेल पुगेको हो। टी-२० मा भने फ्रेन्चाइज लिगहरुमा तीन सुपरओभरका खेल भइसकेका छन्।

पहिलो सुपर ओभर

सुपर ओभरमा नेपालका लागि ब्याटिङ गर्न आए कुशल भुर्तेल र रोहितकुमार पौडेल। त्यस्तै बलिङमा आए ड्यानियल डोरम।

पहिलो बलमा रोहितले १ रन लिए। दोस्रो बलमा भुर्तेलले चौका प्रहार गरे। त्यस्तै तेस्रो बलमा पनि भुर्तेलले चौका नै प्रहार गरे। चौथो बलमा २ रन लिएका उनले पाँचौ बलमा छक्का प्रहार गर्दा अन्तिम बलमा उनी आउट हुन पुगे। नेपालले सुपर ओभरमा १९ रन बनायो।

ब्याटिङमा कुशल भुर्तेल। तस्बिर: क्यान

त्यस्तै बलिङ लिएर करण केसी आए। ब्याटिङमा नेदरल्याण्ड्सका माइकल लेभिट र म्याक्स ओडाउड आए।

पहिलो बलमै लेभिटले छक्का प्रहार गरे। दोस्रो बल करणले डट लिए। तेस्रो बलमा लेभिटले एक रन लिए। चौथो बलमा ओडाउडले २ रन लिए। उनले पाँचौँ बलमा फुलटसमा छक्का प्रहार गरे। अन्तिम बलमा नेपाललाई बाउन्ड्री रोक्नुपर्ने चुनौती थियो। यसमा ओडाउडले चौका प्रहार गर्दा १९ रन बन्यो। र, पहिलो सुपर ओभरले पनि नतिजा दिन सकेन।    

दोस्रो सुपर ओभर

पहिलो सुपर ओभरमा बराबरी भएपछि दोस्रो सुपरओभरमा ब्याटिङमा आए नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्स र म्याक्स ओडाउड। बलिङ लिएर आए ललितनारायण राजवंशी।

पहिलो बलमा स्कट एडवार्ड्सले छक्का प्रहार गरे। दोस्रो बलमा एडवार्ड्सले १ रन लिँदा क्रिजमा म्याक्स आए। उनले तेस्रो बलमा छक्का प्रहार गरे। चौथो बलमा वाइडसहित ललितले दुई रन दिए। पाँचौँ बलमा एडवार्ड्सले २ रन लिए। अन्तिम बलमा ऐरीले बाउन्ड्री नजिक क्याच गर्दा नेदरल्याण्ड्स १७ रनमा समेटियो।

१८ रनको लक्ष्य पछ्याउन नेपालको ब्याटिङमा आए रोहितकुमार पौडेल र दीपेन्दसिंह ऐरी। बलिङमा आए केल क्लेइन।

पहिलो बलमै रोहितले छक्का प्रहार गरे। दोस्रो बलमा पौडेलले १ रन लिँदा ब्याटिङमा पुगे ऐरी। तेस्रो बलमा ऐरीले चौका प्रहार गरे। चौथो बल डट हुन पुग्यो। पाँचौँ बलमा पनि ऐरीले रन जोड्न नसक्दा फेरि बराबरी बनाउन नेपाललाई छक्का आवश्यक थियो। र, ऐरीले यसमा भने छक्का प्रहार गरे।

तेस्रो सुपर ओभरमा नेपालको रननै बनेन

तेस्रो सुपर ओभरमा नेपाल ब्याटिङमा आयो। पहिलो बलमा रोहितकुमार पौडेल आउट भए। दोस्रो र तेस्रो बल डट खेलेका रुपेश सिंह चौथो बलमा आउट हुन पुगे। योसँगै नेपालले यो सुपरओभरमा खाता नै खोल्न सकेन।

अर्कोतर्फ नेदरल्याण्ड्सका माइकल लेभिटले पहिलो बलमै सन्दीप लामिछानलाई छक्का प्रहार गर्दै नेदरल्याण्ड्सलाई जित दिलाए।

योसँगै रोचक बनेको खेलको तेस्रो सुपरओभरमा पुगेर नेपाल पराजित भएको हो।

क्रिकेट हेर्न पुगेका नेपाली समर्थक। तस्बिर: क्यान

नेपालको इनिङ्स

१५३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालका ओपनर लोकेश बम गोल्डन डकआउट हुँदा दोस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिलकुमार साह १ रन बनाएर आउट भए। अर्का ओपनर कुशल भुर्तेलले भने ३४ रन बनाउँदै नेपालको स्कोर उकास्न योगदान दिए।

नेपालका लागि सर्वाधिक स्कोर बनाएका रोहितकुमार पौडेलले ३५ बलमा ३ चौका र २ छक्काको सहायतामा ४८ रन बनाए। त्यस्तै, आजै डेब्यु गरेका रुपेश सिंहले १९ तथा किरण ठगुन्नाले १५ रन बनाए।

बलिङमा नेदरल्याण्ड्सका ड्यानियल डोरमले किफायती बलिङ गर्दै ३ विकेट लिँदा विक्रमजित सिंहले २ तथा केल क्लेइन, बेन फ्लेचर र जच लायनले समान १ विकेट लिए।

नेदरल्याण्ड्सको इनिङ्स

टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदे १५२ रन बनाएको थियो। डच टोलीका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाउँदा विक्रम जित सिंहले ३० तथा सक्विब जुल्फिकारले अविजित २५ रनको योगदान दिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिँदा नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले समान १ विकेट लिए।

दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी। तस्बिर: क्यान