
काठमाडौं। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालमाथि अख्तियारले प्रतिशोध साँधेर मुद्दा चलाएको भन्दै अब पूर्वप्रधानमन्त्रीहरू कोही पनि बाँकी नरहने बताएका छन्।
उनले शुक्रबार अपराह्न संसद् भवनमा संचारकर्मीसँग कुरा गर्दै अख्तियारले आफ्नै निर्णयविपरीत नीतिगत निर्णयमा हात हाल्नु शंकास्पद भएको बताए।
‘अख्तियारले यसअघि ललितानिवासको जग्गाको हकमा मन्त्रिपरिषद्ले गरेको निर्णय नीतिगत भएकाले क्षेत्रधिकार भित्र पर्दैन भनेर पत्र लेखेको थियो। अहिले माधव नेपाललाई भने मन्त्रिपरिषद्बाटै भएको निर्णयलाई देखाएर मुद्दा दायर गरिएको छ। यसले नै प्रतिशोध साँधिएको प्रष्ट पार्छ,’ उनले भने, ‘माधवजीप्रतिको मुद्दाले अब हामी प्रधानमन्त्री भएकाहरू कोही पनि बाँकी रहने भएनौं।’
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध अख्तियारले बिहीबार १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रचण्डले नेपालविरुद्ध मुद्दा दायर भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले यस विषयमा आफूसँग चासो राखेको जानकारी दिए।
‘देउवाजीले हिजो फोन गरेर माधव नेपालविरुद्धको मुद्दा के हो भनेर मलाई सोध्नुभयो। सरकारमा रहेको सबैभन्दा ठूलो दलको सभापतिले प्रतिपक्षी दलको नेतालाई सोधेपछि म आश्चर्यमा परें,’ उनले भने, ‘तपाईंलाई पो थाहा हुनुपर्ने भनें मैले। हामीबीच ठट्टा पनि चल्यो। मुद्दाका विषयमा शेरबहादुरजीलाई थाहा नभएको बुझें मैले।’