
काठमाडौं। होटेल सोल्टी वेस्टेन्डको स्वामित्व रहेको इटहरीस्थित होटल गरिमा लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। यसका लागि होटल सञ्चालक कम्पनीले एनआईएमबी एस क्यापिटलसँग सहकार्य सम्झौता गरेको छ।
काठमाडौंमा शुक्रबार भएको सम्झौतामा होटल गरिमाका कम्पनीका प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका डेपुटी सीइओ सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे। सम्झौताअनुसार एनआईएमबी एस क्यापिटलले आईपीओ सम्बन्धित विषयमा कर्पोरेट सल्लाहकारका रुपमा गरिमालाई आइपीओ निष्कासनको तयारी, नियामक निकायहरूसँगको समन्वय तथा संस्थागत व्यवस्थापन परिपालना सम्बन्धी कम्पनीको कार्य सुदृढीकरणमा आवश्यक सहयोग गर्नेछ।
प्रबन्ध निर्देशक पौडेलले सम्झौता गरिमाका लागि पुँजी बजार प्रवेशमा महत्त्वपूर्ण रहेको बताए। उनका अनुसार लगानी विस्तारमार्फत आतिथि सत्कारको क्षेत्रमा होटललाई सहज हुनेछ। ‘यो सहकार्यले कम्पनीलाई नेपालको पुँजी बजारमा सूचीकृत हुने यात्रामा एक महत्त्वपूर्ण योगदान दिनेछ,’ उनले भने।
एनआईएमबी एस क्यापिटलका डेपुटी सीइओ ढुंगानाले होटल गरिमालाई आइपीओ यात्रामा सघाउने प्रतिबद्धता जनाए।