
वीरगंज (पर्सा)। वीरगंज महानगर-१५ भिष्वाका वीरेन्द्र महतोले दुई दशक अघिसम्म बजारमा रिक्सा चढ्ने यात्रु खासै पर्खनु पर्दैनथ्यो। चोक-चोकमा भेट्टिने यात्रुलाई गन्तव्यमा पुर्याउन उनलाई भ्याइनभ्याई हुने गर्थ्यो।
त्यसैको कमाइबाट पाँच सन्तानलाई राम्रैसँग पढाइलेखाइ पनि गराउँदै आएका थिए। पाँच वर्षयता भने उनीजस्तै वीरगंजमा भाडाको रिक्सा चलाउनेको अवस्था निकै दयनीय बनेको छ। ४७ वर्षीय महतो हिजोआज वीरगंज आसपास रिक्सामा सवारी गर्ने यात्रु भेट्न मुस्किल पर्ने गरेको गुनासो गर्छन्।
‘२० साल अघिसम्म रिक्सामा सवारी गर्नेलाई पुर्याउन भ्याइनभ्याई हुन्थ्यो। त्यतिबेला पनि आम्दानी पनि राम्रै हुन्थ्यो,’ उनले भने, ‘अचेल त चोक–चोकमा अटोरिक्सा छ, त्यसले हामीजस्ता भाडाका रिक्सा चलाउनेको रोजगारी खोसिएको छ। अचेल त दिनको ७०० कमाउन पनि मुस्किल पर्ने अवस्था आइसकेको छ।’
तीन छोरी र दुई छोराका पिता महतोले रिक्सा चलाएर गुजारा चलाउन हम्मेहम्मे परेको गुनासो गरे। ‘अहिले महँगीले आकाशै छुम्ला जस्तो गरिसक्यो। बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म घोटिदा पनि ७०० कमाउन धौ धौ भइसकेको छ,’ उनले भने, ‘त्यो सात सयमा पनि २०० त रिक्साको साहुलाई भाडा तिर्नुपर्छ।’
यहाँका अधिकांश रिक्साचालकको आफ्नै रिक्सासमेत छैनन्। अधिकांश रिक्सा चालकले दैनिक औसतमा १५० देखि २०० रुपैयाँ भाडा तिरेर अर्काको रिक्सा चलाएका छन्। ‘रिक्साभन्दा अटोरिक्साको भाडा सस्तो र छिटो पुगिने भनेर सर्वसाधारण रिक्सामा चढ्न खासै रुचि देखाउँदैनन्,’ महतोले भने, ‘मेसिनबाट चल्ने अटोरिक्सा र हाम्रो रगत पसिनाबाट चल्ने रिक्साको रेट एउटै त कहाँ राख्न सकिन्छ र !’
वीरगंजको घण्टाघर चोकदेखि बसपार्कसम्म अटोरिक्सामा १० रुपैयाँमै नै यात्रा गर्न सकिन्छ भने रिक्सामा भने कम्तीमा पनि ३० रुपैयाँ पर्ने भएकाले पनि भएकाले पनि सर्वसाधारणको रोजाइमा भने अचेल रिक्सा खासै पर्दैन। उनले अटोरिक्सा किन्न नसकेकै कारणले भाडाको रिक्सा चलाउँदै आइरहेको दुखेसो पोखे।
‘५० हजार पर्ने रिक्सा त आफैं किन्न सकेको छैन भने चार लाख पर्ने अटोरिक्सा किन्ने कुरो त सपना जस्तै हो,’ उनले भने। पुरानो व्यापारिक सहर वीरगंजको बजारमा हिजोआज रिक्साको संख्या घटेको छ। अहिले औसतमा २०० भन्दा केही बढी रिक्साचालक छन्।
घण्टाघर आसपासमा रिक्सा चलाउँदै आएका ४६ वर्षीय वसन्त गिरी पनि आप्नो पेसाले गुजारा चलाउन गाह्रो भएको बताउँछन्। ‘अचेल रिक्सा सवारी गरेर पेट पाल्न पनि गाह्रो भइसकेको छ,’ उनले भने, ‘रिक्सा चलाउने बाहेक अन्य कुनै सीप छैन। तर, यस्तै अवस्था रहिरहने हो भने त एक दिन नचाहेर पनि विस्थापित हुनुपर्ला कि।’
वीरगंजमा नेपाली मात्रै नभएर भारतीय नागरिकले पनि रिक्सा चलाउँदै आएका छन्। भारतको विहार बेतियाका ६० वर्षीय सुरेश रामको अनभुवमा पनि पछिल्लो समय रिक्साका चढ्ने यात्रु निकै नै घटेका छन्। ‘मेरो त जिन्दगी नै रिक्सा चलाएर बित्योभन्दा पनि हुन्छ,’ उनले भने, ‘वीरगंजमै रिक्सा चलाएको पनि ४५ वर्ष बितिसक्यो। अचेल रिक्सा चढ्ने यात्रु भने घटेको घट्यै छन्। यस्तै अवस्था रहिरह्यो भने त घर फर्किनुपर्ला भन्ने लागिरहेको छ।’
ब्याट्रीबाट चल्ने अटोरिक्साले काम खोसेको उनले बताए। रिक्साचालक रामका अनुभवमा अटोरिक्सा नपाएको बेला र अत्यावश्यक परेको खण्डमा मात्रै यात्रु रिक्सा चढ्ने गर्छन। ‘छोटो रुट, अटोरिक्सा नगुड्ने ठाउँमा मात्रै यात्रुको रोजाइमा रिक्सा पर्ने गर्छ,’ उनले भने, ‘पहिले त रिक्सा चढ्न हानाथाप हुने गर्थ्यो। अचेल त पुराना बुढापाका मात्रै चढ्ने गर्छन्।’
वीरगंजको पुरानो सवारी हो रिक्सा र टाँगा। दुवै हराउँदै छन्। हिजोआज टाँगा र रिक्सा सडकमा न्यून सङ्ख्यामा देखिन्छन्। पछिल्लो समय युवा पुस्ता भने इलेक्ट्रिक तथा पेट्रोलियम पदार्थबाट चल्ने अटोरिक्सा चलाउनेतर्फ आकर्षित छन्। वैदेशिक रोजगारीबाट फर्किएका युवा अटोरिक्सा (टेप्पो)तर्फ आकर्षित छन्।
वीरगंज-१५ नगवाका मोहम्मद सबिर वैदेशिक रोजगारीको लागि तीन वर्ष यूनाइटेड अरब इमिरेट्स गएका थिए। फर्किएपछि एक वर्षदेखि भाडाको अटोरिक्सा चलाउँदै छन्। ‘आफ्नो घरआँगनमा अटोरिक्सा गुडाउँदा रमाइलो नै लाग्ने रैछ,’ उनले भने, ‘दुबईमा भन्दा यहाँ ८-१० हजार आम्दानी कम होला तर, परिवारको साथै बसेर काम गर्दा छुट्टै आनन्द छ।’
सबिरले दैनिक ७०० रुपैयाँ भाडामा अटो रिक्सा चलाउँदै आएको सुनाए। ‘पहिला–पहिला रिक्सा चढ्ने खुबै भेट्टिन्थे,’ उनले भने, ‘अचेल छिटो र सस्तो हुने भएकाले सबैको रोजाइमा अटोरिक्सा पर्ने गर्छ।’ अटोरिक्सा चलाएर दैनिक औसतमा दुई हजारसम्म आम्दानी गर्न सकिने उनले बताए।
‘अहिले अटोरिक्सा चलाएर गुजारा राम्रै भएको छ,’ उनले भने। वीरगंजमा १० वर्षदेखि इलेक्ट्रिक रिक्सा चलाउँदै आएकी नीशाचन्द्र ठकुरी ईरिक्साको पनि आम्दानी पनि घटेको अनुभव सुनाउँछिन्। ‘यहाँ अहिले पाइला–पाइला अटोरिक्सा र इ-रिक्सा पाइने भएकाले पनि कमाइ घट्दै गएको छ,’ उनले भनिन्, ‘अहिले त दिनको १५ सय आम्दानी गर्न पनि मुस्किल भइरहेको छ। टेप्पो र अटोरिक्सा ड्राइभरको हानाथापको कारणले पनि कुनै बेला त रित्तै पनि गुडाउनुपर्ने बाध्यता आइसकेको छ।’
नीशाचन्द्र वीरगञ्जमा पहिलो महिला इरिक्सा चालकको रूपमा परिचित छिन्। उनले चलाउन थाल्दा वीरगंजमा १० वटा मात्रै इरिक्सा गुड्ने गरेको दाबी गर्छिन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट वीरगंज बजार क्षेत्रमा अत्यधिक संख्यामा अटोरिक्सा चल्ने भएकाले पनि ट्राफिक जाम हुने गरेको बताउँछन्। ‘वीरगंज बजार क्षेत्रमा यात्रु ओसार्ने सवारीसाधन भनेकै अटोरिक्सा हो। स-साना सवारीको कारणले पनि पिकआवरमा ट्राफिक व्यवस्थापनमा पनि समस्या थपिँदै आएको छ,’ उनले भने।
वीरगंज बजार क्षेत्रमा छोटो दुरीका यात्रु ओसार्न अटोरिक्सा, रिक्सा, टाँगा र दुईपाङ्ग्रे सवारीसाधन उल्लेख्य समक्यामा चल्छन्। यहाँका सडकमा अटोरिक्सा र ससाना सवारीसाधन धेरै हुने गरेका छन्। महानगर आसपासमा चल्ने अटोरिक्साको एकिन तथ्यांक नभए पनि सरोकारवाला निकाय करिब चार हजारको हाराहारीमा गुड्ने अनुमान गर्छन्।
वीरगंज महानगर सडक तथा यातायात शाखा प्रमुख विजय गुप्ताले महानगरमा ७५० को हाराहारीमा अटोरिक्सा दर्ता भएको बताए। ‘पर्साका १४ वटै पालिकाबाट वीरगंजमा अटोरिक्सा चल्ने भएकाले पनि सङ्ख्या एकिन गर्न र व्यवस्थापनमा पनि चुनौती छ,’ उनले भने, ‘जनशक्तिको अभावको कारणले पनि अटोरिक्सा तथा टेप्पोलाई व्यवस्थित गर्न समस्या भइरहेको छ।’ रासस